पर्यटन प्रवद्र्धन गर्न ‘बहानेपोखरी महोत्सव’

१ पुष २०७६, मंगलवार मा प्रकाशित

खोटाङ,

जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित ऐसेलुखर्क गाउँपालिकाले ‘बहानेपोखरी महोत्सव’ गर्ने भएको छ । वडा–१ राखाबाङ्देलमा रहेको पर्यटकीयस्थल बहाने पोखरीको प्रचार–प्रसार गर्दै पर्यटन प्रवद्र्धन गर्न आगामी फागुन १३, १४ र १५ गते महोत्सव गर्ने तयारी गरेको हो ।

महोत्सव सफल बनाउन स्थानीय गृहबहादुर राईको संयोजकत्वमा २१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । तीन दिनसम्म सञ्चालन हुने महोत्सव सफल बनाउन छिमेकी स्थानीय तहका वडाबाट थप सदस्य थपिने जनाइएको छ । प्रायोजक तथा छिमेकी स्थानीय तहसँगको सहकार्यमा सञ्चालन गरिने महोस्तवका लागि सो गाउँपालिकाले रु १२ लाख बजेट विनियोजन गरेको छ ।

महोत्सवमा अग्र्यानिक कृषि उपज प्रदर्शनी, खानाका परिकार, विभिन्न जातजातिको सांस्कृतिक तथा परम्परागत झाँकी, साङ्गीतिक कार्यक्रम, खेलकूदलगायत विविध कार्यक्रम सञ्चालन हुने आयोजक समितिका संयोजक राईले जानकारी दिनुभयो । चारैतिर रमणीय डाँडाको बीचमा मुहान नदेखिने बहानेपोखरीमा बाह्रै महिना टम्म पानी रहने गरेको स्थानीयवासीले बताएका छन् ।

अग्लोडाँडामा शुद्ध पानी टम्म भरिएको बहानेपोखरी २०० मिटर क्षेत्रफल जमिनमा फैलिएको छ । आफँैमा ऐतिहासिक महत्व बोकेको बहानेपोखरीमा महोत्सव गर्दा सबैको ध्यान केन्द्रित गर्न र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न प्रथम पटक ‘बहानेपोखरी महोत्सव’ गर्न लागिएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताउनुभयो ।

“बहानेपोखरीको पूर्वतर्फ शङ्ख, ढुङ्गा, नागढुङ्गा, स्तुपाहरु र केहीमाथि विभिन्न आकृतिका संरचना अवलोकन गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “पोखरी आसपासमा पाइने लोपोन्मुख रेडपाण्डा, चौँरी, भेडा र विभिन्न प्रजातिका जीवजन्तु अवलोकन गराउँदै आगामी दिनमा थप पर्यटक तान्ने महोत्सवको मूल उद्देश्य रहेको छ ।”

बहानेपोखरीबाट खोटाङको अधिकांश स्थान, तराईका फाँट, विश्वकै सर्वोच्च शिखर सगरमाथा तथा हिमाली शृङ्खला अवलोकन गर्न सकिन्छ । भदौरे जनैपूर्णिमा र मङ्सिरे पूर्णिमाको दिन धामी–झाँक्रीसहित विभिन्न जिल्लाबाट आउने दर्शनार्थीको उपस्थितिमा यहाँ ठूलो मेला लाग्ने गर्दछ । समुद्री सतहदेखि करीब दुई हजार ७०० मिटर उचाइमा अवस्थित बहानेपोखरीमा नयाँ वर्षमा ठूलो सङ्ख्यामा युवापुस्ता वनभोज (पिकनिक) जाने गरेका छन् ।

पोखरी आसपास शेर्पा समुदायको घनाबस्ती रहेको छ । आगामी दिनमा उक्त शेर्पाबस्तीलाई घरवास (होमस्टे)का रूपमा विकास गर्ने योजनासमेत रहेको गाउँपालिका प्रमुख निरौलाले बताउनुभएको छ । अग्र्यानिक कृषि उपज पर्याप्त उत्पादन हुने उक्त क्षेत्र घरवासका लागि उपयुक्त ठाउँ रहेको जनाइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here