(कथा)
भुवन तामाङ ।
मानिसले बिर्सिरहने कुरा के हो भने, उ आफ्नै धरातलमा हिँड्न बिर्सन्छ । मानिस आफ्नो धरातल छाडेर हवाई सपना देख्न थाल्छ र आफ्नै आँखा अगाडि भएको चिज हराएको पाउँछ । अनि उ सधैँ चिन्तित् भएर भौँतारिरहन्छ, दिग्भ्रमित हुन्छ । परिणाम स्वरुप हराएको कुरा खोज्ने बहानामा आफ्नै र वरिपरिका सबै चिज ध्वस्त पार्दछ ।
अरबको मरुभूमिमा सामान ढुवानी गर्ने एकजना पेशेवर आफ्ना उँटहरुका ढाडमा सामान लादेर मरुभूमि किनारको शहरतिर प्रस्थान भयो । उ पछाडिको एक उँटमा बसेर उँटहरु धपाउँदै रह्यो । यत्तिकैमा उसलाई आशंका भयो कि कतै उँटहरु बाटामा हराएकी ? उसले उँट गन्यो तर दशओटा हुनुपर्नेमा नौवटा मात्र पायो । चिन्तित् हुँदै उ उँटबाट उत्रिएर उँटहरुलाई रोकेर गन्यो । यसपटक भने उसले दशैवटा उँट पायो । उ पुनः उँटमा बसेर उँट धपाउन थाल्यो । निकै टाढा पुगेपछि उसको मनमा पुनः आशंका भयो कि कतै उँट पछाडि छाडिए कि ? उसले उँट गन्यो तर नौवटामात्र पायो । भुइँमा ओर्लिएर उसले उँट गन्यो । उँट दशैवटा थिए । उ विश्वस्त हुँदै उँटमा बसेर यात्रा शुरु गर्यो । शहर नजिक पुग्नै लाग्दा उँट गन्दा नौवटा मात्र पायो । हैरान हुँदै उसले पुनः जमिनमा ओर्लिएर उँट गन्यो । यसरी गन्दा दशवटै पायो ।
पेशेवरले उँट गन्दा पेशेवर स्वयम् बसेको उँट गन्न बिर्सन्थ्यो र एउटा उँट कम पाउँथ्यो । जब उ जमिन अर्थात धरातलमा बसेर गन्थ्यो आफ्ना दशैवटा उँट पाउँथ्यो ।
उँटहरुले व्यापारीका सामान ढुवानी गरिदिएर त्यो पेशेवरलाई राम्रो आम्दानी गराइदिएका थिए । त्यति धेरै गुन लाउँदा पनि पेशेवर भारी लादिएकै उँटमाथि चढ्दथ्यो । उँटहरु भारीसहित मरुभूमिमा हिँडन् सक्छन् भने पेशेवर रित्तै कसरी हिँड्न नसक्ने हुन्छ ? पेशेवरले आफ्नो धरातल बिर्संदा उ भ्रमको शिकार भयो । धरातलमा हुँदा भ्रम मुक्त भयो र आफ्ना सबैकुरा सहीसलामत पायो ।
संसारका मानिसहरुले आफ्नो धरातल कहिल्यै बिर्सनु हुन्न भन्ने यो इरानी कथाको सन्देश हो । संसारका आजका मानिसहरु आआफ्ना धरातल बिर्संदैछन् । हवाई सपनामा डुबेर, आफ्ना कुरामात्र ठीक र अगाडि हुनुपर्छ भन्ने होडमा दौडँदै, आफ्ना चिज खोज्दा प्रत्येक पटक हराएको पाउँदैछन् । सन्दर्भ आजभोलिकै कुरा । कोरोना भाइरस संक्रमणले संसारका मानिसहरु तहसनहस हुँदैछन् तर मानिसहरु आफ्ना धरातल बिर्संदैछन् । त्यै भएर दिग्भ्रमित हुँदैछन् र आप्mना चिजहरु हराएका पाउँदैछन् । अनि बिक्षिप्त भएर एकअर्कालाई दोष लगाएर लडाइँमा उत्रँदै छन् । परिणाम स्वरुप संसारका मै हुँ भन्ने मानिसहरु पनि कोरोना भाइरससँग लड्ने सही उपाय हराएको पाइरहेका छन् ।
विश्वका मानिसहरु आआफ्नै धरातलमा उभिएर हेरुन् त कोरोना भाइरसलाई पराजित गर्ने सटिक र भरपर्दो सुन्दर उपाय आफ्नै अगाडि पिरामिड जस्तै आँखाभरी उभिएको पाउनेछन् ।



























