युएईमा शनिबारदेखि दर्शकरहित आईपीएल

0
640

केशव अधिकारी /युएई ।

वहुचर्चित क्रिकेट प्रतियोगिता ईण्डियन प्रिमियर लिग (आईपीएल) शनिबारबाट संयुक्त अरब इमिरेट्स (युएई)मा सुरु हुँदैछ । आवुधाबीस्थित शेख जायद रङ्गशालामा प्रतियोगिताको उद्घाटन खेल हुन लागेको हो । २० ओभरको आईपीएल क्रिकेट सन् २००८ देखि हरेक वर्ष सञ्चालन भइरहेको छ ।

तर, कोरोना महामारीका कारण यसपटकको आइपीएल हेर्नका लागि दर्शक रङ्गशालामा जान पाउने छैनन् । दर्शकले घरैमा बसेर टिभीमा आइपीएल हेर्नेछन् । कोरोनाकै कारण भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले यसपटकको आईपीएल युएईमा गर्ने निर्णय गरेको थियो ।

त्यसो त, भारतबाहिर पहिलो पटक आईपीएल हुन लागेको यो पहिलो पटक भने होइन । यसअघि पनि युएई र दक्षिण अफ्रिकामा आईपीएल भइसकेको छ । यसपटकको आईपीएल आयोजना गर्न श्रीलंकाले पनि इच्छा देखाएको थियो । तर, युएईमा प्रतियोगिता गर्दा सुरक्षित हुने बीसीसीआईले ठहर ग¥यो ।

लेगस्पिनर सन्दीप लामिछानेले सन् २०१८ बाट आइपीएलमा सहभागिता जनाएयता नेपालमा पनि यस प्रतियोगिताका लाखौँ दर्शक छन् । सन्दीप यसपटक पनि दिल्ली क्यापिटल्सबाटै आइपीएलमा देखिनेछन् । क्यारेबियन्स प्रिमियर लिग (सीपीएल) क्रिकेटमा सहभागिता जनाएर सन्दीप वेष्ट इण्डिजबाट सोमबार युएई आइपुगेका छन् ।

उद्घाटनमा मुम्बई र चेन्नईको भिडन्त

यस सिजनको आइपीएलको उद्घाटन खेलमा शनिबार मुम्बई इण्डियन्स र चेन्नई सुपर किङ्ग्स भिड्दैछन् । मुम्बई सन् २०१९ को आईपीएलको विजेता र चेन्नई उपविजेता टोली हो । मुम्बई रोहित शर्माको कप्तानीमा मैदान उत्रनेछ भने चेन्नईको कप्तानी महेन्द्रसिंह धोनीले गर्नेछन् । उद्घाटन खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ ।

रोहित शर्माको टोली मुम्बईले यसअघि ४ पटक आईपीएलको उपाधि जितिसकेको छ । यसकारण उनी आईपीएलका सर्वाधिक सफल कप्तान हुन् । उता धोनीले पनि आफू नेतृत्वको चेन्नईलाई तीनवटा आइपीएलको उपाधि दिलाएका छन् । धोनीले भर्खरै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए पनि उनी यसपटकको आइपीएल भने खेल्नेछन् ।

सचिन तेन्दुलकरको अभिभावकीय छहारी पाएको मुम्बई इण्डियन्समा रोहित शर्मा, हार्दिक पाण्ड्या, जसपित बुम्राह, केरोन पोलार्ड, क्वीन्टन डिकक, ट्रेन्ट बोल्ट जस्ता क्रिकेटर छन् । चेन्नईसँग धोनी, ड्वाएन ब्राभो, डु प्लेसिस, शेन वाट्सन, रविन्द्र जडेजा, अम्बाती रायडु, पियुस चावला लगायत खेलाडी छन् । पारिवारिक कारण देखाउँदै चेन्नईका खेलाडी सुरेश रैना र हरभजन सिंहले यसपटकको आइपीएलबाट नाम फिर्ता लिएका छन् ।

यस्तो अवस्थामा चेन्नईले आफ्नो पुरानो रफ्तारको खेल प्रदर्शन गर्न नसक्ने आँकलन पनि गर्न थालिएको छ । यद्यपि, विश्वकै सफल कप्तानमध्येका एक मानिने महेन्द्रसिंह धोनीले टोलीलाई हाँकिरहेकाले चेन्नईका समर्थकमा आशा भने कायमै छ ।

युएईका तीनवटा रङ्गशालामा आइपीएल खेलाइने भएको छ । खेलहरु शेख जायद रङ्गशाला आवुधाबी, दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला र सारजाह क्रिकेट रङ्गशालामा सञ्चालन हुनेछन् ।

आइपीएलमा चेन्नई सुपर किङ्ग्स, दिल्ली क्यापिटल्स, किङ्ग्स–११ पञ्जाब, कोलकाता नाइट राइडर्स, मुम्बई ईण्डियन्स, राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबाद गरी कुल आठवटा टोलीले सहभागिता जनाउँदै आएका छन् ।

यसपटकको आईपीएल विजेताले १० करोड र उपविजेता टोलीले ६ करोड २० लाख भारतीय रुपैयाँ पाउनेछ । यसैगरी तेस्रो र चौथो स्थानमा रहने टोलीले समान चार करोड ३७ लाख भारु पाउने उल्लेख छ । गत वर्षको तुलनामा यसपटक ५० प्रतिशत विजेता धनराशि घटेको छ । सन् २०१८ र २०१९ को विजेताले २० करोड र उपविजेताले साढे १२ करोड भारु पाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here