तितेपातीले स्यानिटाइज गरौँ कोरोना भगाऔँ : तामाङको एक परम्परा

0
910

भुवन तामाङ ।

धेरैलाई थाहा हुनसक्छ कि तितेपाती तामाङहरुका लागि एक महत्वपूर्ण बोटबिरुवा हो । असलमा जीवनशैली हो । विशेषगरि तामाङ साँस्कृतिक, धार्मिक र कर्मकाण्ड संस्कारहरुमा तितेपाती नभइ हुँदैन । तामाङहरुको घरआगन, कोठेबारी या खेतबारीका डिल या काँल्लामा तितेपातीको झ्याङ्ग प्रायशः हुन्छै हुन्छ । घरमा नभए संस्कारका बेला जति टाढा भएपनि खोजेर ल्याउनै पर्छ । तितेपाती बेगर तामाङहरुको जीवनधारा अधुरो हुन्छ ।

संस्कारहरुमा तितेपातीको हाँगासहितका हरिया ताजा पातहरुका झुप्पा स्वच्छ चोखो पानीमा चोबलेर तितेपाती पानीले संस्कार स्थल चोख्याउने गरिन्छ । घरका सबै भाग, आगन, सिकुवा आदि तितेपाती पानीले चोख्याउने गरिन्छ । बारी, गोठ र पशुपंक्षीसमेतलाई तितेपाती पानीले चोख्याउने गरिन्छ । तितेपाती पानीले मानिसहरुलाई पनि चोख्याउने गरिन्छ । वास्तवमा यी सब गर्नुको प्रमुख उद्देश्य अहिलेको भाषामा भन्नुपर्दा स्यानिटाइज गरिनु रहेछ । किटाणु भगाउनु रहेछ ।

तामाङको मृत्यु हुँदा दाहसंस्कारपछि घाटबाट मलामी वापस घरमा आउँदा तितेपाती पानीले मलामीहरुलाई चोख्याउने गरिन्छ । घाटमा रहेकाबेला बाह्य तत्व (भूतप्रेत) लाग्नसक्छ, त्यसलाई तितेपाती पानीले चोख्याएर भगाएको भन्ने विश्वास गरिन्छ तर यसलाई वैज्ञानिक भाषामा भन्नुपर्दा किटाणु जिउमा टाँसिएर आएका भए स्यानिटाइज पो गरिएको हो रहेछ ।

यसका साथसाथै, घाटबाट घरमा आइपुगेपछि, धुपौरो या गमलामा आगोको भरभराउँदो भुँग्रोमा धुप्पी बालेर धुप्पी बलेको आगोको ज्वाला या धुँवाले हात, मुख र जीउ सेक्ने गरिन्छ । यसो गर्नुको उद्देश्य घाट या बाहिर हुँदा मानिसहरुका जीउमा नराम्रा कुरा, किटाणुहरु टाँसिएर आएका हुनसक्छन् भनेर धुपको आगो या धुँवा, तापले नष्ट या भगाउने काम गरिएको हो रहेछ ।

यी विधिहरु मानिसहरुलाई बाह्य तत्वबाट सुरक्षित, स्वच्छ र स्वस्थ राख्नु रहेछ । तामाङहरुले मात्र होइन अन्य थुप्रै जातिहरु जो बुद्धमार्गी छन्, लामा गुरुद्वारा संस्कार गर्दछन् । उनीहरु सबैले तितेपाती अनिवार्य प्रयोग गर्दछन् । लामाले मन्त्रेको तितेपातीले नकारात्मक तत्व हटाइदिन्छ भन्ने विश्वास छ ।

कोरोना भाइरस महामारीको अवस्थालाई ख्याल गर्दै, हालै कृषि तथा वनविज्ञान विश्वविद्यालय चितवनले तितेपाती मिसाएर स्यानिटाइजर उत्पादन गरेको सञ्चारमाध्यमले जनाएका छन् । किटाणु नाशक तत्व भएकाले नै तितेपाती मिसाएर स्यानिटाइजर बनाइएको हुनुपर्छ ।

विविध नेपाली समुदायपिच्छे यस्ता उपयोगी मौलिक चलन, विधि अपनाइ आएका छौँ । तिनको उचित खोज अनुसन्धान हुनु पर्दछ र यस्ता महामारीका बेला काम लाग्दछ । नेपाल जडिबुटी र आयुर्वेदिक औषधिको क्षेत्रमा कहलिएको देश हो । यत्तिखेर यी आयाम कतिको उपयोग गरियो ? यो महत्वपूर्ण प्रश्न र विषय हो । यस्का माध्यमबाट देशले आर्थिक आर्जन गर्न सकिने कुरामा कत्तिको ध्यान पुग्यो त ? यो निक्कै गम्भीर विषय हो र अवसर पनि । सरकारको ध्यान जानु जरुरी देखिन्छ ।

विभिन्न कम्पनीहरुले उत्पादन गरेका रेडिमेड स्यानिटाइजरहरु सबैले सहजरुपमा पाउन सक्ने अवस्था अहिले छैन । त्यसैले विभिन्न घरेलु तथा मौलिक विधि अनाउन सकिने रहेछ । तितेपाती प्रयोग एउटा उदाहरण हो । पुर्खाहरुले परापूर्वकालदेखि चलन गरिल्याएका आस्थाका विषय भएपनि त्यसमा वैज्ञानिक कारण लुकेका होलान् भन्ने आधार देखिन्छन् । तर यी बारे जान्ने सुन्ने, विज्ञहरुले उचित विधिसहित सुझाइदिनु पर्छ । उपयोगी कुरा हाम्रै घरआगन, बारी, पाखामा हुन्छन्, हुँदारहेछन् । त्यसलाई चिनौ, जानौ, संरक्षण गरौँ र नयाँ पुस्तालाई ज्ञान हस्तान्तरण गरौँ । कोरोना भाइरस जस्ता महामारीबाट सबै बचौँ र सबैलाई बचाऔँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here