सम्पादकीय
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणको जोखिम यथावत रहेको भन्दै उच्च सावधानी अपनाउन अनुरोध गरिरहेको छ । सम्बद्ध र सदस्य राष्ट्रहरुको स्वास्थ्य क्षेत्रको अभिभावकीय भूमिका निर्वाह गर्दै आएको विश्व स्वास्थ्य संगठनले कोरोनाका विषयमा विशेषज्ञहरु मार्फत खोज, अनुसन्धान तथा अनुगमन समेत गरिरहेको छ । यसै सन्दर्भमा पछिल्लो पटक कोरोना भाइरस हावाबाट पनि सर्न सक्ने तथ्य सार्वजनिक गरेको छ । जसका कारण उसैले निर्धारण गरेको लकडाउनको मापदण्ड विपरीतका गतिवधि हुन थालेकोले यसको विस्तारको जोखिम पनि उच्च रहेको छ । परीक्षण दर दिनहुँ घट्दै गएकोले कोरोना भाइरस समुदायमा फैलिने डर पनि त्यत्तिकै छ ।
स्वास्थ्य मन्त्रालयले प्रतिदिन दश हजार पीसीआर परीक्षण गर्ने भनेकोमा सो संख्या घट्नेक्रममा छ । यसले गर्दा एकातिर परीक्षण नभई कोरोना समुदायमा फैलिने र अर्कोतिर आवश्यक सुरक्षा सावधानी र सतर्कता नअपनाउँदा परिणाम भयावह बन्ने अवस्था आएको छ । यही बेला लकडाउनको मापदण्ड विपरीत प्रधानमन्त्री केपी ओलीका पक्षमा जुलुस, ¥याली र भेला हुन थालेको छ । यसले सडक सुरक्षामा खटिएका प्रहरीहरु नै संक्रमणको उच्च जोखिममा छन् । यस बाहेक सडकमा निस्किएका प्रधानमन्त्रीका समर्थकहरुका माध्यमबाट समुदाय समेत संक्रमणमा पर्न सक्ने डर त्यत्तिकै छ ।

विश्व स्वास्थ्य संगठनकै सुझाव अनुसार लागू गरिएको लकडाउनको अवधि पूरा हुन अब दुई हप्ता बाँकी छ । स्वास्थ्य मन्त्रालय, चिकित्सक तथा विज्ञहरु अझै घर बाहिर ननिस्कन अनुरोध गरिरहेका छन् । सरकारले लकडाउन खुकुलो पारेको छ, सडकमा सवारीको चाप पनि बढ्दो छ, कार्यालयहरु खुलेका छन् । व्यापार–व्यवसाय, उद्योगधन्दा, हाटबजार क्रमशः ‘लय’ मा फर्किदैछन् । सामाजिक दूरीको पालना हुन छाडेको छ । सर्वसाधारण मास्क नलगाई हिँडडुल गर्न थालेका छन् । यस्तो अवस्थाले संक्रमण व्यापक हुनसक्ने भन्दै गृह मन्त्रालयले मास्क नलगाई सडक र सार्वजनिक ठाउँमा नजान अनुरोध गरेको छ भने प्रहरीलाई असुरक्षित हिँड्नेलाई कारवाही गर्न निर्देशन दिएको छ ।
यो परिस्थिति विश्वकै लागि विषम हो । कतिपय ठूला, समृद्ध देशहरुले खुल्ला गरेको लकडाउन फेरि कडाइका साथ लागू गर्न थालेका छन् । हाम्रोमा भने सरकार समर्थक जुलुस, ¥यालीले सडक छोप्न थालेको छ । यसले कोरोना भाइरसको भय मानिसको मनमष्तिस्कबाट हटेको आभाष हुँदैछ । अझ खुकुलिएको लकडाउन पछि राजधानी काठमाडौंमा संक्रमितहरु दिनहुँ थपिने क्रममा रहेकाले जनघनत्व बढी हुने ठाउँहरु झनै जोखिममा पर्न सक्ने खतरा देखिएको छ । त्यसैले पनि सरकार प्रहरी वा अरु कसैका लागि होइन आफ्नो जीवनको सुरक्षामा स्वयम् सचेत हुनुपर्छ, प्रत्येकलाई चेतना होस्




























