थोत्रा प्लास्टिक बटुलेर समाज सेवा

0
875

झापा ।

आफू बसोबास गर्ने शहरभरि प्लास्टिकको फोहर बढेपछि चिन्तित बनेका झापाको अर्जुनधारा नगरपालिका वडा नं ११ निवासी पूर्व माओवादी लडाकू गणेश ढुङ्गाना सरसफाइमा एक्लै कस्सिएका छन् । असल कार्यको शुरुवात एक व्यक्तिबाटै हुन्छ भने झैं उनको दुई साताको प्रयासबाटै झापाको बुट्टाबारी बजार प्लास्टिकको फोहरमुक्त भएको छ ।

विर्तामोडको वडा नं –६ र अर्जुनधाराको वडा नं ११ को आधा–आधा भाग समेटिएको दश हजारभन्दा बढी जनघनत्व भएको बुट्टाबारी बजारले आधुनिक शहरको स्वरुप लिएको छ । ढुङ्गाना यही बुट्टाबारीलाई सफा बनाउने अठोट लिएर एक्लै सरसफाइमा होमिएका छन् ।

हरेक बिहान छ बजे दुईवटा ठूलो बोरा काँधमा बोकेर ढुङ्गाना घरबाट निस्कन्छन् र बुट्टाबारी बजारको तीन किलोमिटर वृत्त दुई घण्टा चहारेर प्लास्टिकका फोहर सङ्कलन गर्छन् । उनले विगत दुई सातायता एकसय बोरा प्लास्टिकका विभिन्न प्रकारका बोतल र बट्टाहरू बटुलेर आफ्नै घरको आँगनमा थुपारेका छन् ।

एक्लै हरेक दिन प्लास्टिक खोज्दै आफ्नो घर र दोकान सामुन्ने फोहर ढलमा हात घुसारेर प्लास्टिक बटुलेको देख्दा शुरुशुरुमा स्थानीय बासिन्दाले उनलाई पागल भएको समेत ठाने । बजारमा तीन तला पक्की घर र चल्तीको पसल भएको खानलाउन मनग्ये पुग्ने व्यक्ति यसरी फोहर नालीहरूमा प्लास्टिक बटुल्दै हिँडेको देख्दा ढुङ्गानाका नातागोता र साथीसङ्गी समेत परिवारको बेइज्जत गरेको भन्दै झस्किए । उनलाई राँची लैजानु पर्ने सल्लाह समेत आउन थाल्यो तर, उनी हतोत्साही भएनन् । जतिसुकै अप्ठेरो अवस्थामा पनि अभियानमा दृढतापूर्वक लागिरहे । आफ्नो उद्देश्य र अभियानबारेमा विस्तारै सबैलाई बुझाएपछि अहिले सबै शहरवासी उनको प्रशंसक मात्र बनेका छैनन्, अभियानमा साथ दिन तयार भइसकेका छन् ।

परिवर्तन आफैंबाट शुरु गर्नुपर्छ भन्ने सोच बोकेर एक्लै शहर सफा बनाउन कस्सिएका ढुङ्गानामा सानैदेखि क्रान्तिकारी भावना थियो । विसं २०५९ साउन १९ गतेदेखि तत्कालीन नेकपा माओवादीको पूर्णकालीन कार्यकर्ता थिए उनी । झापाको चुलाचुलीमा रहेको तत्कालीन जनमुक्ति सेना नेपालको प्रथम डिभिजनको एक कम्पनीमा लडाकू थिए । त्यहाँ उनको नाम मौसम थियो । शान्ति प्रक्रिया अनुसार सेना समायोजनका क्रममा आफूले पाउने सुविधा सबै शहीद परिवारको कोषमा जम्मा गरेर उनी रित्तो हात घर फर्किएका थिए ।

पूर्वपश्चिम राजमार्गको छेउमै उनको घर छ । बसमा यात्रा गर्नेहरूले बान्ता गरेको थैलो र पानी पिएको बोतल झ्यालबाट फुत्त–फुत्त फालेको दृश्य हरेक दिन घर अगाडि देखेपछि उनमा बेचैनीको झड्का लागेको रहेछ । “त्यसपछि मैले आफ्नै घर अगाडिको नाली हेरें, त्यहाँ प्लास्टिकका बोतलले जाम भएको पाएँ”– सरसफाइ अभियानकर्मी ढुङ्गाना भन्छन् ।– बजार डुलेर हेरें । व्यापारी र घरधनीहरू प्रयोग भइसकेको प्लास्टिकको बोतल र बट्टालाई सडक र नालीतिर जथाभावी फ्याँकिदिँदा रहेछन् ।” शहरको यस्तो कुरुप दृश्य देखिसकेपछि उनमा “अब केही गर्नै पर्ने भयो भनेर एक्लै भए पनि सरसफाइमा लाग्ने जोश पैदा भएको थियो ।”

माटोमुनि गाड्दा सयौं वर्षसम्म नकुहिने, डढाउँदा विषाक्त ग्यास निस्कने र चुपचाप बस्दा शहरलाई नै फोहरले ढाक्ने भए पछि असल नागरिकको जिम्मेवारी बोध गरेर आफू अभियानमा होमिएको बताउने ढुङ्गानाले भने– “मेरो दुईवटा प्रष्ट उद्देश्य छन् – एउटा सरसफाइका लागि जुट्न नगरवासीलाई ब्युँझाउने र अर्को भनेको प्लास्टिकलाई रिसाइकल गरेर उपयोगी सामग्री बनाउने उद्योग खोल्न प्रेरित गर्ने ।” उनले अहिले सङ्कलन भइसकेको एकसय बोरा प्लास्टिकका बोतल र बट्टा बिक्री गरेर अनाथ बालबालिकाहरूलाई सहयोग स्वरुप प्रदान गर्ने बताए ।

विर्तामोड–६ का वडाध्यक्ष सूर्य कन्दङ्वाले एक व्यक्तिको सोचले सिङ्गो समाजमा परिवर्तन ल्याउन सकिँदोरहेछ भन्ने एउटा बलियो उदाहरण प्रस्तुत गर्न अभियानकर्मी गणेश ढुङ्गाना सफल भए । सफा नगर बनाउने ढुङ्गानाको अभियानमा साथ दिन आफू पनि तयार रहेको बताउँदै वडाध्यक्ष कन्दङ्वाले भने– “सधैं एक व्यक्तिले सफा गरिरहने र हजारौं नगरवासी फोहर गरिरहने कुरा राम्रो भएन । अब सबैले सफा अभियानमा जुट्नुपर्छ भन्ने जागरण ल्याउन ढुङ्गानाजी सफल हुनुभयो ।”

विर्तामोड र अर्जुनधारा नगरपालिकाको हिस्साको रुपमा रहेको बुट्टाबारीमा ढुङ्गानाले पागलको आरोप खेपेर ल्याएको सरसफाइ जागरणको सकारात्मक प्रभाव वरपरका शहरमा समेत फैलिन थालेको जुनकिरी सार्वजनिक आधारभूत विद्यालयका प्रधानाध्यापक रञ्जित परियार बताउँछन् । “दुर्गन्धित ढलको नाली र बाटोमा प्लास्टिकका फोहर टिप्दै हिँड्नु सामान्य कुरा होइन,” प्रअ परियारले भने– “उहाँको जस्तो सामाजिक सोच थोरैमा मात्र हुन्छ । धेरैजसो मानिस आफ्नो घरभित्रको फोहर सफा गर्न समेत नगरपालिका आइदिनु पर्छ भन्ने सोच्छन् । उहाँ पूरै शहरभरिको फोहर आफैं सफा गर्दै हिँड्नु हुन्छ ।”

अर्जुनधारा नगरपालिका वडा नं ११ का वडासदस्य मोहनकुमार योगीले नगरपालिकाले ल्याउन नसकेको जागरण अभियानकर्मी गणेश ढुङ्गानाले बोरामा प्लास्टिक बटुलेर ल्याउनु भएको बताउँछन् । “फोहरको मुख्य कारण नै प्लास्टिक बनिसक्यो, अभियानकर्मी ढुङ्गानाको कामबाट मैले पनि प्रेरणा प्राप्त गरेको छु,” उनले भने – “अब नगरको सबै भागमा सरसफाइ अभियान चलाउने बारेमा नगरपालिकामा छलफल चलाइरहेका छौं ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here