झापामा संक्रमण बढ्यो

८ बैशाख २०७८, बुधबार मा प्रकाशित

बिर्तामोड।

झापामा दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको पाइएको छ । भारतमा कोरोना संक्रमणको दर बढेसँगै बिहार र पश्चिम वंगालसँग सीमा जोडिएको झापामा दिनानुदिन संक्रमितको संख्या थपिँदै गएको हो ।

भारतबाट आउने नेपालीका कारण झापा कोरोना संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका अधिकारीहरुले बताउँदै आएका छन् । अहिले भारत लगायत तेस्रो देशबाट आएका नागरिकलाई सुरक्षित तवरले राख्न नसक्नु मुख्य चुनौति रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाँईले बताए ।

झापामा एउटा नाकाबाट मात्रै ६ हजार सात सयको हाराहारीमा दैनिकजसो मानिस आइरहेका छन्– चम्लगाँईले भने– ‘उनीहरुलाई नाकामा नै हेल्प डेस्क राखेर स्वास्थ्य परीक्षण नगर्ने हो भने ठूलो समस्या निम्तिन सक्छ, यसतर्फ सबै पालिकाहरुसँग अहिले सहकार्य भइरहेको छ ।’

ठूलो संख्यामा नेपाल भित्रिने नेपाली नागरिकको स्वास्थ्य परीक्षण कतिको सहज छ, त्यसका लागि स्थानीय पालिकासंग परामर्श भइरहेको छ– चम्लागाँईले भने– ‘सम्भव भएसम्म दैनिक ‘सिफ्ट ड्युटी’ मा ५ देखि ६ जना स्वास्थ्यकर्मी परिचालन गरेर स्वास्थ्य जाँच गर्ने प्रयास गरिरहेका छौं ।’

अहिले नाकामा नै स्वास्थ्यकर्मी परिचालन गरेर नेपाल प्रवेश गर्ने नागरिकको स्वास्थ्य अवस्था बुझ्दै कोरोनाको लक्षण देखा परेका वा शंकास्पद व्यक्ति भए परीक्षण गर्दै क्वारेन्टाइनमा राखेर कोरोना देखिए मेची प्रादेशिक अस्पताल भद्रपुरमा राख्ने व्यवस्था मिलाएका छौं– चम्लागाँईले भने ।

हाल झापामा चार हजार ६ सय ९८ कोरोना संक्रमित भेटिएका छन् । जसमा ४ हजार ५ सय ७ जना उपचारपछि घर फर्किएका छन् । अहिले पनि कोरोना संक्रमित ६२ जना उपचाररत् छन् ।
झापामा हालसम्म ४० हजार सात सय ७१ जनाको कोरोना परीक्षण गरिएको छ । जसमा ३७ हजार तीन सय ५२ जनामा कोरोनाका लागि पीसीआर परीक्षण गरिएको हो । बाँकीको शुरुका दिनमा आरडीटी परीक्षण गरिएको थियो ।

अहिले होम आइसोलेसन, सामुदायिक आइसोलेसन र हस्पिटल आइसोलेसनमा गरी ६२ जना रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चम्लागाँईले बताएका छन् । कोरोना संक्रमणकै कारण हालसम्म झापामा ९० जना पुरुष र ३९ जना महिला गरी १२९ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो समय देखिएको कारोना परीक्षणका लागि २३ सय किट प्राप्त भएको बताउँदै चम्लागाँइले भने– ‘प्रत्येक पालिकालाई तत्कालका लागि एक–एक सय किट उपलब्ध गराएका छौं ।’ झापा जिल्ला बाहेक बाहिरी जिल्लाका नागरिक झापा हँुदै घर फर्कन्छन्, उनीहरुलाई व्यवस्थापन गर्न अहिले ठूलो चुनौति छ– चम्लागाँईले भने– ‘एक हजार वेडको होल्डिङ एरिया भारतसँग सीमाना जोडिएका पालिकाले बनाउने निर्णय मन्त्रि परिषद्ले गरिसकेको छ, सोही अनुरुप अहिले हामी पालिकासंग छलफल गरिरहेका छौं ।’

अहिले देखिएको कोरोना संक्रमण लक्षण नदेखिएका एक व्यक्तिबाट अर्काे व्यक्तिमा सरिरहेको छ– उनले भने– ‘अहिले नै हामी सचेत भएनांै भने भोलि भयावह अवस्था आउन सक्छ, जसका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आवश्यक छ ।’

कोभिड नियन्त्रणका लागि अहिलेको चुनौति भनेकै कोभिड देखिएकाहरुलाई व्यवस्थापन गर्नु हो– उनले भने – अहिलेदेखि हामी तयारी भएनांै भने भोलि अप्ठ्यारो अवस्था आए केही गर्न सक्ने अवस्था रहन्न । तसर्थ सबै नागरिक यस विषयमा सचेत हुन आवश्यक छ ।

पछिल्लो दुई महिनाको अन्तरालमा बिर्तामोड नगरपालिकामा कोभिडका विरामी नदेखिए पनि पछिल्लो केही दिन यता कोभिडका बिरामी देखिन थालेका छन् । जसले गर्दा बिर्तामोडमा कोभिडको चुनौति थपिएको छ । गत चैत २७ गतेयता बिर्तामोडमा फेरि दोस्रो चरणमा कोभिड देखिएको छ– बिर्तामोड स्वास्थ्य शाखाका कोभिड फोकल पर्सन ओम खड्काले भने– ‘आजका मितिसम्ममा २० जनामा कोरोना पोजेटिभ देखिसकेका छन् ।’

नेपाल सरकारले समेत झापाका तीन नगरपालिकालाई कोभिडको उच्च जोखिममा रहेको देखाएको छ, जस अनुरुप बिर्तामोड पनि उच्च जोखिममा रहेको छ– उनले भने– कोभिडको जोखिम बढेसँगै फेरि अर्काे त्रास आम नागरिकमा थपिएको छ ।

बिर्तामोडमा कोभिड व्यवस्थापनका लागि बिर्तामोड नगरपालिकाले पहिले नै यथावत राखेका सवै संरचनाको उपयोग गर्ने भएको छ । उनले भने– सबैसँग आवश्यक परामर्श गर्दै बिर्तामोड नगरपालिका कोरोना रोकथामका लागि जुटेको छ ।

यसैबीच वीएण्डसी मेडिकल कलेजका चिकित्सक डा. लक्ष्मण ठाकुरले कोरोना अटेरीका कारण फैलनसक्ने बताएका छन् । स्वास्थ्य सुरक्षा सावधानी नअपनाई हिँड्डुल गर्दा र अटेरी गर्दा कोरोना फैलन सक्छ । अहिलेको भाइरस पहिलेको भन्दा फरक रहेकोले लक्षण बिना पनि कुनै मानिस संक्रमित भइरहेको हुने सक्ने उनले बताए । उनले भने– अरुलाई कोरोना सार्ने सम्भावना रहेकाले हामी आफैं सचेत हुन जरुरी छ ।

कोरोना रोग नियन्त्रणका लागि स्थानीय तह र आम नागरिकहरुले के गर्न सकिएला भन्ने विषयमा रिपोर्टस् क्लव झापाले बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरेको थियो । सोही कार्यक्रममा सहभागीहरुले आफ्ना धारणा राखेका थिए । अबको मुख्य चुनौति कोभिड नै रहेकाले यसलाई व्यवस्थापनका लागि सबैले बेलैमा सोच्न जरुरी रहेको उनीहरुको भनाइ थियो । पत्रकारसँग भएको साक्षात्कार कार्यक्रमको सहजीकरण क्लवका प्रदेश संयोजक शेखर सेढाईँले गरेका थिए ।

महिलाभन्दा पुरुष धेरै संक्रमित

जिल्ला स्वास्थ्य कार्यालय झापाको पछिल्लो तथ्याङ्क अध्ययन गर्ने हो भने झापामा कोरोना संक्रमितमध्ये महिलाको तुलनामा पुरुष बढी छन् । अहिले भद्रपुर, मेचीनगर, दमक, हल्दिवारी र बाह्रदशी गाउँपालिकामा कोरोना संक्रमित देखिएका छन् ।

तथ्याङ्क अनुसार बाह्रदशीमा दुई, हल्दिवारीमा एक, दमकमा २१, मेचीनगरमा ४४ र भद्रपुरमा सात जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये पुरुषको संख्या धेरै रहेको पाइएको हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here