पत्रकार आन्दोलनमा उत्रँदै, प्रहरीको ढिलासुस्तीप्रति आपत्ति

0
1009

बिर्तामोड ।

अनुसन्धान अनलाइन टीभीका सम्पादक खगेन्द्र घिमिरे, क्यामेरा पर्सन भाष्कर श्रेष्ठलाई मालपोत कार्यालय दमक र न्यूज २४का झापा सम्वाददाता राजु पौडेल र पत्रकार नारायण अर्यालमाथि भद्रपुर भन्सारका कर्मचारी र व्यापारीले गरेको कुटपिट र दुव्र्यवहारविरुद्ध झापाका पत्रकारले आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

नेपाल पत्रकार महासंघ झापा शाखासहितका पत्रकारका संघसंगठनले बुधबार संयुक्त विज्ञप्ति जारी गरी दोषीलाई तत्काल पक्राउ गरी कार्वाही नगरे आन्दोलनमा उत्रने चेतावनी दिएका हुन् । उनीहरुले कार्वाही प्रक्रियामा प्रहरीको ढिलासुस्तीप्रति आपत्ति समेत प्रकट गरेका छन् ।

मिति २०७७ साल मंसीर १६ गते अपरान्ह लगभग ४ बजे मालपोत कार्यलय दमकमा शिवसताक्षीका सेवाग्राही सुरेश साहले कर्मचारी इन्द्र राजवंशीलाई दश हजार घुस दिएको भिडियो खिचिरहेको अवस्थामा लछारपछार गर्दै कार्यालय प्रमुखको कार्यकक्षमा लगि पत्रकार घिमिरे, क्यामेरा पर्सन श्रेष्ठ र सेवाग्राही साह हुलहुज्जत गरी क्यामेरा खोस्ने र कुटपिट भएको थियो ।

यसैगरी मिति २०७७ साल मंसीर १२ गते भद्रपुर भन्सार कार्यालयका कर्मचारी डोरराज सुनुवार र भद्रपुरका व्यापारी सुबोध कोठारीले भन्सार छली सम्बन्धी रिपोर्ट प्रशारण नगर्न दबाब दिँदै दिएको पचास हजार घुस अस्वीकार गर्दा लछारपछार गर्दै कुटपिट गर्ने र क्यामेरा खोस्ने प्रयास गरिएकोे थियो । दुवै घटनाको निन्दा र भत्र्सना गर्दै दोषी सवैलाई अबिलम्ब कारबाही गर्न महासंघसहित पत्रकारका संगठनले माग गरेका छन् ।

‘पत्रकार तथा क्यामेरा पर्सनमाथि भएका यी दुबै घटना स्वतन्त्र पत्रकारितामाथिको आक्रमण भएकाले पत्रकार घिमिरे र क्यामेरा पर्सन श्रेष्ठमाथि मालपोत कार्यालय दमकमा आक्रमण गर्ने कर्मचारी इन्द्र राजवंशी र लेखापढीमा संलग्न व्यक्तिलाई अविलम्ब कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दिए पनि प्रहरी प्रशासनले कुटपिटमा संलग्नलाई कारबाही गर्ने प्रक्रियामा गरेको बिलम्बप्रति हाम्रो गम्भीर आपत्ति छ’– विज्ञप्तिमा भनिएको छ – ‘यसैगरी पत्रकार पौडेल र अर्यालमाथि आक्रमण गर्ने भन्सार कर्मचारी सुनुवार र व्यापारी कोठारीलाई समेत कारबाही गर्न प्रशासनसमक्ष जोडदार माग गर्दछौं । पत्रकारमाथि आक्रमणमा संलग्न व्यक्तिलाई तत्काल कारबाही नभए नेपाल पत्रकार महासंघ झापाको नेतृत्वमा आन्दोलनमा जान बाध्य हुनेछौं ।’

विज्ञप्तिमा नेपाल पत्रकार महासंघ, झापा शाखाका अध्यक्ष तारामणि सापकोटा, प्रेस संगठन नेपाल, झापाका संयोजक मुक्ति पौडेल, प्रेस युनियन नेपाल, झापाकी अध्यक्ष इन्दू पूर्वेली, मिडिया नेपाल, झापाका अध्यक्ष रञ्जित प्रसाई, प्रेस नेपाल झापाका अध्यक्ष देशराज नेम्वाङ र नारी सञ्चार गृह झापाकी अध्यक्ष भीमा शिवाकोटीले हस्ताक्षर गरेका छन् ।

यसैगरी प्रेस क्लव मेचीनगरका अध्यक्ष लक्ष्मी उप्रेती र सचिव जीआर धितालले मंगलबार नै विज्ञप्ति जारी गरी उक्त घटनाका दोषीलाई हदैसम्म कार्वाहीको माग गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here