अर्जुनधारा ।

किरात राई यायोक्खा जिल्ला कार्य समिति झापाले स्मारिका प्रकाशन गर्ने भएको छ । कार्तिक ३० गते बसेको बैठकले उक्त निर्णय गरेको समितिले पत्रकार सुसन रुङमाङ राईको संयोजकत्वमा सात सदस्यीय स्मारिका प्रकाशन उपसमिति गठन गरेको छ ।
संस्था स्थापनाको ३० वर्ष पूरा भएको तथा त्यस बीचमा संस्थागत रुपमा भएको गतिविधिहरुको अभिलेखीकरण गर्दै यायोक्खा झापाको दस्तावेजको रुपमा उक्त स्मारिका प्रकाशन गर्न लागेको किराया झापाले जनाएको छ ।
फागुन पहिलो हप्तासम्म प्रकाशन गरिसक्ने लक्ष्य लिएको स्मारिकाका लागि आवश्यक छलफल, अन्तरक्रिया, लेख रचना संकलन तथा आर्थिक संकलनको कार्य भइरहेको संयोजक राईले बताए ।
“किरात राई यायोक्खा झापा स्मारिका २०७६” नाम प्रस्ताव गरिएको स्मारिका प्रकाशनका लागि अनुमानित १० लाख ६० हजार खर्च लाग्ने समितिका सदस्य केडी रार्ईले बताए । स्मारिका प्रकाशन सहयोगार्थ एक हजार भन्दा माथि प्राप्त रकम स्मारिका प्रकाशन सहयोगी भनेर प्रकाशनसँगै एक प्रति स्मारिका र प्रकाशन सहयोगी तर्फ पाँच हजार भन्दा माथि प्रदान गर्ने सहयोगीहरुको फोटो (संक्षिप्त पारिवारीक विवरण)सहित स्मारिकामा प्रकाशनसँगै एक प्रति स्मारिका प्रदान गरिने समितिका सदस्य सुशिल कुमार राईले बताए ।
किराया झापाले ३० वर्षे इतिहास कायम गरिसकेको अवस्थामा पनि हालसम्म कुनै पनि गतिविधिहरुलाई दस्तावेजको रुपमा अभिलेख गर्न नसकिरहेको अवस्थामा यायोक्खा झापाको इतिहासलाई प्रकाशन हुने स्मारिकामा समावेश गरिने किराया झापाका अध्यक्ष इन्द्रमान चाम्लिङले बताए । “प्रकाशित हुने स्मारिका नयाँ पुस्ताहरुको लागि गाइडलाइन हुनेछ”– अध्यक्ष चाम्लिङले थप भनाइ राखे ।
स्मारिकामा झापामा बसोबास गर्ने राई समुदायको इतिहास र वर्तमानको अवस्था, उनीहरुको आर्थिक, सामाजिक, राजनीतिक र शैक्षिक अवस्थासँगै लोक साहित्य, मौलिक सम्पदाहरुको चिनारी, भाषा, परम्परा, भेषभुषालगायतको विषयवस्तु समेटिने संयोजक राईले बताए । किराया झापाको मातहतमा हाल ३७ वटा गाउँ तथा नगर प्रारम्भिक कार्य समिति र पाँच वटा भातृ संगठन सक्रिय अवस्थामा रहेका छन् ।































