तीर्थराज खरेल,
हाम्रो मुलुक सहस्रौं फूलहरुसहितको एक बगैंचा जस्तै हो । बहुसांस्कृतिक, बहुधार्मिक, बहुभाषिक, बहुजातीय विशेषतासहित विश्वसामु चिरपरिचित छ नेपाल । इन्द्रधनुषी विविधतापूर्ण विशिष्टताले सम्पन्न हाम्रो मुलुक अनेकताबीच एकताको अद्वितीय दृष्टान्तलाई आत्मसात गर्छ । विविधताका बीच एकताको मूलमन्त्रलाई हृदयंगम् गर्दै हामी नेपाली विश्वकासामु आजसम्म सगर्व बाँचिरहेका छौं ।
वर्षैभरि नेपालीका घरआँगनमा चाडपर्वहरु आइरहन्छन् । अनगिन्ती चाडपर्वहरुको आगमन र बहिर्गमनको क्रममा विविधताका पाटाहरुलाई संयोजन गर्दै २०७६ सालको छठ पर्व आएको छ । बडादशैं, तिहार (दीपावली), म्हःपूजा, नेपाल सम्वत् सम्पन्न भएको झिनो समयान्तरमा छठको रमाइलो फेरि हाम्रा मनलाई तरंगित तुल्याउन र परम्परित मान्यताको निरन्तरता र विस्तारको उद्देश्यसहित उपस्थित भएको छ । अहिले अधबैंशे, बुढापाका, तरुनी, तन्नेरी, केटाकेटी सबैलाई छठको खुशीयालीले लपेटेको छ ।
उत्साह, उमँग र हर्षका साथ मनाइने यो पर्व राष्ट्रिय एकताको पर्व भएको छ । छठ पर्व नेपाल र भारतका हिन्दूहरूले मनाउने एक महत्वपूर्ण पर्व हो । यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । नेपालको विशेष रुपले तराई–मधेश क्षेत्रमा श्रद्धा एवम् भक्तिपूर्वक यो पर्व मनाइन्छ । यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि खुवाउने चलन छ ।
परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने आम विश्वास छ । सृष्टिको शुरूवातदेखि नै सूर्यको उपासना गरिँदै आएको पाइन्छ । अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसंग उल्लेख छ । चौध वर्षको वनबास र एक वर्षको गुप्तवास बसेको बेला द्रौपदीसहित पाँच पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ । त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ ।
छठ पर्व विशेष गरेर तराई क्षेत्रमा मनाइन्छ । छठ व्रत गर्नेहरुले चौथीको दिन अरवा अरवाइन गरी चोखोनितो हुने गर्दछन् । छठ पर्वको शुरुवातसँगै तराईमा पोखरी, नदी, तलाउहरुलाई सरसफाई गरिन्छ र बेहुली झैं सिंगारिन्छ । छठको दोस्रो दिन अर्थात् पञ्चमीको दिनभरि उपवास बसी नहाखाय गर्ने गरिन्छ भने साँझ ब्रतालुहरुले चोखो परिकार पकाएर खाने गर्छन् । खिर बनाई आफू तथा आफ्नो परिवारजनलाई दिने गरिन्छ । यसरी पञ्चमी तिथिमा दिनभरिको निराहार बसाइपश्चात बेलुका फलाहार गरिने कार्यलाई खरना भनिन्छ । मुख्य दिन षष्ठीको दिन हो । व्रत बस्नेहरु निराहार रही साँझ पवित्र कपडा लगाई पोखरी, नदी, तलाउनिर अस्ताउँदो सूर्यलाई ठकुवा, भुसुवा, केरा फलफूल, पान, सुपारी उखु आदिले अघ्र्य दिई पूजा गरिन्छ । यसलाई साँझको अर्घ भन्ने गरिन्छ । भोलिपल्ट पनि पहिलेको नै जस्तो कर्म गरी उदाउँदो सूर्यलाई अर्घ दिने गरिन्छ । त्यसलाई पारण भन्ने गरिन्छ । शरद ऋतुको जाडो र गर्मीको मिश्रित समयमा कार्तिक शुक्ल षष्ठीको बेलुका अस्ताउँदो र त्यसको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिई यो पर्व मनाइने गरिन्छ ।
नेपाली चाडपर्वहरु अब जाति विशेष र धर्मसम्प्रदाय विशेषमा मात्र सीमित रहने गरेका छैनन् । सहभाव, सहिष्णुता र सहअस्तित्वको अनुपम उदाहरण संसारमा कहिँ देख्न पाइन्छ भने त्यो नेपालमा देख्न पाइन्छ । हरेक नेपालीले नेपालमा मनाइने सबै चाडपर्वहरुलाई आफ्नै सम्झने गरेका छन् । हामी छठको माहौलमा छौं । हिमाल, पहाड र तराई–मधेश सबै क्षेत्रमा बसोबासो गर्ने नेपालीबीचको एकतालाई बलियो बनाउने चाडको रुपमा यसलाई यो पर्व विकास भइरहेछ । यो पर्व सांस्कृतिक घुलनशीलताको अनुपम उदाहरणको रुपमा देखा परेको छ नेपालमा । साझा नेपाली पहिचानको, राष्ट्रिय पहिचानको सुन्दर झण्डा बोकेर उभिएको छ हाम्रोसामु यो छठ पर्व ।
यो पर्व हिमालवासी, पहाडबासी र तराईबासी सबैको आफ्नै पर्वको रुपमा स्थापित हुँदै गएको छ । संकीर्णता, कठोरता, क्षेत्रीयता र जातीयताले टुक्रा–टुक्रा हाम्रा मनहरुलाई जोड्ने अपूर्व एकताको चाडको रुपमा यो पर्व विकास हुँदैछ । जातीय, दलीय र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि नेपाल छ, हाम्रो मातृभूमि छ, हामी नेपालीको सदियौंदेखिको अपार सहिष्णुता र गौरव छ । सहमति र सहकार्यबाट मात्र मुलुक उँभो लाग्ने हो । यो पर्व तराई–मधेसको मात्र होइन । द्वेष र अहंकारले मुलुक जलिरहेको अवस्थामा, जडताले नेपाली–नेपालीबीचमा रिसराग र वैरभावलाई बढाइरहेको अवस्थामा हामी नेपाली माझ रिसरागको अन्त हुनुपर्छ र शान्त र समृद्ध नेपालको निर्माणमा हामी सबै नेपाली एकताबद्ध हुनुपर्छ भन्ने छठ पर्वको मूल सन्देश हो ।
जातीय एकता, क्षेत्रीय तथा साम्प्रदायिक सद्भाव, धार्मिक स्वतन्त्रता र विशिष्ट राष्ट्रप्रेम नेपालीहरुको मूल विशेषताको रुपमा पुष्पित र पल्लवित हुँदै जाँदो छ । यस वर्षको छठपर्वले नेपालीहरुको विश्वका लागि अनुशरणीय जातीय सहअस्तित्वको स्वीकारोक्तिको महत्तालाई अझ बढी सिद्ध गरेको छ र जुगजुगसम्म रहने नेपाली जातिको अस्तित्वको निरन्तरतालाई सुदूर भविष्यसम्मको मार्गनिर्दिष्ट गरेको छ । महर्षिहरुले हिन्दूहरुका पवित्र ग्रन्थहरु रचना गरिएको यो वेदभूमि र पुण्यभूमिमा धार्मिक परम्पराबाट निसृत र सनातनी परम्पराबाट अनुप्राणित सांस्कृतिक विशिष्टतासहितको छठपर्व अब साझा र राष्ट्रिय महत्वको ओजिलो मूल्यसहित विकसित हुँदै गएको सबैका लागि सन्तोषको विषय हो ।