काठमाडौं,

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएको छ। सरकारी वार्ता टोली र विप्लव नेकपाको वार्ता टोलीबीच बिहीबार तीन बुँदै सहमति भएको हो।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा संचालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्धा खारेजी लगायतका विषयमा सहमति भएको छ।
सहमतिको विस्तृत विवरण शुक्रबार २ बजे एक विशेष समारोह गरेर सार्बजनिक गरिने बताइएको छ । कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले गर्ने बताइएको छ । यसअघि बुधबार सरकार र विप्लव समूहबीच दुई चरणमा वार्ता भएको थियो । मंगलबार सरकार र विप्लव समुहले वार्ता गर्न आआफ्नो पक्षबाट वार्ता टोली गठन गरेको सार्बजनिक गरेका थिए ।
वार्ता टोलीमा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई रहेका छन् भने विप्लव समुहको तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदय चलाउने ‘दीपक’ रहेका थिए ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन्। फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्न लागेका हुन्। राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना हुने कार्यक्रम रहेको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराई जानकारी दिए। सोही समारोहबाट सहमतिको विस्तृत विवरण सार्वजनिक गरिने छ ।
बिहीबारको वार्तापछि सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहको वार्ता टोली संयोजक एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्माले हस्ताक्षर गरेको संयुक्त प्रेस नोट सार्वजनिक भएको छ।
हत्या हिंसामा लागेको भन्दै सरकारले विप्लव समूहमाथि २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो।-थाहाखबरबाट





























