चेतना जगाऔं,विवेकी बनौं

0
664

कर्ण शाक्य,

सामाजिक विवेक
– कसैसँग रिसाउनुभन्दा पहिले एकचोटी उसको नजरबाट आफूलाई हेरौं ।
– थ्यांक यु (धन्यवाद), आई एम सरी, एक्स्क्युज मी (क्षमा पाऊँ), यी सभ्य समाजका अनमोल शब्द हुन् । यी शब्द प्रयोग गर्दा पैसा पर्दैन ।
– छुट्टिने बेला हस् त, नमस्ते, जाऊँ है, फेरि भेटौंला जस्ता सद्भावपूर्ण शब्द प्रयोग गरेर अभिवादन गरौं । छोराछोरीलाई यो संस्कार बच्चैदेखि सिकाऊँ ।
– मुस्कान र हाँसो सबभन्दा राम्रा शृंगार हुन् । यिनीहरुले आफूलाई मात्र होइन, अरुलाई पनि खुशी बनाउँछन् । मुस्कानले नचिनेका मान्छेलाई समेत साथी बनाउन सकिन्छ । यो मित्रताको अचुक उपाय हो । यसको पैसा पर्दैन ।
– साथी मन नपरे छोड्न सकिन्छ, इष्टमित्र मन नपरे सम्बन्ध कटाउन सकिन्छ, तर छिमेकी फेर्न सकिँदैन । छिमेकीसँग शत्रुतापूर्ण सम्बन्ध राखेर आफ्नै वासस्थानलाई नर्क नबनाऊँ । छिमेकीलाई सक्दो सहयोग गरौं । छिमेकीसँग मित्रवत् सम्बन्ध राखौं ।
– साना नानीलाई गुलेली जस्ता खेलौना नदिऊँ । पशुपन्छी र जनावरलाई माया गर्ने बानी सिकाऊँ ।
– घरपालुवा जनावरलाई मायाका साथसाथ तालिम पनि दिऊँ । माया र तालिम दिन सकिँदैन भने घरमा जनावरै नपालौं ।
– छिमेकीको कुकुर राति भुक्यो भने हामीलाईं कति रिस उठ्छ ? आफ्नो कुकुरलाई कुबेलामा भुक्न नदिऊँ र छाडा नछोडौं । कुकुरलाई घुमाउन लैजाँदा बाटोमा फोहोर गर्न नदिऊँ ।
– गाईवस्तु सडकमा छाडा नछोडौं । पाल्न सकिएन भने गौशालामा पठाऊँ ।
– अस्पताल जस्ता संवेदनशील ठाउँमा हुलमूल, तानातान र ठेलमठेल नगरौं ।
– अस्पताल र नर्सिंग होममा बिरामी कुरुवा बस्दा एकजना मात्र बसौं, भीडभाड नगरौं । संक्रमण फैलने जोखिम हुन्छ ।
– अस्पतालमा बिरामी भेट्न जाँदा, आर्थिक अवस्था हेरेर, झोलामा फलफूलको सट्टा, खाममा पैसा राखेर बिरामीको परिवारलाई सहयोग गरौं ।
– डाक्टरकहाँ जँचाउन जाँदा लाममा बसी पालो कुर्ने बानी बसालौं ।
– सभा, सम्मेलन, गोष्ठी वा कसैको घर–अफिस जाँदा मोबाइलमा चर्को स्वरको रिङटोन नराखौं । भद्दा गीतको सिआरबिटी पनि नराखौं ।
– टेलिफोन गर्दा होस् या सामाजिक सञ्जालमा, छुच्चो नबनौं, मनपरी गाली पनि नगरौं ।
– पाहुना, ग्राहक वा इष्टमित्र घरमा आउँदा वा उनीहरुको घरमा जाँदा फोनमा लामो गफ नगरौं, मोबाइलमा नखेलौं, शिष्टाचारको ख्याल राखौं ।
– पाहुना आउँदा टिभी नहेरौं । गीत–संगीत सुन्नुप¥यो भने पनि ठूल्ठूलो स्वरले नबजाऊँ ।
– कसैको घरमा जाँदा अर्काको सुत्ने बेडमा कहिल्यै नबसौं ।
– अरुको बगैंचा वा सार्वजनिक उद्यानमा फूल नटिपौं ।
– शौचालय प्रयोग गरेपछि सधैँ फ्लस गर्ने बानी बसालौं ।
– धारा खुल्ला छोडेर पानी खेर नफालौं । पानी जीवन हो ।
– अशक्तलाई सम्मान गरौं, आवश्यक सहयोग गर्नु परे आदरपूर्वक गरौं ।
– सिनेमा घरमा हुटिङ नगरौं । यो अभद्र, असभ्य र उत्ताउलोपन हो ।
– भद्दा गरगहना नलगाऊँ, यसले अरुमा इष्र्या, जलन र लालच जगाउँछ । सुरक्षित एवम् भद्र जीवन बाँचौं ।
– अर्काको कुरा पूरा सुनेर मात्र आफ्नो कुरा राखौं । बीचमा अरुको कुरा काट्ने बानी हटाऔं ।
– विदेशी पर्यटकले फोटो लिन खोज्दा पैसा मागेर भिखारी स्वभाव नदेखाऊँ । साथै अनुमति बिना उनीहरुलाई जथाभाबी फोटो खिच्न पनि नदिऊँ ।
– दिनमा सडक बत्ती बलेको देखियो भने सम्भव भएसम्म निभाऊँ, या सम्बन्धित निकायलाई जानकारी दिई निभाउन लगाऊँ ।
– सडकमा बेवारिसे सिनो देखेमा सम्बन्धित निकायलाई जानकारी दिई व्यवस्थापन गर्न लगाऊँ ।
– सार्वजनिक स्थानमा वृद्ध, महिला, अशक्तलाई पहिलो प्राथमिकता दिने बानी बसालौं ।
– बसमा यात्रा गर्दा वा हुलमूलमा महिलालाई अनाहकमा छोइहाल्ने नियत र बानी नराखौं ।
– सँगै महिला बसेका छन् भने सभ्य भएर बोलौं । आफ्नो नराम्रो गति र मति नदेखाऊँ ।
– एक–दुई इञ्च जमिनका लागि मरिहत्ते गरी छिमेकीसँग झगडा नगरौं । मुद्दामामिलामा फसेर पैसा र जीवनको खुशी बर्वाद नगरौं ।
– पुशपन्तीलाई यातना र सास्ती दिएर ओसारपसार नगरौं । कुखुरा र हाँसलाई साइकल, मोटरसाइकलमा उल्टो झुन्ड्याएर नलैजाऊँ ।
– घरको फोहोर जथाभावी र जहाँ पायो त्यहाँ नमिल्काऊँ ।
– घर र पसल सफा गर्दा बाटोमा धूलो नफालौं र पसलको पाउपोस सडकमा नसुकाऊँ ।
– सडकको पेटीमा सामान राखेर बाटो साँघुरो नबनाऊँ । सडक पेटी पैदल यात्रुका लागि हो ।
– निर्माण सामग्री सार्वजनिक स्थानमा नराखौं । छिमेकीलाई असर पर्ने गरी पनि नराखौं ।
– सिनेमा हलमा खुट्टा हल्लाएर अगाडिका र वरिपरिकालाई बाधा नपु¥याऊँ । मोबाइल प्रयोग नगरौं ।
– तथ्यहीन समाचारका पछि नलागौं । हावादारी गफ नसुनौं र नसुनाऊँ । सत्यतथ्यका आधारमा मात्र आफ्नो धारणा बनाऊँ ।
– सार्वजनिक सम्पत्ति हाम्रै हो । त्यसलाई च्यात्ने, कोट्याउने, बिगार्ने वा भाँच्ने काम नगरौं ।
– लावारिस झोला वा शंकास्पद सामानबारे प्रहरीलाई जानकारी दिऊँ ।
– सार्वजनिक स्थलमा झुन्ड्याइएका निर्देशिकाको पालना गरौं ।
– सार्वजनिक सूचना पाटीमा पोस्टर, पम्प्लेट नटासौं र टाँस्न नदिऊँ ।
– समाजमा मित्रवत् सम्बन्ध आपसी समझदारी, सम्झौता र सहयोगले मात्र कायम हुन्छ । ‘मेरो गोरुको बाह्रै टक्का’ को मनस्थितिले आपसी सम्बन्ध सौहार्दपूर्ण बन्दैन ।
– सँगै बस्न सके संयुक्त परिवार धेरै राम्रो । एकआपसमा शंका–उपशंका गर्ने हो भने छुट्टिएर बस्नु नै राम्रो । तर, अंशबण्डा गर्दा गोलाप्रथा धेरै राम्रो ताकि भविष्यमा कसैले चित्त दुखाउनु नपरोस् ।
– घरका सबै सदस्य मिलीजुली काम गर्दा रमाइलो हुन्छ । यो तेरो काम, यो मेरो काम नभनौं ।
– भेटघाट र कुराकानी गर्दा तपाईंको ‘के थर’, ‘के जात’, ‘तलब कति’ भन्ने जस्ता व्यक्तिगत प्रश्न नसोधौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here