
म सानो छँदादेखि नै गाउँघरका ज्येष्ठ नागरिक तथा धार्मिक कार्य गरेर जीविकोपार्जन गर्ने पण्डित, पुरोहितहरुले भन्ने गरेको मानिस मरेपछि स्वर्ग वा नर्कमा जान्छ भन्ने कुराले मनको कुनामा स्थायी डेरा गरेर बसेको थियो । अझ उनीहरुले भने जस्तो पुण्य गरे स्वर्ग जाने बाटो भेटिन्छ र पाप गरे नर्क जाने भन्ने विषयले त मेरो जीवनको सबै पाटोमा शासन नै गरेको थियो ।
मानिसको मृत्युपछि उसले जीवनभर गरेको पाप र पुण्यको लेखाजोखा चित्रगुप्तले गरेपछि पापकोभन्दा पुण्यको पल्ला भारी भएमा स्वर्ग जाने र उल्टो भए नर्क जाने कुराको प्रसङ्ग बुवाका नियमित पुरोहितबाट हरेक पटकको जजमानी गर्न घरमा आउँदा सुनाउनु हुन्थ्यो । त्यस्तै हजुरबा र हजुरआमाले पनि धेरै पटक स्वर्ग र नर्कका विषयमा शास्त्र र विभिन्न धार्मिक पुस्तकमा लेखिएका कथा र कहानीको वाचन गरेर घरमा सुनाउनु हुन्थ्यो । यस्तै वातावरणमा हुर्किएको मेरो बाल्यकालमा भर्खर–भर्खर गाउँघरमा ब्याट्रीबाट चल्ने सादा टेलिभिजन भित्रिएको थियो । त्यो पनि एउटा गाउँमा हुनेखानेका एक दुई घरमा मात्र हुन्थे । अनि त्यो बेला भारतीय राष्ट्रिय च्यानल दूरदर्शनबाट विभिन्न धार्मिक टेलिभिजन सिरियलहरु कृष्णलीला, महाभारत, रामायणहरु आउने गर्थे । घरपरिवारको धार्मिक कुराबाट मनभरी भरिएका प्रश्नका उत्तर धेरै हदसम्म ती धार्मिक सिरियलमा देखाएका दृश्यबाट लिने गर्थे । कतिसम्म भने कहिले काँही त साथीभाइ भेला भएर तीर धनुषकाण बनाएर कुरुक्षेत्र झैँ कौरव, पाण्डव युद्धको नक्कल गर्ने गथ्र्यौं ।
स्वर्गका राजा इन्द्र अनि त्यहाँको वातावरणको कल्पना गर्दै जीवनभर पुण्यका काम गरेर मरेपछि त्यहाँ जाने बालस्वप्न देख्ने मेरा यी अबोध आँखाहरु आज आएर यदी त्यसरी नै स्वर्ग र नर्क हुने भए, मैले बालापनमा सुनेका र देखेका कथा र नाटक जस्तै भगवान हुने भए भगवानले सृष्टि गरेका भनिएका हामी मानवले मानवमाथि नै अन्याय, अत्याचार, बलात्कार, थिचोमिचो र पापी भावना किन गथ्र्यो ? पापका घटनाले मिनेट–मिनेटमा मानवको जीवन संकटमा पारिरहँदा पनि भगवान यदि हुन्थे पनि तिनलाई चुप लागेर बस्न के ले बाध्य बनाएको होला ? त्यसैले अहिले आएर लाग्छ कसैले नदेखेको स्वर्गबाट भगवानलाई अनगिन्ती प्राणीजगतको खोजखबर र लेखाजोखा राख्न झन्झटिलो र झर्कोलाग्दो पो भयो कि ? स्वर्गलोक व्यवस्थापन गर्न अप्ठ्यारो पो प¥यो कि ?
हिन्दू धर्मका धर्म शास्त्रले व्याख्या गरे जस्तो स्वर्गलोक, शिवलोक, ब्रम्हलोक, विष्णुलोक, मत्र्यलोक, पाताललोकको स्वरुप वास्तव मै शास्त्र अनुसार र मलाई धर्मका कुरा सुनाउने बमोजिम हुने भए धर्म धेरै गरेर मृत्युवरण गरेका व्यक्तिहरुलाई कुन लोकमा लैजाने भन्ने निधो कसरी लाग्दो होला ? कि मानव चोलाले जति नै धर्म गरे पनि स्वर्गभन्दा अन्यत्र लोक र स्थानमा जान नपाउने हो ? मलाई मेरी हजुरआमाले भन्नुहुन्थ्यो– शिव भगवान कैलाशमा बस्नु हुन्छ, विष्णु महासागरको बीचमा शेष नागमा शयन गर्नु हुन्छ, अनि ब्रम्हा आकाशमा कमल फूलमा विराजमान हुनुहुन्छ । त्यसपछि म मनमनै सोच्थे यदि हाइकिङ्ग गर्दै हिमालतिर जाने हो भने त शिव भगवानलाई भेटिने रहेछ, सागर महासागर तिर पानीजहाज तरेर जान पाए त विष्णु भगवनालाई भेटिने रहेछ, रकेट चढेर अन्तरिक्षतिर जाँदा त ब्रम्हाजीलाई भेटिने रहेछ । तर, मेरो बालापनका ती कलिला मष्तिस्कका कमजोर प्रश्नको जवाफ वास्तव मै अव्यक्त रहेछ कि ? भगवानका ती स्वरुपको वर्णन वास्तवमा मान्छेले सदियौँदेखि सुल्झाउन नसकेको रहस्यको पोको नै रहेछ ।
उमेर बढ्दै जाँदा विज्ञानका केही पुस्तक पढेका कौतुहल मष्तिस्कले भूतकालमा सुनेका धार्मिक प्रसङ्गलाई खेद्न थाल्यो । ती विज्ञानले त भगवान नहुँदा पनि सृष्टि सम्भव हुने तर्क गर्न थाले ।
अब भगवान अनि स्वर्गलोकको इति वृतान्त सुनेका यी कानले विज्ञानका सिद्धान्त र तर्कलाई विश्वास गर्ने कि नगर्ने ? तर, ताजुब लाग्दो कुरो चाहिँ विज्ञानले भने झैँ शून्यबाट आएका तारा, ग्रह, उपग्रह हुन भने कुनै एउटा अणु, परमाणु, तापक्रम, जीवन बन्न चाहिने पदार्थहरु समयको चक्रसँगै एकआपसमा नजिक आइपुगे र तिनमा एउटा अद्भूत नास्तिक चमत्कार भयो, जसले गर्दा निर्जिव पदार्थबाट सजिव पदार्थ बन्यो । यदि यो तर्कलाई हिन्दू शास्त्रसँग मिलाएर हेर्दा भगवानका पनि अवतारहरु भएका थिए । र, ती अवतारहरु पनि विज्ञानले भने झैँ विकासक्रम मै भएका थिए । भगवानको पहिलो अवतार माछाको रुपमा समुद्रमा भयो, त्यसपछि पानी र जमिन दुबैमा बस्ने कछुवाको रुपमा भयो अनि बिस्तारै पूर्णरुपमा जमिनमा बस्ने बँदेल, आधा मानव, आधा जनावरको रुपमा नृसिंह, सानो मानवको रुपमा वामन र पूर्ण मानवको रुपमा पर्शुराम, कृष्ण, बुद्ध, राम, कल्कीहरुको भयो ।
तसर्थ त यो पूर्वीय दर्शनको सनातन हिन्दू धर्मको विवेचना गरेर एउटा निक्र्यौल निकाल्न यो युगको निकै लामो समय व्यतित हुँदा पनि कोही सक्षम भएका छैनन् । म जस्ता सानैदेखि महाभारत, रामायण, भागवत गीताका कथा सुन्दै आएका तथा स्वर्ग र नर्कका रसिला र कहालीलाग्दा कथन सुन्दै आएकाहरुलाई पश्चिमी शिक्षाको प्रचारबाट जीवन धान्न हिँडेका धेरै मनहरुले गरेका परस्पर विरोधी तर्क र खिचडी विचारले हिन्दूशास्त्रको गर्भमा रहेको रहस्य खोतलेर निक्र्यौल निकाल्न कोही महामानव सफल नभइरहेको अवस्थामा कुनै अर्थ राख्दैन । यो विषय जति सोच्यो उति गहिरिँदै जान्छ, बुझेर बुृझि साध्य छैन । जटिलको पनि महाजटिल छ । त्यसैले मानछे मर्ने अनि स्वर्ग जाने, नर्क जाने भन्ने सवालमा मलाई लाग्छ मानिस मरेपछि न त स्वर्ग जान्छ न त नर्क नै । केवल आज छ, भोलि छैन ।
अनि अहिले आएर लाग्दछ कि मानिसले दैनिक रुपमा गर्ने भनिएका धार्मिक कार्यहरु, पूजापाठहरु, आफन्त बित्दा गर्ने दशगाती कर्महरु, हरेक बिहान तुलसीको मोठमा पानी तर्पण दिनेहरु, साँझ–बिहान धुपबाती गर्नेहरु एकादशी र पर्वमा व्रत बस्नेहरु सबै भगवान हुन् कि नहुन्, केही पाउनु र गुपाउनु छैन बरु यी सबै कर्महरु भगवान खुशी पार्नभन्दा पनि आफ्नै मन सफा र खुशी राख्न गरेका हुन् । तर, कतिपयले यस्ता कर्महरु स्वर्गमा पुग्नका लागि गरेको भनेरभन्दा मलाई कता–कता प्राप्तिको लागि मात्र बाँचेका, कसैलाई केही दिन नजान्ने खाली एकोहोरो लिन मात्र जान्ने आधुनिक जमानाका हामीहरु मानिस जस्ता प्राणीको सोच्ने शक्ति त्यही स्वर्ग र नर्कको कथा र कहानीको डरले भष्म बनाएको हो कि भन्ने लाग्छ ।


























