विराटनगरमा दाउराले हानेर वृद्धा श्रीमतीको हत्या

0
560

विराटनगर,

विराटनगरका एक वृद्धले दाउराले हानेर सोमबार आफ्नै वृद्धा श्रीमतीको हत्या गरेका छन् । विराटनगर महानगरपालिका–१२ मलंगवाका ७२ वर्षीय परण ऋषिदेवले सिसौको दाउराले प्रहार गर्दा ७० वर्षीया श्रीमती सवुत्री ऋषिदेवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले श्रीमान र श्रमतीबीचमा उत्पन्न भएको विवादका कारण घटना भएको जनाए पनि कस्तो खालको विवाद भन्ने खुलाएको छैन । परणले प्यारालाइसिसका कारण पाँच वर्षदेखि अपांगता जीवन विताइरहेकी श्रीमतीको कम्मरमा दाउराले प्रहार गरेको र त्यही कारण वृद्धाको मृत्यु भएको वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी वेदप्रसाद गौतमले बताए ।

उनकाअनुसार श्रीमतीको हत्या गरेका परणले अत्याधिक मादक पदार्थ सेवन (मापसे) गरेको पाइएको छ । प्रहरीले नियन्त्रणमा लिइएका उनी रक्सीको नसामा थिए । प्रहरीले मापसेका कारण सुरु भएको विवाद हत्यामा पुगेर टुँगिएको जनाएको छ । श्रीमान र श्रीमतीबीचमा दिउँसो झगडा भएको सुनेको स्थानीय बासिन्दाले बताए पनि प्रहरीलाई घटनाका बारेमा साँझ मात्रै खवर आएको थियो । वृद्ध र वृद्धा प्राय मापसे गरेर झगडा गरिरहने स्थानीयले प्रहरीलाई बताएका छन् ।

आफ्नो नाममा केही पनि सम्पत्ति नभएको ऋषिदेव परिवार सुकुम्बासी जीवन विताइरहेको थियो । एउटा सानो झुप्रो घरबाट गुजरा चल्दै थियो । ऋषिदेव दम्पत्तिका तीन छोरा मध्ये अपांगता भएका दुई जनाको बोली आउँदैन । एक जना छोराले ज्यालामजदुरी गरेर परिवार धान्दै आएका थिए ।

प्रहरीले हत्यामा प्रयोग भएको दाउरा बरामद गरेको छ । श्रीमतीको हत्यामा संलग्न वृद्धलाई पक्राउ गर्दै शव पोस्टमार्टमका लागि कोशी अस्पताल लगेर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी गौतमले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here