संवादबाटै सहमति खोज

0
633

नेकपा एमालेका असन्तुष्ट पक्षका नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला चलिरहेको समय अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक डाकेका छन् । प्रधानमन्त्री समेत रहेका अध्यक्षले यसअघि आयोजना गरेको चियापान कार्यक्रममा पनि सहभागी नभएका नेपाल–खनाल पक्षलाई गुटमा नलाग्न चेतावनी दिँदै आएका छन् । लामो समयको संवादहीनता पार्टी कार्यालय धुम्वाराहीमा भङ्ग भए पनि दुबै पक्षको दूरी बढ्दै गएको मात्र छैन सम्बन्ध ‘नदी र किनारा’को जस्तै बनिएको छ । त्यसमाथि अभिभावक हुनुपर्ने अध्यक्षले लगातार कार्वाहीको चेतावनी दिइरहँदा दूरी मेटिने सम्भावना पनि देखिन छाडेको छ । अध्यक्ष सम्बद्ध दलको अभिभावक र घरमूली हुन्छ । सबै नेता कार्यकर्ता परिवारका सदस्य हुन् र सबैले आ–आफ्नो कर्तव्य र दायित्व निर्वाह गर्नुपर्दछ । तर, दुर्भाग्य भयो कि जनमतले बलशाली बनाएको दल नामको घर विचारको भिन्नताका कारण इतिहासकै संकटपूर्ण क्षणमा पुगेको छ ।

पुर्खाहरुले भन्दै ल्याएका थिए– ‘सप्रेको घरको बेलुकाको मत भत्केको घरको मत न सत’। यही भनाइ चरितार्थ भइरहेको असन्तुष्ट समूहले आरोप लगाउँदै आएका छन् । संस्थापन इतर समूहको यो आरोपमा भएको सत्यता अरुहरुले खोजी गर्ने विषय नै होइन । तर, यो विवादले देश र जनताको भविष्य प्रभावित हुने भएकाले सचेत वर्गलाई सत्तारुढ दलको अन्तरसंघर्ष र त्यसले उत्पन्न गर्न सक्ने दुष्परिणामले गम्भीर बनाएको हुनु पर्छ । यहीबीच राष्ट्रपतिद्वारा डाकिएको सर्वदलीय बैठकलाई पनि निरर्थक भेलाको संज्ञा दिइएको थियो । पटक–पटक विवादित बन्दै आएकी राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका तटस्थ र संरक्षकको रुपमा नरहेको बैठकमा सहभागी कतिपयले प्रतिक्रिया नै दिएका छन् ।

विरोधी पक्ष सरह देखिएको एमालेभित्रको गुटगत राजनीतिले न सम्बद्ध दललाई लाभ हुन्छ न त सम्मानित पद र त्यसले प्राप्त गरेको प्रतिष्ठालाई जोगाइ राख्न सक्छ । छलफल र संवादबाटै आपसका विवादको निरुपण गर्नुपर्नेमा मुख्य अभिभावक नै विग्रहको कारक बनिएको असन्तुष्ट पक्षले आरोप लगाएका छन् । नेकपा विघटन भएपछि पूर्वावस्थामा पुगेको एमाले त्यही अवस्थाबाट अघि बढ्नुपर्ने असन्तुष्ट पक्षको अडानलाई स्वीकार गरेर मात्र उत्पन्न मतभेदको अन्त्य हुनसक्छ । फरक विचार राख्ने दलहरुसँग सहकार्य गर्न सक्ने उदारता भएका अगुवाले घरभित्रैको मनोमालिन्यलाई किनारा लाउन नसक्ने कुरै हुँदैन । असन्तुष्ट पक्षलाई साथमा नलिई ‘बदला लिने’ तरिकाले गरिने तर्क, विचारको सम्प्रेषण, कार्वाही र मर्यादाहीन व्यवहारले बलेको आगोमा घिउ थप्छ नै । त्यसैले पनि सहकार्यबाट सहमति खोज्न सम्बद्ध पक्षलाई चेत पलाउनुपर्छ । अहिलेको निकास र सहज अवतरण पनि संवाद, सहमति र सहकार्यबाट मात्रै सम्भव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here