कोरोनाको संक्रमण बढ्दै गएपछि झापामा साउन ३२ गतेसम्म लकडाउन

0
718

झापा ।

झापामा कोरोनाको संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले साउन महिनाभर लकडाउन थप गरेको छ । गत साउन १६ गतेदेखि जिल्लाभर लागु भएको सिल ३२ गतेसम्म थप भएको हो । जिल्ला कोभिड व्यवस्थापन समितिको आज बसेको बैठकले कोरोना संक्रमणको दर नघटेको भन्दै सिल साउन महिनाभर गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा भएको बैठकले औषधी, स्वास्थ्य सामग्री, ईन्धन बाहेकका अन्य पसल तथा व्यवसाय पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो । तरकारी, फलपूmल, माछामासु विहान ६ बजेदेखि ९ बजेसम्म बिक्री गर्न पाइने जनाइएको छ । यसअघि यि पसल सञ्चालनको अवधि ६ बजेदेखि ८ बजेसम्म रहेको थियो ।

अत्यावश्यक सेवा सञ्चालन गर्ने बाहेकका सरकारी तथा सार्वजनिक कार्यालयको सेवा स्थगन गर्ने र कर्मचारीले विहान ९ बजेदेखि १० बजेसम्म र बेलुका ५ बजेदेखि ६ बजेसम्म मात्र सरकारी तथा निजी सवारी साधानमा आवतजावत गर्ने पाउने निर्णय बैठकले गरेको छ ।

बैंक तथा वित्तीय संस्थाले सम्वन्धित माथिल्लो निकायको स्वीकृति लिई न्युनतम कर्मचारीको उपस्थितिमा हप्ताको तीन दिन आलोपालो मिलाइ सञ्चालन गर्न पाउने निर्णय बैठकले गरेको छ । उद्योग सञ्चालन गर्दा सकेसम्म थोरै जनशक्तिबाट सञ्चालन गर्ने र उनीहरुलाई खाना र बस्ने व्यवस्था उद्योग परिसर भित्रै मिलाउन डीसीसीएमसीको बैठकले निर्देशन दिएको छ । झापामा संक्रमितको र मृत्युदर बढ्दै गएको छ । अधिकांश अस्पतालहरु भरिभराउ भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here