वनको संरक्षण, विकास र समृद्धिको सहायक बन्छ

0
488

सम्पादकीय

‘हरियो वन नेपालको धन’ यो भनाइले धेरै अर्थ दिन्छ । यसले दिने प्रत्यक्ष वा परोक्ष, सिधा वा प्रतिकात्मक, आर्थिक र वातावरणीय लाभ वा प्रभावका आधारमा वनको महत्व अमूल्य छ भनिएको हुनसक्छ । परम्परादेखि वन–जंगलबाट प्राप्त हुने काठ–दाउरा र त्यसको बिक्रीबाट प्राप्त हुने आम्दानीलाई मात्र बुझ्ने गरिन्थ्यो ।

तर, आज वन जंगलका कारण जैविक विविधताको संरक्षण, दुर्लभ तथा लोपोन्मुख जीवजन्तु र चराचुरुङ्गीको वासस्थान सुरक्षित गर्न, हावापानीको स्वच्छता, नियमिततादेखि मानवीय कारणले उत्सर्जन हुने प्रदुषणलाई समेत नियन्त्रण गर्न वन–जंगलको ठूलो भूमिका रहेको सिद्ध भइसकेको छ । यस बाहेक विभिन्न प्रजातिका जीव एवम् चराचुरुङ्गीका कारण र सुन्दर प्राकृतिक स्वरुपले पर्यटकहरुलाई समेत आकर्षित गर्न सक्नेछ वन जंगलले ।

हामीकहाँ जनसंख्या वृद्धि भएसँगै वन फँडानी हुने क्रम बढेर गयो । पूर्वदखि पश्चिमसम्म फैलिएको वन क्षेत्र मासियो । खुला सीमानाको फाइदा उठाउँदै तस्करहरुले काठ निकासी गरे । परिणामस्वरुप दुर्लभ प्रजातिका जीवजन्तु, चराचुरुङ्गीदेखि बिरुवाहरु पनि मासिँदै गए । त्यहीकारण स्थानीयबासीलाई जिम्मेवारी हस्तान्तरण गर्दै सामुदायिक वन क्षेत्र छुट्याएर भोगाधिकार र संरक्षणको अधिकार पनि हस्तान्तरण गरियो । त्यसपछि भने वनजंगलको संरक्षण हुँदै जाँदा आज हाम्रो चारकोसे वनले पुरानो अस्तित्व फेरि प्राप्त गर्न थालेको छ ।

यसबेला दक्षिणी झापाको हल्दीबारी गाउँपालिकाले आफ्नो भूगोलभित्रका सातवटा सामुदायिक वन समूहलाई पर्यटकीय क्षेत्रका रुपमा समेत विकास गर्ने उद्देश्यले गुरु योजना बनाएको छ । चारकोसे जंगल जैविक विविधतासँगै भौगोलिक विविधता बोकेको क्षेत्र भएका कारण सेवा, सुविधा र वातावरण निर्माण गर्ने हो भने आन्तरिक साथै बाह्य पर्यटकहरुको प्रमुख गन्तव्य बन्न सक्छ । हल्दीबारी गाउँपालिकाले तयार गरेको गुरुयोजना अनुसार आफ्नो क्षेत्रभित्रको जंगलमा पदमार्ग बनाउन थालिएको छ । जंगली जनावर मानव बस्तीतिर नजाउन् भन्नका लागि विशेष योजना बनाउँदै शुरु गरेको यो कार्यक्रमले हात्तीलाई समेत वनभित्रै रोक्ने र अन्य दुर्लभ पशुपंक्षीहरु मृग, हरिण, बाँदर, अंजिगर र बँदेल लगायतको संरक्षण गर्ने विश्वास गर्न सकिन्छ ।

अबको दुई हप्तापछि सरकारद्वारा घोषित नेपाल भ्रमण वर्ष राष्ट्रि अभियान शुरु हुँदैछ । आन्तरिक तथा वाह्य पर्यटकहरुको आगमनलाई बढाएर देशको पहिचान विस्तार गर्ने यो योजनाको पूर्णताका लागि समेत हल्दीबारीले शुरु गरेको अभियान सहयोगी हुनसक्छ । त्यस क्षेत्रको चारकोसे जंगलले पश्चिममा बाह्रदशी, दक्षिणमा कचनकवल र पूर्वमा भद्रपुर नगरपालिकालाई छोएको छ । चारकोसे वनको बहुविशेषतामध्ये भू–मध्य सागरीय र उष्ण प्रदेशीय प्रजाति प्रमुख रहेको डिभिजनल वन अधिकृत विष्णुलाल घिमिरेले बताएका छन् ।

यहाँ पानी दक्षिणबाट उत्तरतर्फ बग्छ, पौराणिक घटनासँग जोडिएका पोखरी छन् र पुरातात्विक महत्वका वस्तु समेत भेटिएका छन् । यी कारण र विशेषताले पनि वन जंगललाई आधुनिकतासँग जोडेर उपयोग गर्नु सबैको हितमा हुन्छ । त्यसैले हल्दीबारी गाउँपालिकाको दूरदृष्टिपूर्ण योजनालाई राज्यले प्राथमिकताका साथ प्रवद्र्धनमा सहयोग गर्नुपर्छ । बढ्दो प्रदुषणलाई समेत नियन्त्रण गर्दै पर्यापर्यटन क्षेत्रको विकासबाट समृद्धिको यात्रा सहज बनाउने यो अभियानले सहयोग गर्ने अपेक्षा गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here