हवाई सेवा नहुँदा खुम्बुको औषधि काठमाडौमै

0
496

सोलुखुम्बु ।

लकडाउनका कारण सोलुखुम्बुको खुम्बु क्षेत्रका लागि आवश्यक स्वास्थ्य सामग्री काठमाडौँमै रोकिएको छ ।

लकडाउनले हवाई सेवा बन्द हुँदा खुम्बु पासाङल्ह्मु गाउँपालिकाले खरिद गरेको करिब रु सात लाख बराबरको मास्क, पञ्जा, स्यानिटाइजर, पिपिइ सेट, औषधिलगायतका सामग्री काठमाडौँमा थन्किएको गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत विनोद भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिकामा अहिले औषधिलगायतका कोरोना सुरक्षा स्वास्थ्य सामग्री अभाव रहेको छ । पालिकाको सबै वडामा मास्क, स्यानिटाइजर, पिपिइलगायत अन्य औषधिसमेत अभाव हुन थालेको उहाँको भनाइ छ । लकडाउनअघि काठमाडाँैमा सामग्री अभाव भएकाले त्यसपछि खरिद गरिएका कुनै पनि सामग्री ढुवानी गर्न सकिएको छैन ।

खुम्बुमा ढुवानीको एक मात्र सहज माध्यम विकल्प हवाईमार्ग रहेको छ । लकडाउनसँगै देशभरको हवाई सेवा बन्द हुँदा खाद्यान्नसहित स्वास्थ्य सामग्री ढुवानी गर्न नसकिएको भट्टराईले बताउनुभयो ।

यसैबीच खुम्बु पासाङल्ह्मु गाउँपालिका–१ खरिखोलाबाट खुम्बु भित्रिने व्यक्ति बढेको स्थानीयवासीले बताएका छन् । खरिखोला प्रहरी चौकीमा सुरक्षाकर्मी सीमित हुँदा विभिन्न नाका हँुदै गाउँपालिका भित्रिने क्रम बढेको गाउँपालिका प्रवक्ता ल्हाक्पाछिरी शेर्पाले जानकारी दिनुभयो ।

उहाँका अनुसार ११ जनाको दरबन्दी रहेको खरिखोला प्रहरी चौकीमा पाँच मात्रै प्रहरी हुँदा नाकामा कडाइ गर्न नसकिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here