हाजिरीजवाफमा धुलावारी प्रथम

१७ मंसिर २०७६, मंगलवार मा प्रकाशित

विर्तामोड ।

नेपाल विद्यार्थी संघ झापाले आयोजना गरेको स्थानीय तहस्तरीय हाजिरीजवाफ प्रतियोगितामा धुलाबारी मावि मेचीनगर प्रथम भएको छ ।

कनकाई एजुकेशन फाउण्डेशन विर्तामोडमा आयोजित प्रतियोगितामा ११ प्रतिष्पर्धीलाई उछिन्दै धुलाबारी माविले प्रथम स्थान ल्याई १९ हजार रुपैयाँ नगद, ट्रफी र मेडल हात पारेको हो । विजयी विद्यार्थीहरुको समूहलाई नेपाली कांग्रेस झापाका सभापति तथा कार्यक्रमका प्रमुख अतिथि उद्वव थापाले ट्रफी, नगद पुरस्कार र मेडल प्रदान गरेका थिए ।
देशको भविष्य विद्यार्थीको हातमा निर्भर रहने बताउँदै उनले अनुशासन, इमान्दारिता र अध्ययनमा अब्बल बन्न विद्यार्थीलाई आह्वान गरे ।

प्रतियोगितामा निहारिका मावि कमल, जनता मावि गौरादह र हिमाली मावि दमकको बराबरी स्कोर भएपछि पुनः तीन समूहबीच प्रतिष्पर्धा गराइएको थियो । तीन समूहबीचको प्रतिष्पर्धामा निहारिका मावि कमलले द्वितीय स्थान हात पार्दै १४ हजार रुपैयाँ, ट्रफी र मेडल हात पार्न सफल भयो ।

यसैगरी जनता मावि गौरादहले तृतीय स्थान हासिल गर्दै १० हजार रुपैयाँ र मेडल प्राप्त गरेको थियो भने हिमाली माविले सान्त्वनामा चित्त बुझाउनु परेको थियो ।

१२ वटा स्थानीय तहका १२ विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थी सहभागी प्रतियोगिताका सवै प्रतियोगीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमका विशेष अतिथि नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले प्रमाणपत्र प्रदान गरेकोे ने.वि.संघ झापा उपाध्यक्ष भवानी काफ्लेले जानकारी दिए ।

नेवि संघ झापाका अध्यक्ष राजेन्द्र उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रमका बीच २०४७ सालमा कनकाई क्याम्पसमा नेविसंघ स्थापना गर्दा संस्थापक अध्यक्षको नेतृत्व लिने सन्तोष सिटौलालाई सम्मान पत्रद्वारा सम्मान गरिएको मिलन चापागाँईले जानकारी दिए ।

नेविसंघ पूर्व सहमहामन्त्री उमा शिवाकोटी, नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दू पूर्वेली, राजेन्द्र चौलागाँई, पोषराज कटुवाल, सन्तोष उप्रेती लगायत विद्यार्थी नेताहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रमको सञ्चालन सञ्जय निरौला र गोकुल पौडेलले संयुक्त रुपमा गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here