मेचीनगर, बिर्तामोड र दमकमा सतर्कता,आजबाट बिद्यालय बन्द

0
948

बिर्तामोड।

स्थानीय सरकार तथा प्रशासनले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि विद्यालय बन्दसँगै आवश्यक सावधानी अपनाउने निर्णय गरेको छ ।

संघीय सरकारको निर्णय कार्यान्वयनमा आलटाल गरेका स्थानीय सरकारले अन्ततः विद्यालय बन्दको निर्णय गरेका छन् । बिर्तामोड, मेचीनगर र दमकका विद्यालय आज बुधवारबाट बन्द हुने भएका छन् । बिर्तामोड नगरपालिकामा मंगलवार बसेको बैठकले बैशाख १९ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सरोकारवालाको बैठकले वैकल्पिक माध्यमबाट पठनपाठन गराउने निर्णय पनि गरेको छ ।

बैठकले वैशाख २० गतेदेखि पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गर्दै पूर्व निर्धारित वार्षिक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बिर्तामोड नगर शिक्षा प्रमुख तिलचन भण्डारीले बताए । उनले बिद्यार्थीको भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन हुने जानकारी दिए । यस्तै मेचीनगर नगरपालिकाले नगरभित्रका विद्यालयहरुलाई बैशाखभर प्रत्यक्ष सिकाइ स्थगित गर्न निर्देशन दिएको छ ।

नगरपालिकामा बसेको संस्थागत तथा सामुदायिक विद्यालयहरुको छलफलले वैशाख मसान्तसम्म प्रत्यक्ष सिकाइ स्थगित गर्ने निर्णय गरेको हो ।

सरकारले सोमबार कोभिड–१९को संक्रमण बढ्दै गएको भन्दै शहरी क्षेत्रका बिद्यालयहरु बन्द गर्ने निर्णय गरेको थियो । सोही निर्देशन अनुसार मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले मंगलबार सूचना जारी गरी पठनपाठन बन्द गर्न निर्देशन गरेका हुन् ।

त्यस्तै सूचनामा २०७७ सालको वार्षिक परीक्षा गर्ने व्यवस्थाका लागि पाठ्यवस्तुको सहजीकरण र सञ्चालन गर्न र कक्षा ८ र १० वाहेकका परीक्षाका लागि तयारी अवस्थामा रहन सरोकारवाला सबैलाई अनुरोध गरिएको छ ।
उता दमकमा पनि बार्षिक परीक्षाको तालिका मिलाएर विद्यार्थीलाई अध्ययन विदा दिने निर्णयका साथ विद्यालय बन्द गरिएको छ ।

यसैबीच प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय झापामा वसेको डीसीसीएमसीको बैठकले विभिन्न निर्णय गरेको छ ।

कोभिड १९ सम्वन्धी नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयलाई प्रभावकारी बनाउने, बिर्तामोड, दमक र मेचीनगरका विद्यालयलाई बैशाख मसान्तसम्मका लागि विद्यालयमा भौतिक रुपमा उपस्थित नगराई वैकल्पिक सिकाइ विधि प्रयोग गर्दै शैक्षिक गतिविधि सञ्चालन गर्ने गराउने निर्णय गरेको छ । विद्यालयका पूर्व निर्धारित परीक्षालाई भने जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

सिनेमा हल, पार्टी प्यालेस, डान्स वार, दोहोरी नाच घर, हेल्थ क्लव, जीम खाना, स्वीमिङ पुल, फुटसल, सभा, आमसभा, हाट बजार तथा रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसको भीडभाड हुने अन्य सबै कार्यक्रम वैशाख मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

त्यस्तै मठमन्दिर, मस्जिद, गुम्वा, चर्च लगायतका धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी भीडभाड हुने अन्य सबै प्रकारका गतिविधि बन्द गर्ने निर्णय गरेको छ ।

एकपटकमा २५ जनाभन्दा बढी हुन नहुने, कुनै पनि सामान अनावश्यक नछुने, भौतिक दूरी अनिवार्य कायम गर्ने र मास्कको अनिवार्य प्रयोग गर्ने जस्ता निर्णय गरेको छ । सार्वजनिक यातायातका सवारी सञ्चालन गर्दा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, सवैलाई मास्क अनिवार्य गर्ने निर्णय गरेको छ भने होटल तथा रेष्टुरेन्टले बिहान ८ देखि बेलुका ८ बजेसम्म र सो पश्चात टेकअवे र होम डेलिभरी मात्र उपलब्ध गराउन निर्णय गरेको छ ।

होटल तथा रेष्टुरेन्टका कामदारले अनिवार्य रुपमा मास्क, भाइजर र पञ्जा लगाउने, सबैले मास्क अनिवार्य गर्ने, सेनिटाइजरको अनिवार्य व्यवस्थापन गर्नुपर्ने लगायत बैठकले निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here