साधुसन्तलाई कम्बल र कमाण्डलु

१ पुष २०७६, मंगलवार मा प्रकाशित

सप्तरी,

सप्तरीको विष्णुपुर गाउँपालिका–६ का अशोक यादव र सीतादेवी यादवले सोमबार १८५ साधुसन्तलाई कम्बल र कमण्डलु वितरण गर्नुभएको छ ।

छोराको मृत्यु भोजमा हुने खर्चको साटो सो रकमबाट कम्बल र कमण्डलु खरीद गरी उहाँहरूले वितरण गर्नुभएको हो । सप्तरीको विभिन्न गाउँबाट तथा भारत बिहारको मधुवनी र सुपौल जिल्लाबाट आएका साधुसन्तलाई कम्बल र कमण्डलु वितरण गरिएको स्थानीय जयराम यादवले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाउँभरिकालाई भोज खुवाउनुको साटो न्यानो कपडाको अभावमा चिसो खेप्दै आएका ज्येष्ठ नागरिक साधुसन्तलाई प्राथमिकतामा राखेर कम्बल वितरण गर्नु श्रेयष्कर हो ।” कम्बल, कमण्डलु र दक्षिणा पाएपछि सप्तरीको राजगढ नर्घोका ६५ वर्षीय भसोनाइ दासले खुशी व्यक्त गर्नुभयो ।

“ओढ्ने कपडा र पानी पिउने भाँडो पुरानो हुँदा निकै गाह्रो भएको थियो”, दासले भन्नुभयो, “कम्बल र कमण्डलु दिएर गुन लगाउनुभयो ।” भोजभतेरमा खर्च हुने फजुल रकम परोपकारमा लगाएर समाजलाई अघि बढाउन यादव दम्पतीले प्रेरित गर्नुभएको राजविराज नगरपालिका–१६ का सूर्यनारायण यादवले बताउनुभयो ।

उहाँले थप्नुभयो, “देखासिकी, तडकभडक र फजुल खर्च गर्ने प्रवृत्ति त्याग्नुपर्छ, परोपकारजन्य कार्यको चेतना विस्तार गर्नुपर्छ ।” अनुत्पादक खर्च गर्नुको साटो त्यसलाई रचनात्मक काममा उपयोग गरूँ भन्ने चाहना पूरा गर्न साधुसन्तलाई बोलाएर भोजन र सामग्री वितरण गर्ने निर्णय गरेको यादवले बताउनुभयो ।

“भोजभतेरमा खर्च गरेर रवाफ देखाउने संस्कार रोक्न र गलत संस्कारले अझ बढावा नपाओस् भन्ने आफ्नो चाहना हो”, उहाँले भन्नुभयो ।

जेठा छोरा २१ वर्षीय रितेशकुमार यादवको मृत्यु भएको १३औँ दिनको तिथिमा यादवले साधुसन्तलाई भोजन गराएपछि उपहारस्वरुप कम्बल र कमण्डलु वितरण गर्नुका साथै दक्षिणा दिएर बिदा गर्नुभयो । यादवले मृतक छोराको सम्झनामा ६ नं वडा कार्यालय अगाडि चोकमा चौतारा निर्माणसमेत शुरु गर्नुभएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here