कोभिड–१९ को लडाइँमा सरकारको अभिभावकत्व

0
688

 

कोरोना भाइरस नयाँ प्रजातिको भाइरस हो जुन मानव जातिमा पहिले पहिचान भएको थिएन । यस भाइरसले मानिस र पशुहरूमा संक्रमण गर्दछ । यस भाइरसले सामान्य रुघाखोकीदेखि गम्भीर प्रकारको तीव्र श्वासप्रश्वासको समस्यासम्म गराउन सक्दछ र मानिसको मृत्यु समेत गराउन सक्छ । कोरोना भाइरस भाइरसहरूको एक ठूलो परिवार हो जुन पशुहरू वा मानवहरूमा संक्रमित हुन सक्दछन् । मानवमा धेरै कोरोना भाइरसहरूले सामान्य चिसोदेखि लिएर मध्यपूर्व रेस्पीरेटरी सिन्ड्रोम (एमईआरएस) र गम्भीर तीव्र श्वासप्रश्वास सिंड्रोम (सार्स) जस्ता बढी गम्भीर रोगहरूसम्म श्वासप्रश्वासको संक्रमणको रूपमा चिनिन्छन् । हाल विश्वभरि फैलिरहेका नयाँ कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकिएको छ ।

कोरोना भाइरस श्वासप्रश्वाशको माध्यमबाट सर्ने रोग हो । यो संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिटाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा रहँदा तिनबाट (खोक्दा वा हाच्छ्युँ गर्दा) उत्पन्न भएको श्वासप्रश्वासजन्य सूक्ष्म थोपाहरूबाट र भाइरसबाट संक्रमित सतह÷वस्तुहरू छुँदा यो भाइरस सर्ने गर्दछ । कुनै पनि स्थान तथा सतहमा कैयौं घण्टासम्म कोभिड–१९ भाइरस जिवित रहन सक्छ । तर, सामान्य जिवाणुनाशकको प्रयोगबाट यसलाई मार्न सकिन्छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीले गम्भीर रुप लिएको छ र सबैको ध्यान आकर्षण गरेको छ । विकसित राष्ट्रहरुमा लाखौं जनसंख्या संक्रमित भएका छन्, हजारौं मानिसले ज्यान गुमाइसकेका छन् भने विकासोन्मुख देशहरुमा यस भाइरसको संक्रमण तीव्रगतिमा फैलिरहेको छ । यद्यपि हामी सबै यस भाइरसको नतिजाबाट प्रभावित भएका छौं भने कोही उच्च जोखिममा छौं ।

विश्व स्वास्थ्य संगठनको एक प्रतिवेदन अनुसार, कोरोना भाइरसले सबै उमेर समूहका व्यक्तिहरुलाई असर गर्न सक्छ, तर पाका उमेरका र गैर–संक्रमित रोग (जस्तै क्यान्सर, कडा दम, मधुमेह, मुटुरोग, मृगौलाको रोग, उच्च वा निम्न रक्तचाप आदि)को साथ बाँचिरहेका मानिसमा यसको संक्रमण बढी देखिन्छ । तुलनात्मक हिसाबले अरु कुनै पनि रोग नलागेका व्यक्तिहरुमा कोरोनाका कारण मृत्यु भएको संख्या अति कम छ ।

कोरोना भाइरस अर्थात् कोभिड–१९ को कारण विश्वजगत् आज यति नराम्ररी प्रभावित भएको छ कि विकसित मुलुकहरु पनि त्राहीमाम भएका छन् । नेपाल पनि यो महामारीबाट अछुतो रहन सकेको छैन । पछिल्लो समय कोरोना पीडितको परीक्षण र उपचार खर्चबाट सरकारी ढुकुटी रित्तिने अवस्था आउन लागेपछि सरकारले सम्पन्न नागरिकसँग शुल्क लिएर र विपन्नलाई निःशुल्क परीक्षण तथा उपचार गर्ने नीति लिएको थियो । कोरोना संक्रमणको शुरुवाती चरणमा नियन्त्रण र परीक्षणमा अन्धाधुन्ध खर्च गरेको सरकारले संक्रमण दर बढ्दै जाँदा यस्तो निर्णय गरेपछि जनतामा निराशा छाएको थियो र सरकारी यो निर्णयको सर्वत्र आलोचना भएको थियो । यसबाट कोरोना लाग्यो भने उपचारै नपाई मरिन्छ कि भन्ने सन्त्रास नागरिकमा फैलिएको थियो ।

यति बेला कोभिड–१९ को नयाँ भेरिएन्टको लहर देखा परेको छ नेपालमा । यसबाट बुढाबुढी मात्र नभएर बालबच्चा र नौजवानहरु पनि पीडित हुन थालेका छन् । कोरोना लागि हाल्यो भने पनि सरकारले नै परीक्षण गरिदिन्छ र उपचार पनि गरिदिन्छ भनेर पछिल्ला दिनमा नागरिकमा सचेत हुने बानी पनि हटेको थियो र अहिले लापरवाहीको मात्रा झन बढेर गएको छ । संविधानमै लेखिएको नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा दिने दायित्वबाट सरकार पन्छिन मिल्दैन । सिद्धान्ततः हुनेसँग लिने र नहुनेलाई निःशुल्क उपचार गर्ने सरकारी निर्णय सही भए पनि व्यवहारमा कस्ता नागरिकले निःशुल्क उपचार पाउँछन् र कसले पाउँदैनन् भन्ने स्पष्ट थिएन । नेपाल जस्तो आर्थिक रूपमा विपन्न मुलुकले यो मामिलामा गरेको खर्च धेरै हो । तर, अपारदर्शी र अस्पष्ट निर्णयका कारण पहुँचवाला र सम्पन्न परिवारले मात्रै राज्यको सुविधा लिइरहने सम्भावना थियो । लक्षित वर्ग को हुन् भन्ने निक्र्योल गर्न सजिलो छैन । कोरोनाको जोखिम तिनैलाई झन् बढ्दो छ जसको शरीरमा न सहन गर्ने क्षमता छ न त उपचार खर्च बहन गर्ने क्षमता नै । कोरोनाको चरम चपेटामा शहर र शहरोन्मुख बस्ती मात्र नभएर समग्र गाउँ नै प्रभावित भइसकेको अवस्था छ । सामान्य अवस्थामा त एउटा गरीबले आफ्नै खर्चमा कोरोनाको उपचार गर्न सक्दैन भने अहिले अधिकांश त्यस्ता श्रमिक गरीबहरूको आय गुमेको अवस्थामा उनीहरूले कुनै पनि हालतमा कोरोनाको उपचार गर्न सक्दैनन् ।

आफ्ना नागरिकको यस्तो जटिल आर्थिक अवस्था ज्ञात हुँदाहुँदै पनि सरकारले सबै अस्पतालमा कोभिड–१९ को उपचारको व्यवस्था मिलाउन सकेको छैन । अस्पतालहरूले दैनिक र एकमुष्ठ लाखौँ शुल्क निर्धारण गरी उपचारका लागि भर्ना हुनुपूर्व नै दाखिला गर्ने नियम बनाएकाले गरिब र निमुखा मारमा परेका छन् । । यसबाट नागरिकहरु कोरोना पीडित बनेर घरमै थुनिनुपर्ने र गुमनाम मरण स्वीकार्नुपर्ने अवस्था आएको छ । संविधानमा कुनै पनि आपतकालीन अवस्थामा हरेक नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको हक हुनेछ भनी लेखे बमोजिम नेपाल सरकारको कोरोनाको उपचार गर्न आवश्यक छ । स्वयम् बिरामीका परिवारले आफैं उपचार गर्नुपर्ने आशयलाई सम्मानित सर्वोच्च अदालतले उल्टाइसकेको छ र सरकारले पनि निर्णय सच्याएको छ । कोभिड–१९ को नयाँ स्वरूपको भाइरस देखा परेपछि सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । पहिलेको भन्दा कडाखालको भाइरस रहेकाले विज्ञहरुले सतर्कता अपनाउन सुझाव दिएका हुन् । अहिले देखिएको भाइरसले कडाखालको रहेको र यसको अर्को मानिसमा सार्न सक्ने क्षमता पनि बढी हुने भएकाले स्वास्थ्यका मापदण्ड अपनाई भाइरस सर्नबाट बच्नुपर्दछ भन्ने चिकित्सकको सुझाव छ ।

समग्रमा भन्ने हो भने अन्तर्राष्ट्रिय समुदाय, राष्ट्रिय र स्थानीय सरकार कोभिड–१९ को विरुद्ध लडिरहेका छन् । रोग लाग्नुभन्दा रोग लाग्न नदिनु नै उचित हो । यसका लागि सरकारको भन्दा हामी जनताको भूमिका बढी हुन्छ । समुदाय र स्वास्थ्य प्रणालीहरुले उच्च जोखिम समूहमा रहेका व्यक्तिहरुको रोगको निदान गरेर जोखिम व्यवस्थापन गर्न आवश्यक छ । विभिन्न जनचेतनामूलक कार्यक्रमहरु मार्फत गैर–संक्रमित रोगको नियन्त्रण र रोकथाम गर्न सकिन्छ र कोभिड–१९ को कारणले उत्पन्न भएका समस्याहरु कम गर्नका लागि सान्दर्भिक नीतिहरु, उपकरण र कार्यक्रमहरु लागू गर्न जरुरी छ । स्वास्थ्य, आर्थिक, शिक्षा, कृषि, शहरी योजना आदि क्षेत्रहरु बीच सहकार्य गरी गैर–संक्रमित रोगको व्यवस्थापनमा राम्रो लगानी गरेर मृत्युदरलाई कम गर्न सकिन्छ । हामी स्वास्थ्य सेवाहरुलाई पुनर्मूल्यांकन र स्वास्थ्य प्रणालीलाई पुनः निर्माण गर्न तयार हुनुपर्छ । हामी भविष्यमा कुनै पनि परिस्थितिमा गैर–संक्रमित रोगलाई रोक्न र निदान गर्न सक्षम हुन्छै ।

तसर्थ, आजबाट नै हामीले गैर–संक्रमित रोगप्रति ध्यान केन्द्रित गरेनौ भने, अब आउने आगामी दिनहरुमा गैर–संक्रमित रोगले विश्वव्यापी महामारीको रुप लिन्छ भन्ने कुरा निश्चित जस्तै छ । कोभिड–१९ का लागि त गैरसंक्रमित रोगको अवस्था भनेको मलिलो धर्ती जस्तै हो । संविधानमा उल्लिखित हक सुनिश्चित गर्नु राज्यको कर्तव्य हो । पैसाको अभावमा वा चेतनाको कमीको कारण घरगाउँमै बसेर कोरोना र निमोनियाका कारण गुमनाम मृत्युवरण गर्न बाध्य हुनुपर्ने परिस्थितिको अब अन्त्य हुनैपर्छ । सरकार जनताको सेवाका लागि तत्पर भएर मात्र यो महामारी नियन्त्रण हुने होइन ।

जनताको सावधानी, सतर्कता र स्वास्थ्यका निर्देशनलाई अनुशरण गरेर मात्र यसबाट जोगिन सकिन्छ भन्ने शिक्षा बुझ्न र जीवन व्यवहारमा लागू गर्न जरुरी छ । विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका सम्बन्धमा बनिबनाउ ज्ञान र तयारी त थिएन । त्यसैले नेपाल सरकारले यस सम्बन्धमा आफ्नो विवेक, आर्थिक अवस्था र प्रशासनिक कार्यक्षमता विचार गरी विभिन्न निर्णय गर्दै ती निर्णय कार्यान्वयन सम्बन्धमा गम्भिर बन्दै अघि बढिरहेको छ । जनता र सरकार हातेमालो गर्दै अघि बढ्न आवश्यक छ । कल्याणकारी राज्यव्यवस्था भएको मुलुकको मूल विशेषता भनेको राज्य सञ्चालक अर्थात् सरकार जनताको दुःखकष्टका बेलामा अभिभावक बन्न जरुरी हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here