झापा ।
झापाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधामा १०८ कुण्डीय कोटीहवनको उद्घाटन गरिएको छ ।
हवनको उद्घाटन प्रदेश नम्वर १का मुख्य मन्त्री शेरधन राईले गरेका हुन् । हवनको उद्घाटन गर्दै मुख्यमन्त्री राईले मानव जातिको सुस्वास्थ्य, शान्ति र दीर्घायुका लागि सताक्षीधाममा लगाउन शुरु गरिएको यस महान कार्यबाट सवैले लाभ लिन आग्रह गरे ।
जिल्ला समन्वय समिति झापाका संयोजक तथा मूल आयोजक समितिका संयोजक सोम पोर्तेल, शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्मा, गोवद्र्धन गौशालाका संरक्षक आचार्य नन्दकिशोर भारद्वाज लगायतले बोलेका थिए ।
निम्बार्क भुषण श्रद्धेय सन्त स्वामी श्री भागवत् शरण देवाचार्यजी महाराज र अनन्त श्रीविभूषित श्री हिरप्रसाद शास्त्रीजी महाराजको मुखारविन्दबाट श्रीमद् भागवत कथा प्रवचन हुने आयोजकले जनाएको छ । विहीबारबाट १०८ कुण्डीय हवन शुरु हुने समेत आयोजकले जनाएको छ ।
कार्यक्रममा संघीय सांसद एलपी साँवा लिम्बू, प्रदेश सांसद झलसिंह दर्लामी, शिवसताक्षी नगरपालिकाकी उपमेयर भोजकुमारी नेपाल, ऐलानी जग्गा दर्ताका झापा अध्यक्ष राधाकृष्ण खनाललगायत विभिन्न व्यक्तिहरुको आतिथ्य रहेको थियो ।































