उदाहरणीय कार्य

0
786

स्वास्थ्य सुरक्षामा चुनौति थपिएका बेला झापाका एकजना वडा प्रतिनिधिले ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा प्रदान गराएका छन् । जिल्लाकै कान्छा वडाध्यक्ष मानिएका शिवसताक्षी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष मनोज खुलाल कार्की आफ्नो वडाभित्रका ज्येष्ठ नागरिकहरुको घर–घरमै चिकित्सकसहितको टोलीका साथ पुगेर आवश्यक स्वास्थ्य सेवा प्रदान गराएका हुन् । उनले वडाभित्रका एक सय नौ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गराउनुका साथै औषधि पनि निःशुल्क प्रदान गर्दै चियापान गराएका थिए । बिर्तामोडस्थित पूर्ण–टुङ्ग बिर्ता सिटी हस्पिटलसँगको समन्वयमा डा. सुदीप भट्टराई नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोलीले ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरेको थियो ।

सधैँ नौलो, सिर्जनशील र सेवामुखी कार्यक्रम गर्न रुचाउने वडाध्यक्ष कार्कीले नव वर्ष २०७८ को उपलक्ष्यमा वडाभित्रका ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवाको माध्यमबाट शुभकामना दिएको बताइएको छ । आजको समाज प्रचारमुखी बन्दै गएको छ । समाज मात्र होइन सरकार अझ प्रधानमन्त्री नै प्रचारका पछि लागेको आरोप लाग्दै आएको छ । पछिल्लो समय देशका सबै संसदीय निर्वाचन क्षेत्रमा पक्की सडक निर्माण कार्य शुभारम्भ गरेको घोषणा गरेको भन्दै प्रधानमन्त्री आलोचित भइरहेका छन् । बिना योजना, बिना पूर्वाधार, बिना नापनक्सा र बिना डीपीआर सडक निर्माणको ‘भर्चुअल शिलान्यास’ गरेको विषय गत हप्ता आलोचना र टीकाटिप्पणीको शिखरमा रहेको थियो ।

अहिले कोरोना नयाँ रुपमा फैलिँदैछ । दिनहुँ संक्रमितहरुको संख्या बढ्दो छ । स्वास्थ्य सेवा यसकारणले पनि पहुँचभन्दा टाढा भइरहेको समयमा वडाध्यक्ष कार्कीले नयाँ वर्षमा थुप्रै ज्येष्ठ नागरिकहरुको आशिर्वाद पाए । बैशाख १ गतेकै दिन चिकित्सकसहित ज्येष्ठ नागरिकहरुका घर पुगेका वडाध्यक्ष कार्की उनीहरुको दुःखमा सहभागी भए । स्वास्थ्य सेवाको पहुँच घरमै पु¥याएर औषधि समेत निःशुल्क प्राप्त गर्दा सेवाग्राही ज्येष्ठ नागरिकको खुसीको सीमा रहेन । परीक्षण गरिएकामा छाती, श्वासप्रश्वास, उच्च रक्तचाप र हाडजोर्नी सम्बन्धी समस्या बढी देखिएको स्वास्थ्य परीक्षणमा संलग्न डाक्टर सुदीप भट्टराईले बताएका छन् ।

वडाका धेरैलाई पायक पर्ने गरी आयोजना गरिएको स्वास्थ्य सेवालाई सकारात्मक र आश्चर्यजनक भन्दै ज्येष्ठ नागरिकहरुले वडाध्यक्ष कार्कीको प्रशंसा गरेका छन् । स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्जको प्राविधिक सहयोग रहेको कार्यक्रममा ज्येष्ठ नागरिक नगर समितिले समेत आर्थिक सहयोग गरेको थियो । यसअघि बन्दाबन्दीका समय ज्येष्ठ नागरिकहरुलाई मास्क, सेनिटाइजर, साबुन र विपन्न परिवारलाई खाद्यवस्तु उपहार दिएका वडाध्यक्ष कार्कीको यस्तो कर्म प्रशंसनीय मात्रै होइन अनुकरणीय पनि छ । जनसेवालाई अभीष्ट ठान्ने प्रतिनिधिहरु जनमुखी कार्यबाटै सम्मानित हुनुपर्छ । कार्कीको नयाँ वर्ष स्वास्थ्य उपहार कार्यक्रम अरु जनप्रतिनिधिहरुका लागि समेत उदाहरण बनोस्– शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here