मालपोत अधिकृतदेखि कम्प्युटर अपरेटरसम्म फरार

८ बैशाख २०७८, बुधबार मा प्रकाशित

झापा।

बिर्तामोडका स्व. टुङ्गबहादुर बस्नेतको नाममा रहेको जग्गा अधिकृत वारेसनामा नै किर्ते बनाएर जग्गा अर्कोलाई बिक्री गरेको रहस्य बाहिरिएसँगै जिल्ला मालपोत तथा भूमि सुधार कार्यालय झापाका अधिकृतसहित कम्प्युटर अपरेटरसम्मका कर्मचारी फरार भएका छन् ।

झापा जिल्ला अदालत भद्रपुरले घटनामा संलग्न भएको व्यक्तिको नाममा थुनछेकको आदेश जारी गरेपछि मालपोत तथा तथा भूमि सुधार कार्यालयका पाँच जना कर्मचारी फरार भएका हुन् । तर, उनीहरु फरार नभई बिदामा बसेको मालपोत तथा तथा भूमि सुधार कार्यालयका प्रमुख योगेन्द्र दुलालले बताएका छन् ।

मालपोत अधिकृत चेतन अधिकारी, मोठ फाँटका सुब्बा हरि तिवारी, रजिस्ट्रेशन फाँटका सुब्बा चैतन्य घिमिरे, खरदार हेम शर्मा र कम्प्युटर अपरेटर झलेन्द्र बराल बिदामा बसेको प्रमुख दुलालले बताए । अदालतले पाँच जनामध्ये दुई जनाको नाममा थुनछेक आदेश जारी गरेको प्रहरी स्रोतले जनाएको छ ।

अन्य तीन जना घटनामा मुछिने डरले फरार भएको हुने सक्ने बताइएको छ । साबिक चारपाने गाविस–१ हाल बिर्तामोड नगरपालिका–१ अन्धुवा पुल नजिक पूर्व–पश्चिम राजमार्ग नजिकै स्वर्गीय टुङ्गबहादुर बस्नेतको कित्ता नम्बर ४१८३को एक कठ्ठा पौने १४ धुर जमिन बिर्तामोड नगरपालिका–७ निवासी रञ्जु राईको नाममा रजिस्ट्रेशन पास भएको छ ।

उक्त जग्गा २०७७ साल माघ २१ गते राईको नाममा रजिस्ट्रेशन पास भएको छ । तर, जग्गाधनी बस्नेतको २०७६ साल साउन २४ गते निधन भइसकेको थियो । नक्कली टुङ्गबहादुर बनेका व्यक्तिले ७१ वर्षको उमेर खुलाएर काठमाडौँ जिल्ला अदालतमा गएर अधिकृत वारेसनामा बनाएका थिए । उनले २०७६ असोज २८ गते बाह्रदशी गाउँपालिका–३ डाँगावारी बस्ने ३९ वर्षीय मङ्गलसिंह राजवंशीको नाममा वारेसनामा बनाएको र राजवंशीले राईलाई सो जमिन ८४ लाख ३७ हजार ५ सय रुपैयाँमा बिक्री गरेको मालपोतको स्रेस्तामा देखिन्छ ।

कर्मचारी नहुदा सेवाग्राहीलाई सास्ती

माई पूर्वका कनकाई, बिर्तामोड, अर्जुनधारा, मेचीनगर, भद्रपुर, बुद्धशान्ति, हल्दिबारी, कचनकवल र बाह्रदशी गरी आठ वटा स्थानीय तहको जग्गा सम्बन्धी सबै काम मालपोत तथा भूमि सुधार कार्यालय झापा भद्रपुरले हेर्ने गरेको छ । विभागले त्यसका लागि कार्यालयमा प्रमुख मालपोत अधिकृतदेखि कम्प्युटर अपरेटरसम्म ५३ जना कर्मचारी दरबन्दीमा खटाएको छ । तर, हाल कार्यालयमा १२ जनाभन्दा बढी कर्मचारी छैनन् । जग्गा प्रकरणमा मुछिएका पाँचसहित तीन जना मालपोत अधिकृत, अन्य केही कर्मचारी बिदामा बसेका छन् ।

कार्यालयमा पर्याप्त कर्मचारी नहुँदा एक दिनमा हुने काम चार दिन सम्ममा पनि नसकिँदा सेवाग्राहीले सास्तीसँगै हैरानी व्यहोर्नु परेको छ । सेवाग्राही कमल राईले भने– जमिन रजिस्ट्रेशन पास गराउन आएको आज चार दिन भयो, अझै पनि काम सकिएको छैन । मालपोत अधिकृत नहुँदा एक दिनमा हुने काम चार दिनसम्म धाउनु परेको अर्का सेवाग्राही मञ्जु राजवंशीले गुनासो गरिन् । मैले बुझे अनुसार पाँच जना अधिकृत हुनुपर्नेमा अहिले एक जना अधिकृतले सबै काम हेरिरहेका छन्, त्यसैले गर्दा पनि कार्यालयको कामकाजमा ढिलासुस्ती भएको हो– उनले पूर्वाञ्चलकर्मीलाई भनिन् ।

यता प्रमुख मालपोत अधिकृत दुलालका अनुसार कार्यालयमा पाँच जना मालपोत अधिकृतको दरबन्दी रहेको छ । अहिले दुई जना अधिकृत मात्रै कार्यरत छन्– अधिकृतद्वय चेतन अधिकारी र कमल पनेरु । त्यसमा पनि अधिकारी बिदामा बसेका र अधिकृत पनेरुले सेवा दिइरहेको उनले बताए ।
केही दिनअघि अधिकृत लक्ष्मी खरेलको बढुवा भएपछि उनी सरुवा भएर गइसकेका छन् । अन्य दुईको दरबन्दी खाली थियो । खरेल गएपछि अहिले तीन जना अधिकृतको दरबन्दी खाली भएको उनले बताए ।

कार्यालयमा कर्मचारी नहुँदा दैनिक कामकाज प्रभावित बनेको स्वीकार्दै प्रमुख मालपोत अधिकृत दुलालले भने– ‘विभिन्न घटनाका कारण अहिले अधिकृतहरू मालपोत आउन चाहँदैनन्, उनीहरू स्थानीय तहमा जान रुचाउँछन्, त्यसैले पनि समस्या उत्पन्न भएको हो ।’ ‘कामकाजलाई छिटोछरितो र सहज बनाउने हाम्रो दायित्व हो’– उनले भने– ‘त्यही भएर अधिकृत नहुँदा अहिले रजिस्ट्रेशन फाँटका सुब्बालाई अधिकृत सरहको जिम्मा दिएका छौँ ।’

२४ जनाभन्दा बढी व्यक्तिको नाम थुनछेक आदेश

झापा जिल्ला अदालतले बस्नेत जग्गा प्रकरणमा मुछिएका व्यक्तिको नाममा थुनछेक आदेश जारी गरिसकेको प्रहरी स्रोतले जनाएको छ । अदालतले थुनछेक आदेश जारी गरेसँगै प्रहरी कार्यालय झापाले जग्गा प्रकरणमा मुछिएका व्यक्तिहरूलाई धमाधम पक्राउ गरिरहेको छ ।

झापा प्रहरीले अहिलेसम्म १० जनाभन्दा बढीलाई पक्राउ गरिसकेको छ । तर, उनीहरूको नाम प्रहरीले खुलाउन चाहेको छैन । पक्राउ परेका व्यक्तिहरूमाथि प्रहरीले छानबिन गरिरहेको छ । प्रहरीले हालसम्म वारेसनामा भएका व्यक्ति बाह्रदशी–३का मङ्गलसिंह राजवंशी, जग्गा किन्ने रञ्जु राई र उनका श्रीमान् गोविन्द राईसहित १० जनालाई पक्राउ गरेको हो । व्यक्तिको जग्गा हडप्ने उनीहरूमाथि सांगठनिक गिरोह अपराधमा प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीले अनुसन्धान थालेको पनि झण्डै दुई महिना बित्न लाग्यो । तर, अहिलेसम्म फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।

यता प्रमुख मालपोत अधिकृत दुलालले बस्नेत जग्गा प्रकरणमा कर्मचारीको कुनै दोष नरहेको दाबी गरेका छन् । ‘अदालतबाटै व्यक्तिको नाममा वारेसनामा आएपछि सोही अनुसार कर्मचारीले जमिनको रजिस्ट्रेशन पास गरेको हो’– उनले भने– ‘कार्यालयका कर्मचारीलाई कसरी थाहा हुन्छ, को व्यक्ति सही वा गलत हो भनेर ? हामीले त अदालतको कागज अनुसार काम गरेका छौँ ।’ कार्यालयका पुराना कर्मचारीहरू सरुवा भएर अन्यत्र जानु, अनि नयाँ कर्मचारी आएपछि घटना हुनु, यो बाहिरीबाटै ठूलो योजना बनेको हुनुपर्छ– उनले भने ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here