धान दिवसको सार्थकता

0
1056

रत्नबहादुर बस्नेत,

आज असार १५। मानो खाएर मुरी उब्जाउने समय भनेकै असार हो । अर्थात् असार १५ वर्षाको मध्य र कृषिकर्मको उत्कर्षको समय हो । कृषिकर्ममा आश्रित परिवारका लागि असार १५ को बेग्लै महत्व छ । निर्झर झरीले कोमल माटोमा खनजोत गरेर, हिलो कुहाएर, रुझ्दैभिज्दै गरिने कृषिकर्म धर्ती पुत्रका लागि सर्वाधिक पुज्य हुन्छ । गाउँ नै गाउँले भरिएको देश नेपाल अनि बहुसंख्यक नेपाली कृषिकर्म मै भरपर्ने कारणले यो महिनाको पनि असार १५ को सांस्कृतिक पहिचान पनि बेग्लै छ । त्यही भएर पनि कैंयौ कविहरुले असारको रोमाञ्चकतालाई गीत कवितामा उतारेका छन् भने गायकले स्वर र संगीतमा रुपान्तरण गरेर यसलाई थप उल्लासमय बनाएका छन्।

यही दिन नेपाली समाजमा दहीचिउरा खाने विशेष प्रचलन छ । त्यसो त यो खाजाको नियमिततामा पर्छ नेपालीका लागि । तर, आजका दिन ढिकीओखलमा कुटेको चिउरा, घरमै जमाएर बनाइएको दही र कतै पाकेका आँप मिसाएर खाने चलन छ । जसलाई विज्ञानका दृष्टिले समेत घामपानीमा रुझेको शरीर र मनलाई शान्ति दिने र त्यसको असरको प्रतिरोध गर्ने उत्तम खुराक मानिन्छ । हाम्रा बाह्र महिनाका अलग–अलग महत्व र विशेषता छन् । ती मध्ये असार कृषिप्रधान देश भएकाले हाम्रा लागि नव सृजनाको महिना र महत्वको पर्वकै रुपमा लिइन्छ । पहिला पहिला त आजको दिन रानी पनि खेत रोप्न जान्छिन् भन्ने गरिन्थ्यो । यसो भन्नुको तात्पर्य पनि सृजनालाई सबैले सम्मान गर्नुपर्ने र अन्य नामको ऐश्वर्यको महत्व कति छ भन्ने सन्देश दिन खोजिएको हुनसक्छ ।

पछिल्लो समय असार १५ लाई धान दिवसको रुपमा समेत मनाउन थालिएको छ । धान नेपालको प्रमुख कृषि उत्पादन हो । हाम्रा परम्परागत धान र कृषिकर्मको विधि विस्थापनको संघारमा छ । आधुनिकीकरणले काठको हलो, जुवा, हल्लुंड, जोतारो, गोरु, रांगा लोप हुन थालेका छन् । धान दिवसले पनि आधुनिकीकरण, बजारीकरण र व्यवसायीकरणमा जोड दिएको छ । यसले गर्दा विस्थापनमा पुगेको परम्परागत कृषि कर्म फेरिंँदै नव पुस्तासम्म आइपुग्दा खेतीको विकल्प खोज्न थालिएको छ । सरकारले प्रत्येक वर्ष कृषिमा आधुनिकीकरण र व्यवसायीकरणको नीति सार्वजनिक गर्छ । अब त स्थानीय तहले समेत भावी कार्यक्रम बनाउँछन् जहाँ कृषिलाई प्राथमिकतामा राखिन्छ । तर, त्यसले कृषिकर्मलाई सेवा, पूजा र धर्म ठान्ने कृषकका मुहारमा थोरै पनि कान्ति दिन सकेको छैन । सायद यसको उदाहरण हो कि दूग्ध व्यवसाय गर्ने किसान नदीमा दूध पोख्न बाध्य छन्, तरकारी उत्पादकहरु खाडलमा पुर्न र चिया किसानहरु सडकमा फाल्न विवश छन् ।

अझ अहिले त सरकारले कृषिमा अत्याधुनिक कार्ययोजना अख्तियार गरेको छ । विशेष जोन छुट्याएर ठूलो अक्षरमा प्रचार पनि गर्छ । किसानलाई अनुदान, प्राविधिक सेवा तथा आधुनिक उपकरण वितरण गर्नेसम्मको सस्तो नारा पनि लगाउँछ । तर, किसान भने समयमा नभइनहुने बीऊबिजन र मलखाद नपाएर हैरान छन् । एक बोरा मलका लागि महिनौं कुर्नुपर्ने र त्यो पनि नपाउने अवस्थाका किसानको पीडामा चिप्ला भाषणले नुनचुक छर्किने काम गर्छ ।

कृषि कर्म गर्न योग्य र सक्षम युवाशक्ति रेमिट्यान्सको लोभमा विदेश पठाइन्छ । आवश्यक जनशक्तिको अभावमा ऐश्वर्य फलाउने जमिन बाँझै बस्छ । परिणाम हामी प्रत्येक वर्ष आयातमुखी र परनिर्भर देशमा रुपान्तरित हुँदैछौं । यस्तो बेला पर्न आएको असार १५ को बिशेष दिनले सरकारमा बस्ने, जनप्रतिनिधि हौं भन्ने र समाज रूपान्तरण गर्छौं, भन्नेहरुलाई बुद्धि दिओस्, असार पन्ध्रको सबैलाई शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here