‘आम व्यवसायीको म साझा उम्मेद्वार हुँ’

0
457

Lila Chimariya

लीलाप्रसाद चिमरिया, स्वतन्त्र प्यानलका अध्यक्ष पदका उम्मेद्वार .

तपाईको उद्योग वाणिज्य संघमा उम्मेद्वारी किन ?

–सबै व्यापारी व्यवसायीको विशुद्ध संस्थाको रुपमा विकास गरेर उद्योग वाणिज्य संघको मातहतमा रहेका सबैको हित प्रबद्र्धन गर्ने, राजनीतिक क्षेत्रको प्रत्यक्ष प्रभावबाट मुक्त गरेर स्थानीय सबै संघसंस्था तथा राजनीतिक पार्टीहरुको सहयोगमा सुरुङ्गाको उद्योग व्यवसायको क्षेत्रमा योगदान दिन सकिने लक्ष्यका साथ आम व्यवसायीहरुको तर्फबाट स्वतन्त्र प्यानलबाट मैले अध्यक्ष पदमा उम्मेद्वारी दिएको हुँ ।

तपाईको दृष्टिकोणमा टीम ठूलो कि अध्यक्ष ठूलो ?

कुनै पनि संस्था र संगठनमा टिमको ठूलो भूमिका हुन्छ । मेरो विचारमा टिमका साथीहरुले सहयोग गरेनन् भनेर संस्थाको प्रगतिलाई रोक्न मिल्दैन । टिम लिडरको कर्तव्य भनेको आफ्नो टिमभित्र रहेका विभिन्न क्षमता र प्रतिभालाई वाणिज्य संघका उद्देश्यहरुसँग मिलाएर लैजाने काम त अध्यक्षको हो । मलाई अध्यक्षको भूमिका प्रमुख र टिमको भूमिका महत्वपूर्ण लाग्दछ ।

.तपाईका मूल मुद्धा के के हुन् ?

मेरा मुख्य ४ वटा मुद्धाहरु छन् । पहिलो, आम व्यवसायीले लामो समयदेखि बेहोर्दै आएको घरबहाल सम्बन्धी समस्या छ । हामी उद्योग वाणिज्य संघको नेतृत्वमा आएमा तुरुन्तै घरधनी र बहालवाला वीच वृहद् अन्तरक्रिया गराई स्पष्ट नीति बनाई यो समस्या न्यूनीकरण गर्दै हल गर्नेछौं । दोस्रो कुरा, आगामी २ वर्षभित्रमा कनकाई अतिथि सदनको पहिलो तला पूरा गरी सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्छु । म जेसिजकर्मी समेत भएकाले समयसिमा तोकेर काम गर्न रुचाउँछु । म मेरो विपक्षी साथीहरुलाई विनम्रतापूर्वक भन्न चाहन्छु–कि आफैं समयमा काम गर्नुहोस्, नत्र हामीलाई काम गर्न दिनुहोस् । म माला लगाउन वाणिज्य संघमा जान खोजेको होइन । लीला चिमरियालाई सम्मान होइन काम चाहिएको छ । तेस्रो कुरा, कर कार्यालयको गाडी आउँदा सुरुङ्गाका इमान्दार व्यापारी साथीहरु पसल बन्द गरेर घरतिर लाग्नुपर्ने अवस्था छ । सिस्टमेटिक हिसाब राख्न नजानेकै कारणले दुःख पाउनुपर्ने अवस्था छ । हामी यसको अन्त गर्न चाहन्छौं । हिसाब किताब राख्न सिकाउन सक्ने एक जना योग्य व्यक्तिलाई १ वर्षका लागि शाखाले नियुक्त गर्ने र सबै व्यापारी व्यवसायीलाई हिसाब राख्न सिकाउने र हिसाब राखेको हेरेर सल्लाहसुझाव दिने व्यवस्था मिलाउने हाम्रो लक्ष्य छ । चौथो तर महत्वपूर्ण कुरा हामी सुरुङ्गाका आम पब्लिक भावना अनुसार अघि सारिएको बन्दमुक्त सुरुङ्गाको अभियानलाई अझै प्रभावकारी रुपमा निरन्तरता दिन चाहन्छौं ।

                                                                                                                                                                                    प्रस्तुति तीर्थराज खरेल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here