दमक।
झापामा मकै उत्पादन बृद्धिका लागि बिशेष क्षेत्र समेटेर ‘मकै जोन’ कार्यक्रम यसै आर्थिक बर्षको शुरुवातदेखि लागू भएको छ ।
जिल्लामा नयाँ कृषि कार्यक्रमको रुपमा मकै जोन थप भएको हो । यसले किसानहरुलाई मकै उत्पादन भएपछि भण्डारण र प्रशोधनका लागि सहयोग हुने बताइएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, सुपरजोन परियोजना इकाइ झापाका सूचना अधिकारी रविन निरौलाका अनुसार मकै जोन कार्यक्रमको प्रारम्भिक तयारी अनुसार क्षेत्र छनौटको काम सकिएको छ । यसका लागि कम्तिमा पनि पाँच सय हेक्टर जमिनको कलष्टर छनौट गर्नुपर्ने हुन्छ ।
उनका अनुसार झापा गाँउपालिकाको वडा नं. ६ र कन्काइ नगरपालिकाको वडा नं. ५ लाई मकै जोनको रुपमा विकास गर्ने प्रस्ताव आएको छ । प्रक्रिया र कलष्टर छुट्याएर निवेदन आएको र यही मकै जोन कार्यक्रम लागू हुने उनले बताए । यसका लागि एक करोडभन्दा बढी बजेट पनि आएको उनले जानकारी दिए ।
मकै खेतीको विस्तार र प्रवद्र्धनमा सहयोगका लागि प्राविधिक तथा प्रविधिको सहयोग पुर्याइने बताइन्छ । सुपरजोन कार्यान्वयन इकाइ झापाका प्रमुख रवीन्द्र सुबेदीका अनुसार मकै बढी उत्पादन हुने क्षेत्र छनौट गरेर त्यहाँ आफूहरुले सहयोग पुर्याउने नीति अनुसार स्थान छनौट भएको छ ।
सुवेदीका अनुसार मकै उत्पादन गर्ने किसान तथा कृषक समूहहरुको सूचीकृत गर्ने काम भइरहेको छ । सूचीकृत भइसकेपछि यस क्षेत्रको अनुगमन गरेर आवश्यकताका आधारमा सहयोग गरिने उनको भनाइ छ । मकै रोप्नका लागि आवश्यक पर्ने उपकरणहरुका लागि स्थानीय किसान तथा कृषक समूहको साझेदारीमा कष्टम हायरिङ सेन्टरको स्थापना, मकै भण्डार केन्द्र बनाउने, माटो परीक्षण, सिँचाइ लगायतका क्षेत्रमा आफूहरुले सहयोग गर्ने समेत सुवेदीको भनाइ रहेको छ ।
यस क्षेत्रमा मकै उत्पादन भए पनि भण्डारणको समस्या रहेको बजारको अभावले गर्दा किसानहरु निराश बन्दै गएकोमा उत्पादनको भण्डारण र बजारीकरणका लागि कार्यक्रम प्रभावकारी हुने सुवेदीले बताए ।































