प्रदुषणको वैज्ञानिक समाधान खोज

0
880

वातावरणको सन्तुलन सम्पूर्ण प्राणीको जीउने आधार हो । वातावरणीय सन्तुलन जैविक विविधतामा भर पर्दछ । अर्थात् पृथ्वीमा भएका सम्पूर्ण प्राणी र वनस्पतिको उचित उपस्थितिले जैविक विविधता कायम हुन्छ । कुनै एक प्रजातिको अनुपस्थिति मात्रले पनि सन्तुलन खलबलिन्छ । त्यसो भयो भने प्राणी र वनस्पति दुबै वर्गलाई असर गर्छ, तर असरको अनुभूति प्राणी मात्रैले गर्न सक्छ, त्यसमा पनि मानवले । यसकारण वातावरणीय सुरक्षाको मूल दायित्व मानव जातिकै हो । र, उसले वातावरणलाई नकारात्मक प्रभाव पार्ने विषयवस्तुप्रति सचेत र सजग हुँदै संरक्षणमा अग्रसरता देखाउनु पर्छ । तर, यही समय प्रतिदिन हामी प्रदुषण बढाउन र वातावरण नष्ट गर्न सक्रिय छौं । शहर हुन् वा शहरउन्मुख बजारहरु जल, स्थल, वायु र ध्वनि प्रदुषण उत्सर्जनका कारक बनिन थालेका छन् ।

झापाका शहर उन्मुख क्षेत्रहरु यतिबेला प्रदुषणको चपेटामा छन् । जताततै फोहरको डंगुर देखिन्छ, लाग्छ कि फोहर नै शहर–बजारको पर्याय हो । संघीय संरचना अनुसार भएका स्थानीय तहको गठन र जनप्रतिनिधिहरुको चयन पछि फोहरमैला व्यवस्थापनमा अग्रसरता देखियो । तर, संकलन गर्ने अग्रसरता व्यवस्थापन गर्नेमा देखिएन जसका कारण फोहरमैला ‘वल्लो घरको नरे, पल्ला घर सरे’ झैं भयो । अर्थात् घरबाट उत्सर्जित फोहर पूर्व–पश्चिम महेन्द्र राजमार्ग किनारमा थुपारियो । यसले फोहरजन्य वस्तुका कारण उत्पन्न प्रदुषणको व्यवस्थापन हुन नसक्दा समस्या जहाँको तहीँ रहन गएको छ । झपाका नगरपालिकाहरु मेचीनगर, भद्रपुर र बिर्तामोडले मुख्य राजमार्ग र नदी किनारलाई फोहर भण्डारण केन्द्र बनाएका छन् । सडक किनारमा थुपारिएका फोहरको असर स्थानीयबासीलाई प्रत्यक्ष र परोक्षरुपमा वायुमण्डल मै पर्न थालेको छ ।

पालिकाहरुको यस्तो गैरजिम्मेवार कार्यका विरुद्ध उच्च अदालतमा रिट परेको छ । फोहरमैलाको वैज्ञानिक व्यवस्थापनप्रति प्रदेश तथा स्थानीय तह उदासीन रहेको भन्दै परेको रिटको सुनुवाइ गर्दै प्रदेश नं. १ का उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयसँगै भद्रपुर, मेचीनगर र बिर्तामोड नगरपालिकालाई पन्ध्र दिनभित्र उच्च अदालतमा जवाफसहित उपस्थित हुन आदेश दिइएको छ । फोहोरमैला व्यवस्थापनमा चरम लापरवाही गरेको भन्दै मेचीनगरका होमप्रसाद प्रसाईं र भद्रपुरका कमलप्रसाद राजवंशीले केही दिनअघि सम्बन्धित पालिकामा ध्यानाकर्षण पत्र नै बुझाएका थिए । सरकारले समृद्धि र विकासको नारा लगाइरहँदा उसकै मातहतका निकाय फोहोरमैला जस्तो मानव जीवनसँग सम्बन्धित संवेदनशील विषयमा गम्भीर नहुनु दुःखद् अवस्था हो । अझ कति गैरसरकारी तथा स्वयम्सेवी संस्थाहरु पनि प्रदुषणविरुद्धको अभियानमा आबद्ध भइरहेको सन्दर्भमा प्रत्येक व्यक्तिमा सचेतना जगाउने कार्य नहुनु दुर्भाग्य नै हो । बिर्तामोड झनै भद्दा र कुरुप भइरहँदा आएको यो मुद्दाले बिर्तामोड भएर बग्ने जलाधार क्षेत्र अन्धुवा खोलाको सरसफाईमा सहयोग गरे मात्रै पनि धेरै समस्या समाधान हुन सक्छ । अन्धुवा ढल मिसाएर प्रदुषित बनाइएको छ, त्यो पनि स्थानीय सरकारकै साझेदारीमा । त्यसमाथि बाक्लो बस्ती भएका क्षेत्र अन्धुवा खोला र किनारमा फोहर भण्डार गर्ने कार्यले सौन्दर्य मात्र होइन परिणाम पनि घातक बनाएको छ । नदी किनारहरु सभ्यताका मुहान पनि हुन्, त्यसउसले तिनको संरक्षणमा सबैको अग्रसरता हुनुपर्छ । उच्च अदालतले विद्यमान सबै विकृतिहरुको वैज्ञानिक समाधान खोज्ने परिस्थिति निर्माण गराओस् । जन–जनमा वातावरणीय महत्वको चेतना जगाओस्, यही नै वर्तमानको सबैभन्दा ठूलो उपलब्धि ठहरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here