दाँते पाखुरीका विश्वासमा बाँचेकाः परशुराम

८ बैशाख २०७८, बुधबार मा प्रकाशित

नेपाल अधिराज्यको एकीकरणमा पृथ्वीनारायण शाहले कुलानन्द जैसी, कालु पाण्डे र विसे नगर्ची आदि सहयोगी राखेका थिए । तिनमा कुलानन्द जैसी (ढकाल) साह्रै राम्रा ज्योतिषी थिए । उनले युद्धका लागि साइत हेरेपछि विसे नगर्चीले नरसिंहाले ‘तुथुरी’ गरेर शब्द निकालेपछि मात्र कालु पाण्डेको तरवारको धार शत्रुको गलामा पथ्र्यो । तिनै कुलानन्द जैसीका सन्तानहरू पूर्व क्षेत्रको एकीकरणको सिलसिलामा अभिमानसिंह बस्नेतसहित आएका थिए । तिनै कुलानन्दका सन्तान पूर्व पाँचथरमा केहीकाल बसेछन् । संस्कृतिविद् जनकलाल शर्मा ढकालका अनुसार त्यहीँबाट एकजना ताप्लेजुङतिर गएछन् । तिनैका सन्तानहरूमध्ये मधुसुधन पनि एकजना हुन् । तिनै मधुसुधन ढकाल र भद्रकलाका कोखबाट वि.सं. १९७९ असार १८ गतेका दिन ताप्लेजुङको हाङ्देवा कटहरेमा परशुराम ढकालको जन्म भएको हो ।

उनको विवाह वि.सं. १९९७ फागुन १५ गते तुलसादेवीसित भयो । पहाडको रमाइलो गाउँ भए पनि आयश्ताको राम्रो प्रबन्ध नभएको कारण उनी वि.सं. २००१ देखि २००४ सम्म झापाको धाइजनमा बसे र त्यहाँ रहँदा बस्दा राइटर पूर्णप्रसादसित उनको सम्पर्क भयो । राइटर पूर्णप्रसाद निकै ठूला जमिन्दार थिए । परशुराम ढकाल इमान्दार र लगनशील देखेर उनले उनको खोपबारी खेतीमा खेतीको हेरचाह र र उनले सके जति खेती गर्न जमीन पनि उपलब्ध गराए । त्यसपछि उनी खोपबारी राइटर कामतमा बस्न थाले । त्यहाँ बसेर आफूले पनि खेती गरे । राइटर कामतको पनि हेरचाह गरे । वि.सं. २००४ चैत २५ गते तुलसादेवी पनि राइटर कामतमा आइपुगिन् । त्यहीँ उनको पारिवारिक जीवन शुरु भयो ।

जीवन निर्वाहका क्रममा परशुराम ढकाल झापा जिल्लाको विभिन्न ठाउँमा बस्न पुग्नु भयो । वि.सं. २००४ देखि वि.सं. २०१४ सम्म खोपबारी राइटर कामतमा बस्नु भयो । त्यहीँ उहाँहरूका तीन भाइ छोराहरू मदन, मोहन र लक्ष्मणको जन्म भयो । त्यसपछि अनारमनी बिर्ता बजारमा एक छोरा भरत, छोरी दुर्गा र छोरा अरुण जन्मे । वि.सं.२०२० मा बसाइँ सरेर कञ्चनबारी (साविक पाराखोपी) हाल अर्जुनधारा–५ मा जानु भयो । त्यही क्रममा कान्छा छोरा सुरेशको जन्म भयो । परशुराम र उनकी श्रीमती तुलसादेवीले आफ्ना सन्तानको लालनपालन, शिक्षादिक्षा, विवाह, ब्रतबन्ध आदि कर्म गर्नुभयो । औलोको डढेलो लागीरहेको झापामा उहाँहरूले जलपाइगुडीबाट ‘कुइनाइन’ गोली किनेर ल्याएर खुवाएर आफू र आफ्ना सन्तानहरूलाई बचाउनु भयो । त्यतिबेला झापामा अस्पतालको सुविधा थिएन । बङ्गालको शिलगढीमा पनि ओखतीका पसल थिएनन् ।

वि.सं. २००७ सालमा नेपालमा राणा शासन ढल्यो । त्यसपछि नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीहरू मुलुकमा जनसंगठन गर्न थाले । त्यसै सिलसिलामा २००८ मा कम्युनिस्टहरू खोपबारी राइटर कामतमा आए । आउनेहरूका गोपालकृष्ण प्रसाईं, डीपी अधिकारी, गणेशबहादुर प्रसाईं, टीकाप्रसाद सापकोटा, जयप्रसाद सापकोटा आदि थिए । तिनीहरूले खेतको धान काट्ने र धनीहरूलाई टुङ्गो लगाउने योजना बनाए । तर, परशुराम ढकालले भने धान काटेर खमारमा ल्याउने बरु दाइँ गर्न रोकेर साहुहरूलाई बुझाउने प्रस्ताव राख्नुभयो । त्यही अनुसार २००८ सालमा कम्युनिस्ट पार्टीले खमार रोक्का अभियान चलायो । त्यही आन्दोलन नै झापाको पहिलो किसान आन्दोलन थियो र ढकाल त्यसका एक अङ्ग हुनुहुन्थ्यो ।

खमार रोक्का आन्दोलन चलिरहेको बेलामा उहाँ कामले भद्रपुर जानु भएछ । त्यहाँ भवानीशंकर राइस मिलमा काँचकाँचै धानका बोरा–बोरा देखेर उहाँले सोध्नु भएछ । बुझ्दा गोपालकृष्ण प्रसाईंका खमारबाट ल्याइएको भन्ने थाहा लागेछ । त्यसपछि उहाँलाई कम्युनिस्ट नेताहरूसित मन भाँचियो । उहाँलाई त्यही घटनापछि कम्युनिस्ट नेताहरूसित वितृष्णा पलायो । किसान र गरीव जनताको उद्धार गर्ने नीति लिएर हिँड्ने कम्युनिस्टहरूको चरित्र देखेर उहाँ छक्क पर्नुभयो– त्यो घटनाले । त्यस घटनापछि उहाँले आफ्नै किसिमले आफ्नो व्यवहार गरिरहनु भयो । तर, कम्युनिस्टहरुसँग विचार र सिद्धान्तले भने अलग हुनुभयो ।

वि.सं. १९९७ फागुन १५ गतेका दिन १० वर्ष पुगेर ११ वर्ष लागेकी तुलाससित उहाँ १९ वर्षको हुँदा विवाह सम्पन्न भएको थियो । वि.सं. २००४ सालदेखि उहाँ दम्पतिसहित झापा बस्न थाल्नुभयो । त्यसपछि लामो जीवन तुलासदेवीसित बिताउनुभयो । वि.सं. २०६१ चैत १९ गते तुलसाको स्वर्गारोहण भयो । त्यसपछि उहाँले विदुर जीवन बिताइरहनु भएको थियो । उहाँका अनुसार उहाँको ‘सम्पूर्ण व्यवहार तुलासादेवीले गरेको हो ।’ उहाँका अनुसार ‘सबै छोरा–बुहारी, छोरी–ज्वाइँ, नातिनातिनाहरूको हेरचाह, स्याहार–सम्भारका साथै जायजेथाको व्यवस्था तुलासाले नै गरेको हो ।’ यसरी आफ्नो धर्मपत्नी तुलसालाई सम्झेर चित्त बुझाउनु हुन्थ्यो उहाँ । पत्नीसितको वियोग उहाँको ८२ वर्षको उमेरमा भयो । तर, विदुर जीवन छोराबुहारीहरूका साथमा बिताउनु भयो । पत्नीको वियोग भयो, त्यो पनि सहनु भयो । लालगेडी जस्ता छोराहरूको मृत्यु भयो, त्यो पनि सहनु भयो । आज्ञाकारी छोराको निधन भयो, त्यो पनि व्यहोर्नुभयो । जस्तै कष्ट आइपरे पनि यो प्रकृतिको खेल भन्दै स्वीकार्नु भयो । उहाँ साह्रै सहनशील र धार्मिक व्यक्तित्व हुनुहुन्थ्यो ।

उहाँ र उहाँको परिवारको सल्लाहले उहाँले विभिन्न विद्यालयहरुलाई आर्थिक सहयोग गर्नुभयो । त्यस्तै झापादेखि प्युठानसम्मका विभिन्न धार्मिक संघ–संस्थाहरू तथा वैदिक विद्यालयहरुलाई आर्थिक सहयोग गर्नुभयो । उहाँ सामाजिक र धार्मिक व्यक्तित्व हुनुुहुन्थ्यो । राष्ट्रिय व्यक्तित्व, राष्ट्र गुरू योगी नरहरिनाथ झापा आउनुहुँदा उहाँकै निवासमा वास बस्नुहुन्थ्यो । परशुराम ढकालज्यूलाई योगीहरूले तपाईहरू राष्ट्रिय विभूति कुलानन्द जैसीका सन्तान हुनुहुन्छ भनेर भन्नुभएको थियो । त्यही भएर उहाँका ज्येष्ठ सुपुत्र मदन ढकाल आफ्नो थर ‘कुलावंशी’ लेख्नुहुन्थ्यो । धार्मिक तथा सामाजिक कार्यका लागि परशुराम ढकाल र श्रीमती तुलसा ढकालका हातहरू सधैँ खुला रहन्थे ।

पत्नी वियोगपछि पनि उहाँ आफ्नै छोराबुहारी, नातिनातिनासित रमेर बस्नुभयो । परशुराम ढकालका लामो जीवनमा थुप्रै साथीहरू भए । त्रिलोचन पोख्रेल र राइटर पूर्णप्रसाद प्रसाईंका छोराहरू, भाइभतिजाहरू र अन्य थुप्रै व्यक्तिहरू उहाँका साथीसंगी थिए । तर, जीवनको उत्तराद्र्धमा बिहानबेलुका घुम्ने तीन जना साथीहरू मुख्य थिए । तिनमा नरेन्द्रनाथ बाँस्तोला, जि. पदमबहादुर गिरी र हाजिरा बाजे नामले परिचित दिनानाथ घिमिरे थिए । ती बाहेक टुङ्गबहादुर बस्नेत र गंगा उप्रेती आदिसँग पनि पछिल्लो समय घनिष्टता थियो । उहाँहरूका बीचमा जीवनका उकाली–ओराली, देउराली भञ्ज्याङहरूका कुरा हुन्थे । तराईको औलो, २००७ सालको क्रान्ति, त्यसपछिका परिवर्तनहरू आदिका कुराहरू हुने गथ्र्यो । एकपटक मसँगको भेटमा थुप्रै अर्ति दिनुभयो । त्यहीबेला मलाई कसैले मोबाइलमा फोन ग¥यो । मैले फोनमा कुरा गरिसकेपछि उहाँले भन्नुभयो ‘सरोज भाइ यो ढाँटयन्त्र रहेछ । अस्ति मेरैसामु मेरो भदोले बिर्तामोडमा बसेर ‘म अहिले इटहरीमा छु, भोलि आउँछु अनि कुरा गरौँला’ भन्यो । यो कुरा सुनेर म छक्क परेँ, कसरी ढाँट्न सकेको होला, सो दिनदेखि म यो मोबाइललाई ‘ढाँट’ भन्छु भन्दै हाँस्नु भयो । यस्ता सरल जीवनशैली अपनाउने, सधैँभरि दौरासुरुवाल, कोट टोपी लगाउने परशुराम ढकालले राणा शासन देख्नु र भोग्नु भयो ।

वि.सं. २००७ को जनक्रान्ति देख्नुभयो । राजा त्रिभुवन राजगद्दी बाजी लगाएर प्रजातन्त्रको लागि होमिएको पनि देख्नुभयो । त्यसपछि अन्तरिम शासन व्यवस्थाको वि.सं. २०१५ सम्म पनि भोग्नुभयो । वि.सं. २०१५ मा नेपाल अधिराज्यमा भएको आम चुनावमा पनि भाग लिनुभयो । वि.सं. २०१६ को नेपाली कांग्रेसको शासन पनि देख्नुभयो । वि.सं. २०१७ सालमा संसदीय व्यवस्थाको विगठन भएर पञ्चायती व्यवस्था आएको र त्यसले ३० वर्षसम्म शासन गरेको पनि भोग्नु भयो । वि.सं. २०३६ सालको जनमत संग्रहमा पनि भाग लिनु भयो । वि.सं. २०४६ सालमा आएको बहुदलीय व्यवस्था आफ्नै आँखाले देख्नुभयो । त्यसपछि माओवादी द्वन्द्व र त्यसले उत्पन्न गराएको राष्ट्रिय आतंक पनि व्यहोर्नुभयो । गणतन्त्र देख्नुभयो तर भोग्नु भएन । छोराहरूले भोग्दैछन् । यसरी जहानियाँ राणा शासनदेखि प्रजातन्त्र, पञ्चायती व्यवस्था, प्रजातन्त्रको पुनस्थापनाः, माओवादी द्वन्द्व, गणतन्त्र सबै व्यवस्थाको साक्षीको रूपमा परशुराम ढकाल रहनुभयो ।

परशुराम ढकाल आफ्नो परिश्रममा विश्वास गर्नुहुन्थ्यो । उहाँलाई कुनै व्यवस्था आए पनि केही फरक परेन । उहाँ योगी नरहरिनाथले भन्ने गरे झैं आफ्ना ‘दाँते पाखुरी’ चलाउनमा विश्वास गर्नुहुन्थ्यो । त्यही भएर उहाँ र उहाँकी श्रीमती तुलसाले उहाँहरूको दाँते पाखुरी चलाएरै झापामा दस विगाह जमीन जोड्नुभयो । छ जना छोरा र एउटी छोरीको विवाह गरेर योग्य बनाउनुभयो । सबैलाई हाइस्कूलसम्म पढाउनुभयो । त्यसपछि इच्छा हुने छोराहरूले एमए, डबल एमएसम्म गरे । परशुराम जस्तै आफ्ना ‘दाँते पाखुरी’मा विश्वास गर्ने व्यक्तिले नै यो संसारलाई राम्रोमा अझ राम्रो पारेर सिंगार्न सक्छन् । परशुराम ढकाल रामायणबाट प्रभावित हुनुहुन्थ्यो । उहाँ एक पत्नीव्रत हुनुहुन्थ्यो । उहाँ अत्यन्त नीतिवान व्यक्ति हुनुहुन्थ्यो । त्यही भएर उहाँका सन्तानहरू हाम्रो वैदिक सनातन धर्ममा अटल आस्था राख्ने गर्दछन् । उहाँ र उहाँकी धर्मपत्नी तुलसाले दिएको संस्कारमा उहाँका छोराबुहारी, नातिनातिनाहरू परिपालित छन् । जीवनकालमा राजनीतिबाट पूर्णरुपले अलग नरहनुभएका उहाँले किसान संगठनको नेतृत्व गर्नुभएको थियो भने तत्कालीन शनिश्चरे गाउँ पञ्चायतमा वडाध्यक्षको जिम्मेवारी पनि निर्वाह गर्नुभएको थियो । शनिश्चरे माध्यमिक विद्यालय, महेन्द्र रत्न माध्यमिक विद्यालयको सञ्चालक समितिमा रहेर शिक्षा सेवा गर्नुभएका परशुराम ढकालले हालको देवी मावि, लक्ष्मी माविको सञ्चालक समितिको अध्यक्षका रुपमा समेत शैक्षिक सेवा गर्नुभएको थियो ।

साह्रै स्वच्छ र पवित्र हृदय भएका कुलवंशी परशुराम ढकाल हुनुहुन्थ्यो । उहाँले आफ्ना दाँते पाखुरी चलाएर, पसिना बगाएर कमाएको सम्पत्ति आफ्ना सन्तानहरूलाई दिनुका अतिरिक्त धर्मशाला बनाउन, पाठशाला बनाउन र धार्मिक मठमन्दिरमा समेत खर्च गर्नुभएको छ । यस्ता धार्मिक, सामाजिक, शिक्षाप्रेमी व्यक्ति, बिर्तामोडका हाम्रा अभिभावक, आफ्ना अमर वाणीहरूबाट हामीलाई अभिसिञ्चित गरिरहने हाम्रा प्रेरणाका स्रोत, असल गुणले भरिपूर्ण परशुराम ढकालको ९९ वर्षको उमेरमा वि.सं. २०७७ कात्तिक ९ गते नवमी तिथिका दिनको आफ्नै निवासमा स्वर्गारोहण भयो । उहाँप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै यो कलम बिसाउँछु । अस्तु ।
तुतबारी, शनिश्चरे–८

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here