चितवन राइनोजलाई पीपीएल क्रिकेटको उपाधि

0
590

कास्की, 

दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी २० क्रिकेट प्रतियोगिताको उपाधि चितवन राइनोजले जितेको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दैै पारस खड्काको कप्तानीमा रहेको चितवनले उपाधिसहित रु २७ लाख पुरस्कार पायो । खेलमा टस जितेर विराटनगरले फिल्डिङ रोजेपछि साबिक उपविजेता चितवन पूरै ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा २०२ रनको विशाल योगफल तयार गरेको थियो ।

प्रतियोगिताको उपाधिका लागि २०३ रनको विजयी लक्ष्य पछ्याएको विराटनगर निर्धारित ओभरमा सात विकेट गुमाउँदै १७० रनमा समेटियो । उपविजेता बनेको विराटनगरले रु १० लाख पुरस्कार पाएको छ । शुरुआती ब्याट्सम्यान मोहमद जैद आलमले पाँच चौका र तीन छक्कासहित ४८ बलमा ५७ रनको अर्धशतक तथा कप्तान प्रदीप ऐरीले २५ बलमा ३६ र पुनित मेहराले १३ बलमा ३२ रन जोडे पनि टोलीलाई जित दिलाउन असमर्थ हुनुभयो ।

चितवनका करण केसीले आफ्नो चार ओभर बलिङमा ३६ रन खर्चिएर सर्वाधिक तीन तथा सन्नी पटेलले दुई र रोहन मुस्ताफाले एक विकेट लिनुभएको थियो । चितवनको विशाल योगफल तयार गर्नमा रोहन मुस्ताफा र अनिल शाहले अर्धशतक पूरा गर्नुभएको थियो ।

मुस्ताफाले ४३ बलमा ५० रन जोड्नुभयो भने शाहले ३४ बलमा ५० रनको योगदान दिँदै टोलीको इनिङ्स माथि उकास्न योगदान दिनुभएको थियो । करण केसी अविजित रहँदै आठ बलमा २६ तथा कप्तान खड्काले ११ बलमा २५ रनको योगदान दिनुभयो । विराटनगरका पुनित मेहरा मुहमद जैद आलमले समान दुई÷दुई तथा किशोर महतोले एक विकेट लिनुभयो ।

चितवन र विराटनगरसहित साबिक विजेता पोखरा पल्टन, बुटवल ब्लास्टर्स, काठमाडौँ गोल्डेन वारियर्स र एक्सपर्ट धनगढी ब्लुज गरी देशका विभिन्न छ शहरका छ टोलीले प्रतियोगितामा सहभागितामा जनाएका थिए । प्रतियागिता मङ्सिर २९ गतेबाट शुरु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here