महामारीमा बालबालिकाको सिकाई सुनिश्चितताबारे छलफल

0
925

उमानाथ भण्डारी,
कमल।

विश्वमा नै चुनौतिको रुपमा रहेको कोभिड–१९ ले शिक्षा क्षेत्रमा पारेको प्रभाव र सिकाईका क्षेत्रमा देखापरेका चुनौतिका बीचमा पछिल्लो समय छलफल र बहस हुन थालेका छन् । कोभिड–१९ का कारण विगत नौ महिनादेखि बन्द भएका विद्यालय सामन्य रुपमा सञ्चालनमा आए पनि नियमित पठनपाठन हुन सकेका छैनन् भने अविभावकले पनि ढुक्कका साथ आफ्ना नानीहरुलाई विद्यालय पठाउन सकेका छैनन् ।

‘आपतकालीन समय र माहामारीमा बालबालिकाको सिकाई सुनिश्चितता’ कसरी गर्न सकिन्छ भनेर शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति झापाले झापाका भद्रपुर नगरपालिका, कनकाई नगरपालिका, बुद्धशान्ति गाउँपालिका, गौरीगञ्ज गाउँपालिकामा यसअघि नै कोभिड–१९ ले विद्यालय तहमा पारेका प्रभाव र सिकाई सुनिश्चिततामा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ भने कमल गाउँपालिकामा समेत अन्तरक्रिया गरेको छ । कोभिड–१९ र यसका कारणले बालबालिकाको सिकाइमा पारेको प्रभाव तथा सिकाईका क्षेत्रमा देखापरेका मुख्य मुद्दा र चुनौतिका विषयमा कमलमा अन्तरक्रिया भएको हो । कार्यक्रममा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अविभावक, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

यो विषम् परिस्थितीका समयमा गाउँपालिकाको तर्फबाट शिक्षाको विकास तथा विद्यार्र्थीमा परेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै बालबालिकाहरूको पढाइलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर गाउँपालिका लागीपरेको कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्ले (पोख्रेल)ले बताइन् ।

कोभिड–१९ ले शिक्षा क्षेत्रमा ठूलो असर पुगेकोले अबका दिनमा शिक्षालाई कसरी माथि उठाउने भन्ने बेलामा आयोजना गरिएको यो कार्यक्रमले थोरै भए पनि शिक्षण सिकाईमा सहयोग पुग्ने कमल गाउँपालिकाका शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्यौपाने बताए ।

आपत्कालीन समय र माहामारीमा बालबालिकाको सिकाई सुनिश्चितता गर्नका लागि नेपाल सरकारले जारी गरेको वैकल्पिक सिकाई सहजीकरण निर्देशिका २०७७ र विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ अनुसार विद्यालय सञ्चालन हुन सकेनन् यस्तो अवस्थामा विद्यालय सञ्चालन कार्य ढाँचा २०७७ अनुसार स्थानीय तहले गरेको निर्णय अनुसार हाल विद्यालय सञ्चालन हँुदै आए पनि त्यो पर्याप्त नभएको कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयका प्रध्यानाध्यापक तथा शिक्षक महासंघ कमल गाउँपालिकाका अध्यक्ष हिमप्रसाद दाहालले बताए ।

शिक्षाको क्षेत्रमा गर्न नसकेका कामहरु धेरै छन् ती काम हामी आफैले गरेमा विद्यालयको शिक्षण सिकाई प्रभावकारी हुँदोरहेछ भन्ने कुराको जानकारी दिनका लागि कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय अभियान नेपाल झापाका कार्यक्रम सहसंयोजक सुरेशबहादुर पौडेलले बताए । उनले झापाका केही स्थानीय तहमा कार्यक्रम सञ्चालन गरिसकेको र त्यसले विद्यालयको शिक्षण सिकाईमा परिवर्तन आएको उनले बताए ।

शिक्षा क्षेत्र अस्तव्यस्त भएको छ, अहिलेसम्म नियमित पठनपाठन हुन सकेको छैन विद्यार्थी पनि अन्योलमा भएको बेला शिक्षा क्षेत्रमा देखापरेका समस्यालाई आगामी दिनमा सहज बनाउन आयोजित यस्ता कार्यक्रमले सहयोग पुग्नुका साथै सरकारले पनि बालबालिकामैत्री शिक्षा नीति ल्याउनमा सहयोग पुग्ने कमल बाल सञ्जालकी अध्यक्ष प्रितिका सुवेदीले बताइन् ।
कार्यक्रममा कमल गाउँपालिका–२ का वडाध्यक्ष तारानाथ न्यौपाने, शहीद धर्मभक्त माध्यमिक विद्यालय व्यवस्थपन समितिका अध्यक्ष चक्र गुरुङ, शिक्षक अविभावक संघका अध्यक्ष लेखनाथ खतिवडा, प्रधानाध्यापक रुकमान लिम्बू र टंक गजुरेल लगायतले बोलेका थिए । संस्थाका सल्लाहकार सदस्य उमानाथ ढकाल र शिक्षक तिलक गजमेरले सञ्चालन गरेको कार्यक्रममा स्वागत निशा गौतमले गरेकी थिइन् ।

त्यस्तै कमल गाउँपालिकाबासीलाई शुद्ध खानेपानी उपलब्ध गाराउने उद्देश्यले कार्यदलद्वारा तयार पारेको खानेपानी सरसफाई तथा स्वच्छता योजना २०७७ को योजना पत्र कार्यान्वयनका लागि खानेपानी सरसफाई तथा स्वच्छता योजना २०७७ (वास) फोकल पर्सन इन्द्रप्रसाद अर्यालले कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेलाई हस्तान्तरण गरेको कार्यक्रम अधिकृत अर्जुनकुमार पाठकले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here