कार्यालय समयमा चालक अनुमतिपत्रको अनलाइन आवेदन भर्न नपाइने

0
551

काठमाडौँ,

सेवाग्राहीले कार्यालयका समयमा चालक अनुमतिपत्रको अनलाइन आवेदन भर्न नपाउने भएका छन् ।

प्रणालीमा चाप बढी भएकाले तत्कालका लागि बिहान १० देखि अपराह्न ५ बजेसम्मका लागि सेवा चालु नगरिएको यातायात व्यवस्था विभागले जनाएको छ । देशभरका यातायात व्यवस्था कार्यालयहरूले यही प्रणालीबाट काम गर्ने र सेवाग्राहीले फारम भर्दा दोहोरो लोड भएको विभागका प्रवक्ता डा लोकनाथ भुषालले बताउनुभयो ।

उहाँका अनुसार अहिले प्राविधिकले लोड ब्यालेन्सका लागि काम गरिरहेका छन् । उहाँले भन्नुभयो, “यो साता सेवाग्राहीले बिहान र साँझ मात्रै फारम भर्न पाउनुहुन्छ ।” सेवाग्राहीले अनलाइन फारम भरेपछि फोटो खिचाउन, मेडिकल रिपोर्टलगायत कामका लागि कार्यालयमा जानुपर्छ ।

दुई वर्षदेखि नै सेवा बीचबीचमा अवरुद्ध हुँदा अनुमतिपत्रका लागि फारम भर्न नपाएका सेवाग्राहीले अहिले खुल्नासाथ भरिरहेका छन् । देशभरका १२ कार्यालयमा दैनिक लाखौँ सेवाग्राही आइरहेको र त्यो चापले गर्दा प्रणालीमा समस्या आएको प्रवक्ता डा भुषालले जानकारी दिनुभयो । विभागले गत वर्षदेखि अनलाइन आवेदन सुरु गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here