मलाला यसरी भइन् चर्चित

0
732

मलाला स्वयम्ले बताएकी छन् कि उनलाई तालिवानले के गरे । मलाला अमेरिकाको बोस्टनमा फेशियल परालिसिसको एक सर्जरी गराइरहेकी छन् । यो सर्जरी पाकिस्तानी तालिवानले गोली हानेका कारण गर्नु परेको हो । १२ अक्टुबर २०१२ (कतै ९ तारिख पनि उल्लेख गरिएको छ)मा पाकिस्तानी तालिवानका चरमपन्थीले मलालालाई गोली हानेका थिए । मलाला त्यतिखेर स्कूल जाने बाटोमा थिइन् ।
मलालाले भनेकी छन् कि– ‘नौ सालपछि पनि म त्यही एक गोलीको पीडाबाट बाहिर निस्कन सकेकी छैन ।’ मलालाले बताएकी छन् कि– ‘म बोस्टनको अस्पतालको बेडमा छु । यो मेरो छैठौं सर्जरी हो । तालिवानले हानेको गोली मेरो बायाँ आँखा, खोपडी र मस्तिष्कसम्म छिरेको थियो । मेरो फेसियल नर्भलाई पनि नोक्सान गरेको छ । मेरो जबडाको ज्वाइन्ट टुट्यो । पाकिस्तानको पेशावरमा जो सर्जनले मेरो शुरुवाती उपचार गरे, उनले गर्दा म आज जिउँदो रहेको हुँ । जब मेरा शरीरका अंगहरुले काम गर्न थाले तब मलाई थप उपचारका लागि अन्य मुलुक लगिएको थियो । जब मेरो आँखा खुल्यो तब मलाई लाग्यो म जिउँदो छु, तर मलाई थाह थिएन कि म ब्रिटेनको बर्मिङ्गमको क्वीन एलिजाबेथ हस्पिटलमा छु ।’

तालिबान सोच्द थिए कि, मलालालाई गोलीले चुप लगाउन सकिन्छ, तर मलाला बाचिन्, बाचिन मात्र होइन विश्वकै बालिका, किशोरी, युवती तथा महिलाहरुका लागि प्रेरणा बनेर उदाइन् । अहिले मलालालाई सारा विश्वले नै सुन्दैछ । मलाला बालिका, किशोरी, युवती तथा महिलाहरुका लागि प्रेरणा बनिरहेकी छन् । उनलाई शिक्षामा डेडिकेशन, आत्मविश्वास, साहस र महिला अधिकारका बारेमा बढी याद गरिन्छ । उनी एक सिपालु पब्लिक स्पिकर र एक ओपन माइन्डेड युवती हुन् । यसको मतलब यो हो कि, उनी कट्टरता मन पराउँदिनन् त्यसमा पनि महिलाहरु उपर हुने कट्टरतामा उनी परिवर्तन ल्याउन चाहन्छिन् । उनी सधैँ नयाँ कुरा जान्न इच्छुक रहन्छिन् र आपूmले सिकेको जानेको ज्ञानका माध्यमबाट आफ्नो समुदायमा परिवर्तन ल्याउन चाहन्छिन् । मलाला आफ्ना समुदायका मानिसहरुका शिक्षाका लागि बोल्छिन् । कट्टर पुराना चलनहरु परिवर्तन होस् भन्ने चाहन्छिन् र आफ्ना समुदाय खुल्ला समाजमा परिवर्तित होस भन्ने चाहन्छिन् त्यसैले पनि होला कट्टरता मन पराउने तालिवानको निशानामा मलाला परेकी हुन् ।

मलाला किशोरी अवस्थामै एक एक्टिभिष्टको रुपमा अगाडि आइन् । उनको साहस र अभियानको कदर स्वरुप ११ वर्षकै उमेरदेखि नै थुप्रै पुरस्कारहरुबाट सम्मानित हुन थालेकी हुन् । त्यसैले पनि सानैदेखि उनको चर्चा चुलिँदै आएको हो । उनी एसर्टिभ र प्रोयाक्टिभ किसिमकी छन् । उनी कोमल भाषामा बोल्छिन् र कसैप्रैति कडा बचन बोल्दिनन्, यहाँसम्मकी उनलाई नोक्सान गर्नेहरु प्रति पनि । उनी एक जुझारु र आशावादी युवती हुन् । उनी आफ्ना समुदायका बालिका, किशोरी, युवती या महिलाहरुका लागि मात्र नभएर विश्वभरकै बालिका, किशोरी, युवती र महिलाहरुका लागि प्रेरणा भएर उदाइरहेकी छन् ।

‘जब बालिकाहरुलाई शिक्षा र सीप विकास गर्ने अवसर दिइन्छ र आफ्ना भिजन र ध्येय सेट गर्न दिइन्छ उनीहरुले साँच्चै शिक्षाको महत्व पत्ता लगाउँदछन् । बालिकाहरुका लागि शिक्षा कतिको महत्वपूर्ण छ भन्ने कुरा अनि थाह हुन्छ । त्यसपछि उनीहरुले आफ्ना सुखद् र सफल भबिष्य आबिष्कार भएको पाउँछन् ।’ विश्वका धेरै भागमा आज मलालाका यस्ता विचारहरुबारे विमर्श हुन्छन् । मलालाका कथा र अभियानहरुलाई बालिकाहरुको शिक्षामा थोरै भए पनि समावेश गरेर अनौपचारिक रुपमै पनि अपाउन थालिएका छन् । बालिका तथा महिला अधिकारका क्षेत्रमा काम गर्नेहरुले त मलालाका विचारलाई मार्गदर्शन कै रुपमा लिन थालेका पाइन्छन् ।

मलालाको खास विशेषताः मलाला खासगरी हरेक बालिकाहरुका शिक्षा र स्वतन्त्रताको अधिकार लागि पाकिस्तान र समग्र विश्वका काम गर्दछिन् । पाकिस्तानमा बालबालिका, खासगरी बालिका, किशोरी, युवती र महिलाहरुका अधिकारहरु उल्लंघन हुने गरेका छन् । त्यसैले मलालाको कामलाई पाकिस्तानका बालबालिकाहरु लगायत धेरैले प्रेरणाको रुपमा लिने गर्दछन् । मलालाको विचार र आवाज पाकिस्तानभित्र मात्र होइन विश्वमा नै बुलन्द हुँदै आएका छन् ।

मलालाका महान भनाइ– ‘म बालिका भएको नाताले चर्चित हुन चाहन्न जसलाई तालिवानले गोली हान्यो, म त्यस्तो केटी हुन चाहन्छु । जसले सबै बालबालिकाका लागि विशेषगरी बालिकाहरुका शिक्षाका लागि संघर्ष गर्दछ ।’ मलालाले लामो समयसम्म पाकिस्तानको स्वात भ्याली (देशको उत्तर पश्चिमी पहाडी हिमाली भेग)मा बालिकाहरु स्कूल जान पाउने अधिकारका लागि संघर्ष गरिन् । यही कारण हुन सक्छ तालिवानले बालिका शिक्षाको अधिकारबारे सोच्ने दिमाग भएको मलालाको टाउको मै गोली ठोके । मलाला मरिन् भनेर छाडे तर मलालाले उपचारको क्रममा जब आँखा खोलिन् उनी विश्वका लागि महान प्रेरणा बनिसकेकी थिइन् । यहीँबाट उनको चर्चा अझ चुलिएर आएको हो । अहिले त उनी निकै परिपक्व भइसकिन् । उनी अहिले पाकिस्तानमा छैनन् । पाकिस्तानमा हुँदीहुन् त उन्लाई तालिवानले जिउँदो छाड्ने छैनन् । उनी अहिले अमेरिकामा विश्वविद्यालयमा पढ्दैछिन् ।

बालबालिकाको जीवनलाई सही आकार दिन अभिभावकको महान भूमिका हुन्छन् भन्ने उनको सोच छ । मलाला आज जुन विचार र साहसका साथ विश्वमा देखा परिरहेकी छन् । त्यसमा उनका बाबुको महान भूमिका रहेको छ भनेर मलालाबारेका पुस्तक पढ्नेहरु बताउँछन् ।

सन् २०१२ मा जब उनी मात्र १५ वर्षकी भएकी थिइन् उनलाई युनाइटेड नेशन (यू.एन.) मा निम्ता गरियो । त्यहाँ विश्वका ८० राष्ट्रहरुबाट १०० उच्च प्रतिनिधिहरुले मलालालाई सुने । मलालाले त्यहाँ भनिन् कि– ‘आज सबै बालबालिका, महिलाहरुका लागि शुभ दिन हो जसले उनीहरुको अधिकारको आवाज उठाए । आउनुहोस् हामी साक्षरता, शिक्षा, गरिबी र आतंकवादका विरुद्ध संघर्ष गरौं । आउनुहोस् हामी पुस्तक र कलम बोकौं । यी कुराहरु हाम्रा लागि त्यस्ता हतियार हुन् जसले विश्वको सबै समस्या हल गर्दछ । सबैभन्दा पहिला शिक्षा रोजौं ।’

मलाला (मलाला यूसुफजइ) सन् २०१४ मा नोवेल शान्ति पुरस्कारबाट सम्मानित भइसकेकी छन् । मलाला नोवेल पुरस्कार पाउनेमा सबैभन्दा कान्छी उमेरकी हुन् । किनकि उनले १७ वर्षको उमेरमा नै नोबेल पुरस्कार हात पारिन् । नोबेल पुरस्कार कमिटीले मलालालाई नोबेल शान्ति पुरस्कारबाट पुरस्कृत गरिनुको उद्देश्य यस्तो बताएको छ– ‘मलालाको त्यो संघर्षका लागि उनलाई नोबेल शान्ति पुरस्कारबाट पुरस्कृत गरिएको हो, उनले बालबालिका, किशोर–किशोरी र युवायुवतीहरुलाई पछाडि पारिने प्रचलनविरुद्ध र बालबालिकाको शिक्षाको अधिकारका लागि मलालाको संघर्षका लागि पुरस्कृत गरिएको हो ।’ नोबल पुरस्कार कमिटीले थप ब्याख्या यो पनि गरेको छ कि ‘अतिवादविरुद्धको संघर्षका लागि पनि मलालालाई पुरस्कृत गरिएको हो ।’

भर्खरै तालिवान अफगानिस्तान वापस आएका छन् । सिमाना जोडिएको देश पाकिस्तानमा पनि तालिवानको प्रभाव निश्चित पर्ने देखिन्छ । अफगानिस्तान वापस आएका तालिवानहरुले महिलाहरुलाई पनि समान अवसर दिइने कुरा बताइरहेका छन् । तालिवानको नीतिमा सुधार आएमा अतिवादबाट ग्रसित मलालाको देश अपाकिस्तान लगायत अफगानिस्तानमा समेत मलालाले चाहे जस्तै त्यहाँका बालबालिका, किशोरी–किशोरी, युवायुवती खासगरी बालिका, किशोरी र युवतीहरुले सहजै स्कूल गएर शिक्षा हासिल गर्न पाउने छन् । महिलाहरुको स्वतन्त्रता र समृद्धि निश्चित हुनेछ । (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here