संघीयता र राज्य पुनसंरचना बारे प्रष्ट हुन सुझाव

0
562

Binord
एकराज गिरी
बिर्तामोड, भदौ २३। संघीयता र राज्य पुनर्संरचनाका आधारभूत विषयमा सहमति गरी सबैको सहभागिता हुने गरी निर्वाचनको वातावरण बनाउन अब दलहरुले आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने शनिवार झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका सहभागी नागरिक समाज, महिला तथा युवा नेताहरुले सुझाव दिएका छन् ।
संवाद समूहको सचिवालयको संयोजनमा भएको छलफलमा असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याएर शान्त, निष्पक्ष निर्वाचन सम्पन्न गर्ने दिशामा मुख्य दलहरु केन्द्रित हुनुपर्ने कुरामा जोड दिइयो ।
अघिल्लो संविधानसभा असफल हुनुको वास्तविक कारण पहिचान गरेर त्यसबारे आम नागरिकलाई बुझाउँदै यसअघि सहमति भएका विषयलाई संस्थागत गरी बाँकी विषयमा गम्भीर छलफल गर्न समेत दलहरुलाई झापाली नागरिकले सुझाव दिएका छन् । दलहरुले निर्वाचन बारेको अन्यौलता हटाउन र दोस्रो संविधानसभाबाट संविधान बन्छ भन्ने कुरा ग्यारेण्टी गर्न संघीयता, राज्यको पुनसंरचना, शासकीय स्वरुप, आर्थिक–सामाजिक क्रान्तिका विषयलाई प्रष्ट ढंगले जनता समक्ष प्रस्तुत गर्न सक्नुपर्ने पनि झापाली नागरिक समाज, महिला तथा युवा नेताको जोड छ । असन्तुष्ट दलहरुलाई चुनावमा ल्याउन र दोस्रो संविधानसभालाई सफल बनाउन देखिएका अस्पष्टता र असमझदारी हटाउन गोलमेच सम्मेलन उत्तम विकल्प रहेको समेत उनीहरुले औल्याएका छन् । गोलमेच सम्मेलन अर्थात सर्वपक्षीय सम्मेलनले मात्र सहमति र सहकार्यको वातावरण बनाइ जनताको संविधान बन्ने अवस्था सृजना गर्ने उनीहरुको तर्क छ । चुनावको चर्चा चुलिदै गएका बेला संघीयता र शासकीय स्वरुपको बारेमा प्रत्येक दलले आ–आफ्नो धारणा प्रष्ट रुपमा ल्याउन दलका स्थानीय तहबाट दबाब सृजना गर्नुपर्ने धारणा समेत सो अवसरमा राखिएको छ । नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष छत्र पौडेल, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष मदन गोपाल सुब्बा, चारपाने नागरिक समाजका अगुवा देवीप्रसाद गिरी, झापा उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष बलराम कार्की, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सिनेटर भेषराज भण्डारी प्रशान्त, महिला दबाब समूहकी अध्यक्ष शारदा रिजालले छलफलमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।
त्यसैगरी महिला नेतृहरु लक्ष्मी न्यौपाने सरु, उमा शिवाकोटी, जसमाया गजमेर, युवा तथा विद्यार्थी नेताहरु अभय राजवंशी, अग्नि दाहाल, महेन्द्र भट्टराई, नवीन ढुंगाना, नरेश सञ्जेल, खगेन्द्र पराजुलीले चुनावमा युवा परिचालन गर्ने भन्ने दम्भ दलहरुले त्याग्नु पर्ने बताउनुभयो । छलफलको सहजीकरण संवाद समूहका कार्यक्रम संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई र अधिवक्ता खगेन्द्र खरेलले गर्नुभएको थियो ।
वन महासंघका अध्यक्ष छत्र पौडेलले युवा फोर्स, सेना परिचालनको कुराले त्रास सिर्जना गर्ने भन्दै भयरहीत र निष्पक्ष चुनाव हुन्छ भनेर नागरिक शिक्षाको कार्यक्रम सञ्चालनतर्फ दलहरु केन्द्रित हुनुपर्ने बताउनुभयो ।
रेडक्रसका सभापति लोकराज ढकालले विगतका कमजोरी स्वीकार्दै नदोहो¥याउने प्रतिबद्धता व्यक्त गरी चुनावको वातावरण बनाउन दलहरु प्रयत्नशील हुनुपर्ने बताउनुभयो ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष मदन गोपाल सुब्बाले चुनावमा पैसाको चलखेल रोक्न र यदि पाइए कार्वाही गर्ने ग्यारेण्टी गर्नुपर्ने बताउँदै उपभोक्ता मैत्री संविधान बन्नुपर्नेमा जोड दिनुभयो ।
जेसीजका राष्ट्रिय उपाध्यक्ष प्रशान्त भण्डारीले विधिको शासनमा केन्द्रित भइ दलहरुले सहमतीय राजनीतिको सुरुवात गर्नुपर्ने बताउनुभयो ।
कोचिला गाभुर फ्रन्टका निर्वतमान अध्यक्ष अभय राजवंशीले नेपाललाई सबै जाति भाषीको मुलुक बनाउन सबैको आवाज सुन्नु पर्ने बताउँदै निर्वाचनमैत्री चेतनाको कार्यक्रम ल्याउनुपर्ने सुझाव दिनुभयो ।
बाणिज्य संघका अध्यक्ष बलराम कार्कीले दलहरुले घोषणा पत्रमै मुलुकको आर्थिक क्रान्तिको प्रष्ट खाका कोर्न सक्नुपर्ने बताउनुभयो ।
अनेरास्ववियूका जिल्ला अध्यक्ष नवीन ढुंगानाले संविधानसभाको चुनावमा प्रतिपक्ष कोही नहुनेतर्क गर्दै सबै चुनावमा आउनुपर्ने, स्थीर सरकारको पक्षमा अघि बढ्नुपर्ने, आरक्षणको विषयमा बैज्ञानिक छलफल गर्नुपर्ने बताउनुभयो ।
नेकपा–माओवादीका युवा नेता खगेन्द्र पराजुलीले चुनावअघि सहमतीय राजनीतिक प्रणालीको सुरुवात गर्नुपर्नेमा दलहरुले प्रमुख ध्यान दिनुपर्ने बताउनुभयो ।
राष्ट्रिय युवा जनस्वयम्सेवकका जिल्ला अध्यक्ष नरेश सञ्जेलले देशलाई झडपको स्थितिबाट जोगाउन गोलमेच सम्मेलन गर्नुपर्ने बताउनुभयो ।
अनेरास्ववियू क्रान्तिकारीका अग्नि दाहालले विदेशमा बस्ने नेपालीलाई पनि चुनावमा भाग लिने वातावरण सृजना गर्नुपर्ने, उम्मेद्वार चयन गर्दा प्रत्यक्षतर्फ नै समानुपातिक र समावेशी बनाउनुपर्ने बताउनुभयो ।
नेविसंघकी पूर्व केन्द्रीय सहमहामन्त्री उमा शिवाकोटीले दलहरुले धम्कीको भाषा त्याग्नुपर्ने बताउँदै चुनावमा योग्य उम्मेद्वार र ३३ प्रतिशत महिलाको सुनिश्चितता गर्नुपर्ने बताउनुभयो ।
महिला दबाब समूहकी शारदा रिजालले प्रत्यक्ष निर्वाचनबाटै महिला निर्वाचित गर्ने वातावरण बनाउन आग्रह गर्दै महिला र बालहिंसाविरुद्ध कडा कानून ल्याउनुपर्नेमा जोड दिनुभयो ।
नागरिक समाजका देवीप्रसाद गिरीले नेताहरु दलका मात्र होइन, देशको र आम नागरिकको बन्न सक्नुपर्ने बताउँदै शान्तिपूर्ण वातावरणले मात्र संविधान बन्न सक्ने हुँदा अन्यौलता र त्रासको बातावरण हटाउन दलहरु लाग्नुपर्ने बताउनुभयो ।
दलित महिला नेतृ जसमाया गजमेरले समानुपातिक र समावेशी उम्मेद्वार बनाउनुपर्नेमा जोड दिँदै जसको सवाल त्यसकै नेतृत्वको वातावरण बनाउन आग्रह गर्नुभयो ।
एकीकृत माओवादीकी लक्ष्मी न्यौपाने सरुले जुन विन्दुमा संविधानसभाको विघटन भयो त्यही विन्दुबाट संविधान निर्माणका आधारभूत अन्तरवस्तु बारे छलफल र सहमति गरेर चुनावमा जानुपर्ने बताउनुभयो ।
अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य महेन्द्र भट्टराईले दलहरु प्रष्ट रुपमा संघीयता पक्षधर र विपक्षी बनी उभिएर जनता माझ भोट माग्नुपर्ने बताउनुभयो ।