युवा दस्ता परिचालनलाई निरुत्साहित गर्न झापाका राजनीतिक दलहरु सहमत

0
331

बिर्तामोड, भदौ २६। संविधानसभाको दोस्रो निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष, भय र धाधलीरहीत बनाउन युवा दस्ता परिचालनलाई निरुत्साहित गर्न झापाका राजनीतिक दलहरु सहमत भएका छन् ।
संवाद समूहको सचिवालय बिर्तामोडको संयोजनमा बुधबार भएको छलफलमा संवाद समूहका सदस्यहरु समेत रहेका जिल्लाका राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरुले युवा दस्ता निर्माणको कार्यलाई तत्काल रोक्नुपर्ने पनि बताएका छन् । चुनावलाई सफल बनाउन युवा दस्ताको सट्टा सहयोगी भूमिका निर्वाह गर्न सीमित संख्यामा स्वयम्सेवी समूह बनाएर त्यसका लागि निश्चित एरिया तोकिदिनु पर्ने सुझाव समेत दलका नेताहरुले दिएका छन् ।
चुनावको घोषित मिति नजिकिदै जाँदा असन्तुष्ट दलहरुलाई चुनावमा सहभागी गराउन, मतदाता शिक्षालाई गाउँ–गाउँसम्म पु¥याउन तथा संघीयता र राज्य पुनःसंरचनाको विषयमा प्रष्ट रुपले अघि बढ्न दलहरु केन्द्रित हुुनुपर्ने समेत झापाली नेताहरुले जोड दिएका छन् ।
संविधानसभाको दोस्रो चुनावको सन्दर्भमा भएको छलफलमा दलहरु नागरिकका अधिकार ग्यारेण्टी गर्ने विषयमा अघि बढ्नुपर्ने, चुनावलाई सफल पार्न दलहरुबीच आपसी सद्भाव र हार्दिकताका लागि सहमति बन्नुपर्ने र सबै दलको सहभागितामा मात्र चुनाव सार्थक हुने धारणा समेत झापाली नेताहरुले अघि सारेका छन् ।
संवाद समूहका सदस्यहरु नेपाली कांग्रेसका नेता सुधिरकुमार शिवाकोटी, एकीकृत नेकपा माओवादीका नेता सीपी कडरिया, नेकपा एमालेका जिल्ला अध्यक्ष रवीन कोइराला, शान्ति समितिका संयोजक एवम् सद्भावना पार्टीका अध्यक्ष सूर्य नारायण गणेश, तमलोपाका जिल्ला अध्यक्ष त्रिनारायण राजवंशी, संघीय समाजवादीका जिल्ला इञ्चार्ज विश्वदीप लिङ्देन, मधेशी जनाअधिकार फोरमकी जिल्ला कोषाध्यक्ष संगीता रौनियार, नेकपा मालेका सचिव नवराज खरेल, संघीय लिम्बुवान राज्य परिषद्का महासचिव टेकबहादुर खजुमले निर्वाचनको विकल्प नरहेको धारणा राख्दै त्यसलाई सबै दलको सहमति र सहकार्यमा सफल पार्न जुट्नुपर्ने बताउनुभयो । नेकपा–माओवादीका जिल्ला इञ्चार्ज डिल्ली घिमिरे हिक्मत, मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्का भक्तबहादुर मेयाङ्वो, धनबहादुर पन्धाङ्क सुब्बा र नगेन राईले दलहरुले गरेका गल्तीलाई सच्याउनुपर्नेमा जोड दिँदै सार्थक चुनाव गर्न सबैको सहभागिता आवश्यक रहेको र त्यसको लागि वातावरण बनाउन आग्रह गर्नुभयो । छलफलको सहजीकरण संवाद समूहका कार्यक्रम संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई र अधिवक्ता खगेन्द्र खरेलले गर्नुभएको थियो ।
कांग्रेस नेता सुधिरकुमार शिवाकोटीले दलहरुले संघीयता लगायतको विषयमा प्रष्ट धारणासहितको घोषणापत्र जनतामाझ चाँडो पु¥याउनुपर्ने, दलहरुबीच समन्वय र हार्दिकताका लागि सहमति हुनुपर्नेमा जोड दिँदै निर्वाचनलाई भय र धादलीरहीत बनाउन दलहरुले प्रतिबद्धता जनाउनुपर्ने बताउनुभयो । दलहरुले बनाएका दस्ताहरु नै झगडा गरेर चुनाव विथोल्ने आशंका उत्पन्न भएकाले त्यस्तो कार्य तत्काल रोक्नुपर्ने शिवाकोटीको धारणा छ ।
एकीकृत नेकपा माओवादीका सीपी कडरियाले द्वन्द्वकालका मुद्दा व्यूँताइए निर्वाचनमा प्रमुख चुनौति खडा हुने बताउँदै चुनाव सफल पार्न सबै केन्द्रित हुनुपर्ने र त्यसका लागि राजनीतिमा अपराधिकरण रोक्नुपर्नेमा जोड दिनुभयो ।
एमालेका जिल्ला अध्यक्ष रवीन कोइरालाले निर्वाचन गरी बर्तमान मन्त्रिपरिषद्को वर्हिगमन गर्न सबै जुट्नुपर्ने तथा राष्ट्रिय एकताका पक्षमा साझा पहिचानयुक्त कुरा अघि बढाउँदै संघीयता र राज्यको पुनःसंरचना बारे प्रष्ट धारणा राख्नुपर्नेमा जोड दिनुभयो । मुख्य दलका शीर्ष नेतहरुलाई जिताउन तालमेल भए चुनावमा अझ सहजता आउने बताउँदै उहाँले राजनीतिमा अपराधीकरण गर्ने कुरा निषेध गरेर युवा दस्ता गठनलाई सबै दलले स्थगित गर्नुपर्ने, बरु स्वयम्सेवी समूह बनाउनुपर्ने सुझाव दिनुभयो ।
नेकपा–माओवादीका डिल्ली घिमिरे हिक्मतले अघिल्लो संविधानसभा असफलताको कारण पहिचान गरेर जनतामाझ लैजानुपर्ने बताउँदै सबैको संविधानसभा बनाउन सहभागिता पनि सबैको आवश्यक परेकाले गोलमेच सम्मेलनमार्फत तत्काल देखिएका समस्याहरु व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । संविधानसभालाई सार्थक बनाउन चुनाव अगाडि नै दलहरुबीच महत्वपूर्ण विषयमा सहमति हुनुपर्ने बताउँदै हिक्मतले त्यसो नभए चुनाव हुन नसक्ने र जसरी पनि रोक्ने चेतावनी दिनुभयो ।
सद्भावना पार्टीका सूर्यनारायण गणेशले सबैको सहभागितामा चुनाव सम्पन्न गर्न सबै दल एकै ठाउँमा बसेर सहमतिका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।
तमलोपाका त्रिनारायण राजवंशीले चार दलीय सेण्डीगेट सहमतिको बाध क रहेको बताउँदै बहुपहिचान र एकल पहिचानको मुद्दामा संघीयता अड्किएकोले एकल पहिचानमा सहमति गरेर जानुपर्ने बताउनुभयो ।
फोरम नेपालकी संगीता रौनियारले चुनाव सत्ताको खेल मात्र बन्नु नहुने धारणा राख्दै शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न गर्न सबै दलको सहभागिता अनिवार्य रहेको र युवा दस्ता र गैरकानूनी हतियारलाई पूर्ण प्रतिबन्ध लगाउनुपर्ने बताउनुभयो ।
नेकपा मालेका सचिव नवराज खरेलले चार दलीय सेण्डीगेट र युवादस्ता चुनावको बाधक भएको बताउँदै चुनाव गर्न सहमति आवश्यक रहेको बताउनुभयो । उहाँले संक्रमणकाल लम्बिए भूमिगत संगठनहरु मौलाउने बताउनुभयो ।
संघीय समाजवादीका विश्वदीप लिङ्देनले असन्तुष्ट दलहरुको सहभागितामा मात्र संविधान सभा वैध हुने र मुलुकलाई निकास दिन दलहरुबीच निरन्तर छलफल हुनुपर्नेमा जोड दिनुभयो । लिङ्देनले दलहरुबीच लोकतान्त्रिक संस्कार, मूल्य र मान्यताको राजनीतिक संस्कार विकास गर्न नेतृत्वलाई दबाब दिनुपर्ने धारणा समेत राख्नुभयो ।
संघीय लिम्बुवान राज्य परिषद्का महासचिव टेकबहादुर खजुमले पहिचानसहितको संघीयता मुलुकको आवश्यकता भएको बताउँदै दलहरुबीचको लोकतान्त्रिक आचरणले मात्र धाधलीरहीत चुनाव हुने धारणा राख्नुभयो ।
संघीय लिम्बुवान राज्य परिषद् परिषद्का भक्तबहादुर मेयाङ्वो, धनबहादुर पन्धाङ्क र नगेन राईले गोलमेच सम्मेलनमार्फत संघीयता र राज्य पुनसंरचना लगायतका विषयमा सहमति गरेर चुनावमा जानुपर्ने, चुनाव सफल पार्न युवादस्ता परिचालन कसैले पनि गर्न नहुने धारणा राख्नुभयो । यदि आफूहरुको माग पूरा नभए चुनावको सशक्त बहिष्कार गर्ने उहाँहरुको धारणा थियो ।sambad