प्रविधि र सहयोगले समृद्धि ल्याउँछ

0
719

भूगोलको विविधता सम्भावनाको स्रोत हो । भूगोल अनुसार माटो, हावापानी र धरातलको भिन्नता पौरखीहरुका लागि आर्थिक समृद्धिको आधार बन्न सक्छ । हाम्रो धरातलीय अवस्थितिले कृषि कर्मलाई अनुकूलता पनि दिएको छ । तर, आफ्नो माटोको सुगन्ध बिर्सिएर अरुको माटोमा सुगन्ध खोज्दै हिँड्ने ‘कस्तुरी’ हुन थालेका नेपालीका माझ पाँचथरका किसानहरु ‘रातो सुन’ अर्थात् अकबरे खुर्सानी खेतीमा रमाउन थालेका छन् । फाल्गुनन्द गाउँपालिका–४ को चिलिङ्देनमा यतिबेला अकबरे खुर्सानी टिप्ने र बजारसम्म पु¥याउने चटारो छ । त्यसो त ‘पहाडको रानी’ भनिने इलामलाई अलैंची, अदुवा, अम्लिसो, आलु र ओलन उत्पादनको केन्द्र मानिन्थ्यो । अहिले पनि इलामेली किसानहरु कृषि कर्मलाई मुख्य पेशा बनाएर आयआर्जन गरिरहेका छन् ।

पाँचथरको चिलिङ्देनका किसानले अकबरे खुर्सानीको व्यवसायिक खेती गर्न थालेको दुई दशकभन्दा बढी भयो । तर, एक दशकअघि सिरिजङ्गा कृषि सहकारी संस्था स्थापना गरेपछि भने व्यावसायिकतासँगै बजारीकरणको प्रबन्धका साथ अकबरे आम्दानीको मुख्य स्रोत बनेको हो । त्यहाँको दुई सय रोपनी जग्गा उत्पादित खुर्सानी सो सहकारी संस्थाद्वारा स्थापित संकलन केन्द्रमा जम्मा गरिन्छ । प्रति हप्ता झण्डै तीस क्वीन्टल अकबरे खुर्सानी झापामा सञ्चालित चाउचाउ उद्योगका लागि बिक्री गर्ने गरिएको छ । खुर्सानी खेतीलाई नगदेबालीकै रुपमा लिइन्छ । त्यहाँ हावा–पानी र माटो अनुकूलको अकबरे खुर्सानीको खेती गर्न पाँचथर उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्र काठमाडौंले समेत उत्पादन, प्रशोधन, बजारीकरणका क्षेत्रमा सहयोग गरेको छ । कृषि ज्ञानकेन्द्र पाँचथरले प्रविधि र प्राविधिक सहयोग गरिरहेका कारण स्थानीय किसानले अकबरे उत्पादनलाई महत्वका साथ निरन्तरता दिइरहेका छन् ।

नेपाली भान्साको अपरिहार्य वस्तु भइसकेको खुर्सानी मध्येको ‘राजा’ भनिन्छ अकबरेलाई । थोरै जमिनमा, कम मेहनतबाटै मनग्ये आम्दानी हुन थालेपछि त्यहाँका धेरै किसान अकबरे खुर्सानी खेतीतर्फ आकर्षित भएका हुन् । चार रोपनी जमिनमा रोपेको खुर्सानीबाट मासिक सत्तरी हजारसम्म कमाई हुने गरेको किसानको भनाइ छ । विदेशको चर्को गर्मी खपेर, परिवारभन्दा टाढा रहेर, अनेक चिन्ताका माझबाट हुने आम्दानी घरमा परिवारसँगै बसेर गरेको आम्दानी मूल्यवान त हुन्छ नै सँगसँगै यसले आत्मनिर्भर पनि बनाउँछ । अकबरे खुर्सानीको सेवनले पेट सम्बन्धी समस्याबाट राहत हुने चिकित्सकले समेत बताउने गरेका छन् । हाम्रा परम्परागत कृषि प्रणालीमा प्रविधि र बजार लगायतका सेवा थप गर्ने हो भने खाद्यान्न आयातमा बाहिरिने मुद्राको सञ्चय गर्न ठूलो सहयोग पुग्ने थियो । त्यसैले सरकारले र धरातल अनुसारको कृषि कार्यका लागि आवश्यक सेवा र सहयोग गरेर देशको समृद्धितर्फ विशेष ध्यान दिनु पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here