ग्रामीण क्षेत्रका विद्यालय प्रविधिमैत्री बन्दै

0
903

झापा।

ग्रामीण क्षेत्रका सामुदायिक विद्यालय ‘स्मार्ट’ र प्रविधिमैत्री बन्दै गएका छन् । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न स्थानीय तह लागीपरेसँगै ग्रामीण क्षेत्रका विद्यालय स्मार्ट र प्रविधिमैत्री बन्दै गएका हुन् । अधिकार सम्पन्न स्थानीय तहले आफ्ना ठाउँका विद्यालयलाई भौतिक संरचनामा स्तरोन्नति गर्दै शैक्षिक गुणस्तर सुधारका कार्यक्रम सञ्चालन गरेपछि सबैजसो सामुदायिक विद्यालय सबल बन्दै गएका हुन् ।

स्मार्ट बोर्डको प्रयोग, मल्टिमिडियामार्फत अध्ययन–अध्यापन र प्रविधिमैत्री शिक्षण सिकाइका कारण विद्यालयको शैक्षिक गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ । अहिले ग्रामीण क्षेत्रका अधिकांश विद्यालयमा कम्प्युटर ल्याव, प्रोजेक्टरमार्फत नै अध्ययन–अध्यापन, स्मार्ट बोर्डको प्रयोग, ई–लाइब्रेरी राखेर खेल्दै–खेलाउँदै सिकाउने प्रवृत्तिका कारण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार आउन थालेको शिक्षासँग सरोकार राख्ने अधिकारीहरुले बताउँदै आएका छन् ।

बाह्रदशी गाउँपालिकाका शिक्षा शाखा प्रमुख ज्ञानबहादुर पौडेलले बाह्रदशी गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालय प्रविधिमैत्री गरिसकेको बताए । केही विद्यालयले मल्टिमिडियाको प्रयोग गर्दै पठनपाठन गराइरहेको र सवै विद्यालय ‘चक लेस’ भइसकेको पौडेलको भनाइ छ । ‘प्रोजेक्टरको माध्यमबाट विद्यार्थीलाई अध्यापन गराउँदा छिटो सिक्दा रहेछन्’– शिक्षा शाखा प्रमुख पौडेलले भने– ‘अहिले सबैजसो विद्यालयमा स्मार्ट बोर्ड राखिएको छ । प्रोजेक्टरको माध्यमबाट सिकाइन्छ, विद्यार्थी पनि सिक्न उत्साहित छन् ।’

कचनकबल गाउँपालिकाका शिक्षा शाखा प्रमुख छवि बस्नेतले कचनकबल गाउँपालिकाभित्र रहेका सबैजसो विद्यालय प्रविधिमैत्री बनिसकेको बताएका छन् । ‘हिजो जीर्ण अवस्थामा रहेका भवनमा राखेर विद्यार्थीलाई दुःखले पढाइन्थ्यो । तर, अहिले सबै विद्यालय समृद्ध बन्दै गएका छन्, पठनपाठन समेत प्रविधिको माध्यमबाट हुन थालेको छ’– बस्नेतले भने ।

‘कचनकबल गाउँपालिकाले शिक्षा क्षेत्रको विकासका लागि सबै विद्यालयलाई समानरुपले हेर्दै प्रविधिमैत्री बनाउन गरेको लगानीका कारण छोटो समयमा शैक्षिक गुणस्तर सुदृढ भएको हो’ –बस्नेतले भने ।

१२ वटा सामुदाययक विद्यालयमा एन्ड्रोइड बोर्डभद्रपुर नगरपालिकासहित हल्दिबारी, कचनकबल र बाह्रदशी गाउँपालिकाका सामुदायिक विद्यालयमा एन्ड्रोइड बोर्ड जडान गर्दै पठनपाठन थालिएको छ । संघीय सांसद राजेन्द्रकुमार लिङ्देनले संसद क्षेत्र विकास कोषबाट रकम उपलब्ध गराएपछि चार वटा पालिकाका सामुदायिक विद्यालयमा एन्ड्रोइड बोर्ड राखेर पठनपाठन गराउन थालिएको हो । विद्यालयलाई प्रविधिमैत्री बनाई शिक्षाको गुणस्तरमाथि उठाउने उद्देश्यले सांसद क्षेत्र विकास कोष अन्तर्गत झापा क्षेत्र नं. ३का १२ वटा सामुदायिक विद्यालयमा एन्ड्रोइड बोर्ड तथा प्रोजेक्टर प्रदान गरिएको हो ।

बाह्रदशी गाउँपालिका–७स्थित गौरीशंकर माध्यमिक विद्यालयमा एन्ड्रोइड बोर्ड तथा प्रोजेक्टर प्रयोग सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लिङ्देनले सूचना प्रविधिमार्फत विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आफूले विद्यालयलाई एन्ड्रोइड बोर्ड उपलब्ध गराएको बताए ।

यसैबीच गौरीशंकर माविमा राखिएका पाँच वटा बोर्डको आइतवार सांसद लिङ्देनले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै बाह्रदशी गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न प्रविधिले सहयोग पु¥याएको बताएका छन् । उनले विद्यालय नजाने विद्यार्थी पनि अहिले प्रविधिको माध्यमबाट पठनपाठन गराउन थालेपछि सामुदायिक विद्यालय आउने विद्यार्थीको संख्या बढेको बताए ।

‘हिजो विद्यार्थी खोज्न घर–घर जानुपथ्र्यो तर अहिले विद्यार्थी आफै विद्यालय आउन थालेका छन् । निजी विद्यालयको तुलनामा शैक्षिक गुणस्तर अझ राम्रो हुँदै गएपछि विद्यार्थी तथा अभिभावकको रुची सामुदायिकतर्फ तानिएको हो’– अध्यक्ष राजवंशीले भने ।

‘सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि सवै सुविधा छन्’– अध्यक्ष राजवंशीले भने– पढ्ने किताव किन्नु पर्दैन, कपी पेन्सिल पनि विद्यालयले नै दिन्छ, विद्यालय पोशाक विद्यालयले नै दिन्छ, अहिले त अझ खाजाको पनि व्यवस्था छ । तर, त्यही विद्यार्थी निजी विद्यालय गए पढाइ खर्चको कुरा त परैको हो आफ्नो बच्चा पु¥याउन, खाजा खान र लिन अभिभावक तीनपटक विद्यालय जानुपर्छ ।’

‘वर्षमा एकपटक पनि आफ्ना बालबालिका अध्ययन गर्ने विद्यालय नआउने अभिभावकका नानीलाई हामीले शिक्षा दिनुपर्छ’– अध्यक्ष राजवंशीले भने – यस्तो बिजोककाबीच पनि अब सामुदायिक विद्यालयका विद्यार्थी सक्षम र पढाइमा तेजिला भएर निस्कँदैछन् । किनकी सवै विद्यालयमा अहिले मल्टिमिडियाद्वारा पठनपाठन हुन्छ ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष रत्नाकुमारी राजवंशी, गौरीशंकर माविका प्रधानाध्यापक लेखनाथ कटवाल, भद्रपुरस्थित गौतमबुद्ध प्राविका प्रधानाध्यापक जयन्ती मानी, व्यवस्थापन समितिको अध्यक्षको तर्फबाट लेखनाथ खनाल लगायतले बोलेका थिए ।

गौरीशंकर माविकी व्यवस्थापन समिति अध्यक्ष पिङ्की पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक नेत्रप्रसाद पौडेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here