‘म जे गर्छु नेपालमै गर्छु’

0
657
दुर्गा प्रसाईंः सञ्चालक, पूर्वाञ्चल क्यान्सर अस्पताल

परिचयका लागि नामै काफी छ– दुर्गा प्रसाईंको । नाम वा बदनाम जे भए पनि पूर्वाञ्चलबाट उदाएर सिंगै देशमा तरंग ल्याउन सफल एक मेडिकल उद्यमी हुनुहुन्छ– प्रसाईं । सरकारले बिएण्डसी मेडिकल कलेज खोल्ने पूर्व स्वीकृति दिए पनि कक्षा सञ्चालनको अनुमति नदिएर राज्यले नै पीडित बनाएका अभागी उद्यमी पनि हो उहाँ । तर, अप्ठ्यारो बाटोका यात्री बन्न रुचाउने प्रसाईंले हाल नेपालमै अत्याधुनिक उपकरण र सुविधासहितको पूर्वाञ्चल क्यान्सर अस्पताल शुरु गरेका छन् सोही विषयमा गरिएको कुराकानी :

तपाईंले पूर्वाञ्चल क्यान्सर अस्पताल किन सञ्चालनमा ल्याउनु भएको ?

– हो, भ्रमण वर्ष २०२० को शुभारम्भको दिन १ जनवरीबाट पूर्वी नेपालको बिर्तामोडमा नेपालकै अत्याधुनिक क्यान्सर अस्पताल शुरु भएको छ । बिर्तामोडमा सञ्चालनमा रहेको प्रस्तावित बिएण्डसी मेडिकल कलेज तथा शिक्षण अस्पतालको व्यवस्थापनले करिब चार अर्ब लगानीमा पूर्वाञ्चल क्यान्सर अस्पताल शुरु गरेका हौं ।

अस्पतालले पुस १६ अर्थात् नयाँ वर्ष सन् २०२० को अवसर पारेर हामीले सेवा शुभारम्भ गर्नुको उद्देश्य पनि हामीले मेडिकल हब बनाउन सकिन्छ भन्ने सन्देश दिनैका लागि यो दिन रोजेका हौं । ‘मुस्कुराउँछ नयाँ जीवन’ भन्ने थिम राखेर पूर्वाञ्चल क्यान्सर अस्पताल अंग्रेजी नयाँ साल २०२० बाट सञ्चालनमा ल्याइएको हो ।

पूर्वाञ्चल क्यान्सर अस्पतालको मुख्य विशेषता चाहि के हो नी ?

– पहिलो कुरा, त यो नेपालकै अत्याधुनिक उपकरणसहितको पहिलो र एकमात्रै अस्पताल हो । अब कोही पनि क्यान्सरपीडितले उपचारका लागि अन्त धाउनु पर्दैन । दोस्रो कुरा, एउटै छातामुनी सबै उपचार हुने गरी हामीले क्यान्सर अस्पताल सञ्चालनमा ल्याएका छौं । राजधानीमा रहेका क्यान्सर अस्पतालभन्दा पनि विशिष्ठ सेवा दिनेगरी हामीले अत्याधुनिक उपचारका उपकरण व्यवस्था गरेका छौं । तपाईंहरुलाई थाहै छ, यसअघि नै क्यान्सरमा निजी क्षेत्रबाट विशिष्टिकृत दुईवटा अस्पताल राजधानीमा शुरु गरिए पनि पूर्णरुपमा क्यान्सर उपचारको सुविधा चाहिँ विस्तार गर्न सकेका थिएनन् ।

पूर्वाञ्चल क्यान्सर अस्पतालले भने आवश्यक सबै उपकरणको व्यवस्था गर्दै निदान र उपचार सेवाको एकीकृत सुरुवात गरेको हो । यो सँगै पूर्वाञ्चल क्यान्सर अस्पताल आफ्नै पेटस्क्यान मेशिन भएको पहिलो क्यान्सर अस्पताल बनेको छ । मलाई लाग्छ, यसबाट हामी सबै नेपालीको क्यान्सर पीडामा मल्हम लगाउन सक्छौं । अस्पतालमा पेट सिटीका अलावा ट्रुबिम लिनियर एसिलेटर, गामा क्यामेरा, फोरडी सिटी सिमुलेटर, थ्रिडी मेमोग्राम, ब्रेन ल्याव न्यूरो न्याभिगेशन, क्याथ ल्याव, डेक्सा स्क्यान लगायत अत्याधुनिक उपकरणहरु मार्फत निदान र उपचार शुरु भइसकेको छ । यो नेपालको क्यान्सर उपचारको क्षेत्रमा पछिल्ला वर्षको सबैभन्दा ठूलो उपलब्धि हो ।

क्यान्सर ढिलो थाहा हुने तर जटिल रोग हो । कतिपय बिरामी त आफूलाई क्यान्सर लागेको थाहा पाएर पनि कहाँ कसरी उपचार गर्ने भन्ने जानकारी नपाउँदै मृत्युको मुखमा पुग्नुपर्ने बाध्यता छ । पूर्वाञ्चल क्यान्सर अस्पतालको एकीकृत सेवा सुचारु भएपछि त्यो बाध्यता हटेको छ । हामीले पछिल्ला उपकरणहरुसहित सेवा शुरु गरेका छौं । हाम्रो सपना आज वास्तविकतामा परिणत भएको छ । यो अस्पतालले अब पूर्वी नेपालमात्र नभई पूरै नेपाल र विदेशका बिरामीलाई समेत उपचार सेवा दिन्छ । नेपालबाट उपचारका लागि भारत जाने ७० प्रतिशतभन्दा बढी बिरामीलाई हामी रोक्छौं । क्यान्सरको क्षेत्रमा यो हामीले हासिल गरेको विशेष उपलब्धि हो । तपाईं कल्पना गर्नुस् एक क्यान्सरपीडितले विदेशमा, खासगरी भारतका राजीव गान्धी र मेदान्त अस्पतालमा कति मुश्किलले उपचार सेवा पाउँछ ? अब उसले त्यहाँ पाउने उपचार पूर्वाञ्चल क्यान्सर अस्पतालमा नै पाउने भएपछि त्यो बिरामीले कस्तो आनन्द महशुस गर्ला ? त्यसैले आफ्नै देशभित्र सम्पूर्ण उपचार हुनेगरी सेवा आरम्भ गर्न सकेकोले हामीले हाम्रो सेवाको नारा नै राखेका हौं, ‘मुस्कुराउँछ नयाँ जीवन’ वास्तवमा हामी हरेक बिरामीलाई मुस्कुराउने जीवनमा फर्काउन मद्दत गछौं, सेवा गर्छौं ।

हामीलाई विश्वास छ, पूर्वाञ्चल क्यान्सर अस्पतालको सेवाले कुनै पनि विरामी याहाँबाट बाहिरी देश जानुपर्नेे छैन । अब क्यान्सर उपचारका लागि कतै जान पर्ने बाध्यता सकिएको छ । पेट सिटी स्क्यान भरतपुरमा समेत नभएको तर अब पूर्वाञ्चल क्यान्सर अस्पतालमा सो प्रबिधि भएको कारण विभिन्न किसिमका रोगको उपचार पूर्वाञ्चल क्यान्सर अस्पतालमा नै हुनेछ । पूर्वाञ्चलले यो सेवासँगै एउटा इतिहास लेखेको छ, सेवाको, उपचारको । यो इतिहास भावीपुस्ताले अध्ययन र उपयोग गर्नेछ । तीन सय शैय्याको यो अस्पतालले बिएण्डसीमा क्यान्सरको उपचार पहिलेदेखि गर्दै आए पनि पूरै प्याकेज इकुपमेन्ट नहुने अवस्थाको अन्त्य गरेकोले अब पूर्वाञ्चल क्यान्सर अस्पताल सम्पूर्ण इकुपमेन्टसहितको अस्पताल भएको छ ।

संसारका सम्पूर्ण अत्याधुनिक प्रविधिसहित शुरु तीन सय शैय्याको पूर्वाञ्चल क्यान्सर अस्पताल अरु क्यान्सर हस्पिटलभन्दा फरक किन छ भने हामीसँग ट्रु बिम लाइनर एसीलारेटर छ, एक मिनेटभित्र रेडिएसन दिने मेशिन छ जसले क्यान्सर रोगको अवस्था जाँच्नका लागि पेट सीटी स्क्यान, एमआर आई, र्थी टेस्ला महिलाको ब्रेस्ट क्यान्सर पत्ता लगाउने मेमोग्राम, बे्रन टिउमरको अप्रेशनको लागि ब्रेन ल्याब, केथ ल्याब, केमो मिक्सिङ आदि सम्पूर्ण इकुपमेन्टहरु र दक्ष जनशक्ति रहेको छ । यो रेडिएसनबाट कम साइडइफेक्ट हुन्छ । स्कीन डढ्ने, घाउ हुने समस्या हुँदैन । अस्पतालको उपचार शुरु गर्दा नै पहिलो विरामी २८ बर्षीय पी. मिश्रको निःशुल्क उपचार गरेका छौं । यसको अर्थ हामी सेवा सस्तो, शुलभ र बिरामीमैत्री बनाउन प्रतिबद्ध छौं भन्ने सन्देश पनि हो ।

तपाईंलाई क्यान्सर हस्पिटल सञ्चालनको आइडीया चाहि कसरी आयो ?

– ओहो, यसको लामो पीडा छ । लामो पृष्ठभूमितिर नजाऔं, तर जब मै आफैं क्यान्सर रोगी भएर निको भएँ, तबदेखिको सपना थियो मेरो क्यान्सर अस्पताल । त्यो एउटा सपना पूरा भएको छ आज । म आफैं समेत क्यान्सरको बिरामी रहेकोले आफूले क्यान्सर उपचार गराउन जाँदा विदेशमा हुने दुःख, हामी नेपालीले खेप्नुपर्ने सास्ती देखेँ, भोगेको छु । उपचारका नाममा दुःख पाएका नेपालीहरु देखेदेखि नै अस्पताल खोेल्ने प्रेरणा मिलेको थियो ।

म आफैं जिब्रोको क्यान्सरको जटिल शल्यक्रिया पश्चात बाँचेको हुँ । हेर्नुस् मेदान्त, राजीव गान्धी लगायत भारतका क्यान्सर अस्पतालमा थुप्रै नेपाली उपचारका लागि जाने गरेका छन्, खर्च पनि बढी छ, सहज पनि छैन । तर अब त्यो भन्दा धेरै शुलभ दरमा देशभित्रै उपचार सम्भव छ ।

मैले क्यान्सर उपचारका लागि विदेशिएका नेपालीहरुको दुःख देखेको छु । त्यसैले यो अस्पताल खोल्ने प्रण गरेँ । सबैको सद्भावले आज यो सम्भव भएको छ । मैले यो ऋण गरेर अस्पताल बनाएको छु । सयौं मान्छेलाई रोजगारी दिएको छु । राज्यलाई करौडौं कर तिरेको छु । यो जनताको पैसाबाट जनताले नै उपचार गर्ने थलो हो । यति ठूलो लगानीको जोखिम लिएर मैले यो अभियान शुरु गरेको छु । यो सुदूरपूर्वले थालेको अभियान हो । राजधानीमा समेत नभएको सेवा यहाँ शुरु भएको छ । यो गौरवको विषय हो । आफनो सम्पूर्ण सम्पत्ति धरौटी राखेर बैंकको ऋणबाट र सम्पूर्ण नेपालीहरुको सहयोगबाट यो हस्पिटल बनाएको हो ।

म जहिले पनि अप्ठ्यारोबाट हिँड्न रुचाउने मान्छे भएकोले त्यही बाटो हिँडेर आज यहाँसम्म आइपुगेँ । मैले त सिंगापुर र भारतमा गएर उपचार गराएर आएँ । तर, यहाँ धन नहुनेहरु सिटामोल नपाएर मरेका छन् । तिनीहरुका लागि पनि यो अस्पताल खोलिएको हो । हस्पिटल, डाक्टर र इकुपमेन्ट मात्र राम्रो भएर हुँदैन औषधि पनि गुणस्तरीय हुनुपर्छ । अब पूर्वाञ्चलका मानिसहरुले क्यान्सर भएकै कारण मृत्युको सिकार हुनुपर्ने छैन ।

तपाईंको हस्पिटलमा प्रधानमन्त्री केपी ओली र पूर्व प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को लगानी भएको प्रचार छ, सत्य के हो ?

– यो सरासर गलत कुप्रचार हो । म जे गर्छु नेपाल मै गर्छु । मलाई भन्नेले जे भने पनि मेरो विचार प्रष्ट छ । हस्पिटलको प्रगति देख्न नचाहने र राजनीतिक शीर्ष नेतालाई विवादमा तान्न दुश्प्रयास गर्नेहरुले हस्पिटलमा प्रचण्ड र ओलीको लगानी भएको हौवा चलाएका हुन् ।

हाम्रो परिवारले भएभरको अचल सम्पत्ति जाकटी (धरौटी) राखेर बैंकबाट ऋण लिएका छौं । त्यही ऋणबाट बिएण्डसी र पूर्वाञ्चल क्यान्सर हस्पिटल स्थापना गरेका हौं, त्यो कुरा बैंकहरुलाई नै सोध्दा थाहा भइहाल्छ । अचेल यो खुल्ला समाजमा नक्कली कुरा गरेर को टिक्छ ? सबै कुरा हाम्रो पारदर्शी छ । कानूनसम्मत नहुने त कुरै आउँदैन ।

पूर्व प्रधानमन्त्री प्रचण्डसँग मेरो घनिष्ठ सम्बन्ध त छ । म जनयुद्धमा लागेको र सेनाको कारवाही भोगेको योद्धा पनि हुँ । त्यसैले कसरी प्रचण्ड र मलाई तल पार्न सकिन्छ भनेर केहीले प्रचण्डको लगानीको अफवाह फैलाएका हुन् । प्रधानमन्त्री केपी ओलीको समेत लगानी छ भनेर अर्काथरिले हल्ला चलाउने गरेका छन् । त्यो पनि सरासर झुट हो । प्रधानमन्त्री ओलीकै जिल्लामा मैले हस्पिटल सञ्चालन गरेको छु । म उहाँलाई नेता मान्छु । त्यतिकै भरमा उहाँको पनि लगानी छ भनेर अफवाह फैलाइएको मात्रै हो । दुई–दुई पटक प्रधानमन्त्री भई सक्नुभएका उहाँहरु जस्तो राजनेताले त देशै बनाउने नेतृत्व गरिरहनुभएको छ । किन उहाँहरुका लागि एउटा हस्पिटलमा लगानी गर्नु्प¥यो र ? यो सबै स्याल हुइँया मात्र हो ।

लागत कति हो नी हस्पिटलको ?

– मेची अञ्चलमा मेडिकल कलेज चलाउने उद्देश्यका साथ छ अर्ब रुपैयाँ लगानीमा पाँच वर्ष ्अघि बिएण्डसी हस्पिटल सञ्चालनमा आएको हो । हस्पिटलको ठूलो लगानीका विषयमा अनेक चर्चा चल्ने क्रममा प्रचण्डको लगानी भएको शुरुदेखि नै आरोप लगाइने गरेको थियो । तर, त्योे कुनै तथ्यपरक कुरा होइन । केवल आरोपका लागि आरोप मात्रै हो । अहिले एक बिगाह क्षेत्रफलमा फेरि चार अर्ब रुपैयाँको लगानीमा क्यान्सर हस्पिटल शुरु भएको छ । दुबै हस्पिटलमा प्रचण्ड र ओलीको लगानी नरहेको कुरा हस्टिलका बिभिन्न कागजात नै स्पष्ट पार्छ ।

मलाई सम्झना छ, पूर्वाञ्चलमा मैले हस्पिटल बनाउँछुभन्दा धेरैले पत्याएका थिएनन् । जुनदिन हामीले हस्पिटल बनाउन शुरुको खाल्डो खन्दै थियौं, त्यतिबेला केही सभ्रान्तहरुले यहाँ अस्पताल त होइन, माछा पोखरी सञ्चालन हुने भयो भनेर पनि गिल्ला गरेका थिए । तर, मैले विष पिएर, आलोचना सहेर, चौतर्फी असहयोग र प्रहार झेलेर, सबै आक्रमणलाई ऊर्जा र शक्तिमा बदलेर नै हस्पिटल सञ्चालनमा ल्याई छाडेँ । अब यो अस्पताल जनताको अस्पताल हो । किनभने यसमा सबै लगानी बैंकहरुको छ । बैंकमा जनताको पैसा छ । त्यसैले यो जनताको पैसामा बनेको जनताको हस्पिटल हो ।

तपाईंमाथि मेडिकल कलेज माफियाको आरोप पनि छ नी ? किन होला ?

– जसको मेडिकल कलेज नै शरु हुन पाएको छैन कसरी म माफिया ? बिएण्डसी हस्पिटलका साथमा मेडिकल कलेज सञ्चालन गर्न मैले भगिरथ प्रयत्न गरेँ । नेपाल सरकारले तोकेका सबै मापदण्ड पूरा गरिसक्दा समेत कहिले माफियाको आरोप लगाएर र कहिले सत्याग्रही डा. गोविन्द केसीको मागको बहाना बनाएर मेडिकल कलेज सञ्चालनको अनुमति मलाई अहिलेसम्म पनि दिइएको छैन । डा. केसी नै माग्छन्– सातै प्रदेशमा मेडिकल कलेज, अनि मैले पूर्वाञ्चलमै पहिलो कलेज खोल्न खोज्दा भाँजो हालिरहन्छन् ।

यहाँ स्थलगत निरीक्षण गरेर सबैले यथार्थ बुझेका छैनन् । विरोधका लागि विरोध गरिरहेका छन् । हो, मैले हस्पिटल र कलेज खोलेर मेची अञ्चलमै डाक्टर पढाउने व्यवस्था मिलाउँछुभन्दा माफिया भनियो । म प्रति, मेरो काम प्रति केही मिडिया हाउस समेत पूर्वाग्राही भएको र आफै न्यायाधीश बनेर फैसला गर्दै मलाई हतोत्साही र बद्नाम गर्न लागे । माफिया भनेर बद्नाम गराउने दुष्प्रयास गरिए पनि म कहिल्यै लक्ष्य र सत्यबाट विचलित भएको छैन । मैले सारा म विरुद्धका दुष्प्रचारलाई विष झैं पचाएर त्यसलाई ऊर्जा बनाएर काम गरिरहेको छु ।

अनि विरोध गर्दागर्दै किन खोल्नुप¥यो त कलेज ?

– मैले त राज्यको अनुमति पाएर काम शुरु गरेँ । अब मैले चलाउन नहुने हो भने सरकारले चलाओस् । तर, मेडिकल कलेज आवश्यकता हो यहाँका जनताको । सरकारको नीति पनि हो । अनि मलाई लगानी गर्न लगाएर अहिले अकारण रोक्नु त म र मलाई लगानी गर्ने बैंकमाथिको अन्याय होइन त ? हेर्नुस् म कमाउन यो काम गरिरहेको छैन । म मेरो जीवन जनतामा समर्पित गरिरहेको छु । मैले जीवनमा कमाएको ८० प्रतिशत रकम सामाजिक काममा नै खर्च गर्छु । मैले हस्पिटल निर्माणको सबै काम मेरो निजी सम्पत्ति धरौटी राखेर गरेको छु भने म कसरी माफिया भए ? मलाई माफिया भनेर उल्टै असली माफियाहरु राज्यलाई, राज्यको मेडिकल शिक्षालाई कमजोर बनाउन लागेका हुन् ।

मैले अख्तियार धाएको छु, त्यहाँबाट मलाई क्लीनचिट मिलेको छ । म विरुद्ध सम्पत्ति शुद्धिकरणको मुद्दा प¥यो, त्यहाँ पनि ममाथिको कुनै आरोप पुष्टि भएको छैन । म कुनै गैरकानूनी काममा संलग्न नै छैन । म हतियार व्यापारी होइन, तस्करी गरेको छैन । अनि म कसरी माफिया भएँ ? अस्पताल सञ्चालन गर्न सबै ऋण बैंकले दिएका छन् । बैंकले भएभरको मेरो चल–अचल सम्पत्ति धितो राखेर ऋण दिएका हुन् । आफ्नो निजी सम्पत्ति धरौटी राखेर जनतालाई स्वास्थ्य सेवा दिन खोज्दा मलाई माफिया भनिन्छ भने यो म विरुद्धको मात्रै होइन, राज्य र जनताविरुद्धकै प्रहार हो ।
मलाई मेडिकल माफिया भन्नेहरु प्रति झन् टिठ लागेर आउँछ । मलाई । राज्यले तिमी मेडिकल कलेज सञ्चालन गर्नका लागि योग्य छौं भनेर चार वर्षअघि नै आशय पत्र दियो । तिमी पूर्वाधार तयार गर भनेर मलाई अनुमति दियो । मैले बैंकबाट ऋण लिएर सबै पूर्वाधार खडा गरे ।

१६ बिगाह जमिनमा भौतिक तथा प्राविधिक पूर्वाधार खडा गरेँ । तर आजसम्म मैले कक्षा सञ्चालनको अनुमति पाएको छैन । सबैले हेर्न सक्छन् मेरो मेडिकल कलेजको अलपत्र अवस्था । एउटा लगानीकर्तालाई यसरी पहिले अघि बढ् भन्ने अनि सबै पूर्वाधार तयार पारेपछि सञ्चालन अनुमति नदिने ? अनि उल्टै दुष्प्रचार गर्ने ? के मिडियाले कमजोरी औल्याउने हो कि, सिधै न्यायाधीश बनेर कसैलाई अन्यायमा पार्ने हो ?

तपाईंलाई मेडिकल कलेज नै सञ्चालन गर्नुपर्ने कारण चाहि के हो नी ?

– म झापाबासी हुँ । पूर्वञ्चलमा करिब ३० लाख जनसंख्या छ । सिंगै पूर्वाञ्चलमा एउटा पनि मेडिकल कलेज छैन । यो अञ्चलभरिका सबै जिल्लाका विद्यार्थी मेडिकल शिक्षा अध्ययनका लागि राजधानी वा विदेश धाउन बाध्य छन् । म मेची अञ्चलमा पहिलो मेडिकल कलेज सञ्चालन गरेर यहाँका विद्यार्थीलाई घरको दालभात खाएर सस्तोमा पढ्ने अवसर दिनका लागि नै मेडिकल कलेज सञ्चालनमा जुटेको हुँ । मेरो निजी स्वार्थ केही पनि छैन । मैले एक छोरा र एक छोरीलाई डक्टर पढाई सकेँ । अब मेरो सन्तानका लागि मेडिकल कलेज खोल्न खोज्यो भनिन्छ भने त्यो निजीरुपमा मलाई आवश्यक नै छैन । तर, आफ्नो गाउँ–ठाउँमा नै कलेज खोल्न पाए सबैलाई सहज शिक्षाको अवसर प्राप्त हुन्थ्यो भन्ने नै मेरो उद्देश्य र चाहना हो । म जे गर्छु, मेरै देशमा, आफ्नै गाउँमा गर्छु भनेर यतातिर लागेको हुँ ।

अहिले घुमाउरो पारामा नेपाली विद्यार्थीलाई विदेश अध्ययनका लागि पठाउन बाध्य पार्ने जुन खेल भइरहेको छ, मेची अञ्चलमा मैले कलेज सञ्चालन गर्न पाए भने त्यो सबै रोकिन्छ । छिमेकी देशबाट पनि यहाँ विद्यार्थी पढ्न आउँछन् । यसो हुँदा हाम्रो मेडिकल शिक्षामा ठूलो क्रान्ति नै हुन्छ । प्रत्येक नेपालीका लागि अहिले पनि डाक्टर पढ्नु सपना जस्तो छ । हामी त्यसलाई यथार्थ तुल्याउन चाहन्छौं । अर्को कुरा पूर्वाञ्चललाई हामी मेडिकल टुरिजमको हब बनाउन चाहन्छौं । हामीले क्यान्सर अस्पताल शुरु गरेपछि चिनियाँहरुले नजिकै ठूलो क्षेत्रफलमा जमिन किनेर बिरामी ल्याउने पहल थालिसके ।

नेपालसँग सीमा जोडिएको भारतबाट पनि नेपाल उपचार र अध्ययनका लागि राम्रो गन्तव्य बन्न सक्छ । हामी दार्जिलिङ, सिक्किम लगायतका क्षेत्रबाट असंख्य विद्यार्थी र बिरामीलाई आकर्षित गर्न सक्छौं । दक्षिण एशियामा नै हामी सुलभ, सस्तो र स्तरीय शिक्षा दिन सक्छौं । सीमा नाका भएका कारण त्यो सम्भावना पूर्वाञ्चलमा बढी छ । के हामीले त्यसो गर्दा फाइदा हुने नेपालीलाई होइन ? सरकार र रज्यलाई होइन ? हामी जे गर्छौं, राज्यको नीति–नियम र कानून अन्तर्गत रहेर गछौं भने राज्यले हाम्रो उद्देश्य पूरा गर्न सहयोग गर्नुपर्ने होइन र ?

अन्त्यमा, थप केही भन्नुहुन्छ कि ?

– मैले गर्न खोजेको कामको स्थलगत निरीक्षण गरेर सत्य के हो भन्ने कुरा मलाई वा मेरो कामलाई विरोध गर्नेहरुले भनी दिनुहोस् । म गलत छ कि सही भन्ने कुरा अफवाहका भरमा होइन, काम हेरेर मात्रै भनी दिनुहोस् भन्ने अनुरोध छ सबैमा । धन्यवाद ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here