भद्रपुर।
आगलागीबाट हुने कैदीबन्दीको मानवीय दुर्घटनालाई लक्षित गरी झापा कारागार भद्रपुरमा पाँच वटा आगो नियन्त्रण गर्न रिजर्भ ट्याङ्की (फायर मेसिन) जडान गरिएको छ ।
झापा कारागारलाई यूएनएचसिआरले २५ केजीका तीन वटा र १० केजीको दुई वटा गरी जम्मा पाँच वटा फायर मेसिन उपलब्ध गराएको हो । यूएनएचसीआरका प्रतिनिधि हेमकृष्ण श्रेष्ठले कारागारमा पुगेर कारागारका जेलर राजेन्द्र निरौला र चौकीदार मोहन धिताललाई सो मेसिन शुक्रवार हस्तान्तरण गरेका हुन् । सो पाँच वटा मेसिनको मूल्य एक लाख ५० हजार रहेको जनाइएको छ ।
कारागारमा रिजर्भ ट्याङ्कीसहितको फायर मेसिन प्राप्त भए लगत्तै महिला कारागारमा २५ केजीको एउटा, पुरुष कारागारभित्र २५ केजीका दुई वटा, १० केजीको एउटा र कारागारको कार्यालयमा १० केजीको एउटा मेसिन जडान गरिसकेको जेलर निरौलाले जानकारी दिए । उनका अनुसार केही दिनअघि यूएनएचसिआर नेपालका प्रतिनिधि टोली कारागारको स्थलगत अनुगमनका लागि आएको थियो ।
कारागारमा क्षमता भन्दा चौगुना कैदीबन्दी रहेका छन्– जेलर निरौलाले भने– आगो निभाउने यन्त्र नहुँदा कारागारभित्र विद्युतीय लाइन सर्ट भएर, खाना पकाउने क्रममा आगलागी भई ठूलो दुर्घटना हुन सक्थ्यो, अब फायर मेसिनले केही भए पनि राहत दिन्छ ।































