पारिवारिक बेमेलले घरेलु हिंसा बढ्यो

0
654

लक्ष्मी उप्रेती,मेचीनगर।

सवैभन्दा बढी घरेलु हिंसा पारिवारिक बेमेलका कारणले हुने गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय झापामा दर्ता भएका घरेलु हिंसाको उजुरीको तथ्यांक अनुसार सवैभन्दा बढी ५२ प्रतिशत घरेलु हिंसा पारिवारिक बेमेल (विविध पारिवारिक)का कारणले हुने गरेको छ । झापाको मेचीनगरमा आयोजित एक कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक सपना खड्काले प्रस्तुत गरेको तथ्याङ्कले यसलाई पुष्टि गरेको छ ।

यसैगरी ३२ प्रतिशत मादक पदार्थ सेवन र सामाजिक सञ्जाल तथा फोनको दुरुपयोगका कारण, १६ प्रतिशत घरेलु हिंसाको उजुरी प्रहरी कार्यालयमा परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक खड्काले जानकारी दिइन् ।
तथ्याङ्क अनुसार जिल्लामा रहेका १५ वटा पालिकामध्ये सवैभन्दा बढी बिर्तामोड नगरपालिकामा २४ प्रतिशत र सवैभन्दा कम बाह्रदशी गाउँपालिका ०.४८ प्रतिशत घरेलु हिंसाका घटना उजुरी दर्ता भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।

आर्थिक बर्ष २०७७/२०७८मा दर्ता भएका यौनजन्य अपराधको विवरण हेर्दा त्यो वर्ष दर्ता भएका यौनजन्य अपराधको संख्या १ सय ५६ वटा रहेको कार्यालयले जनाएको छ । आर्थिक बर्ष २०७७/०७८ मा घटेका यौनजन्य अपराधहरुको विश्लेषण अनुसार पीडितको उमेरको आधारमा घटेका यौनजन्य अपराधका घटनामा ३८ प्रतिशत १८ वर्ष मूनि उमेर समूहका रहेका छन् । आर्थिक बर्ष २०७६÷०७७ को अवधिमा घटेका यौनजन्य अपराधका घटनाका पीडित ३८ प्रतिशत १८ बर्षमुनि उमेर समूहका रहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिइन् । यस अवधिमा भएका यौनजन्य अपराधका घटनाका ४३ प्रतिशत पीडक १८देखि २५ वर्ष समेर समूहका रहेका छन् । शैक्षिक योग्यताका आधारमा तुलना गर्दा यौनजन्य अपराधमा पीडितमध्येका ७२ प्रतिशत महिला साधारण लेखपढ मात्र गर्न सक्ने र यौनजन्य अपराधमा संलग्न ३९ प्रतिशत पीडक साधारण लेखपढ गर्न समेत नजान्ने रहेको तथ्याङ्कमा छ ।

महिला तथा बालबालिकाबिरुद्घका अपराध, महिला हिंसाको तथ्याङ्क अनुसार जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयमा दर्ता भएका घरेलु हिंसाको ५ वर्षको तथ्याङ्क हेर्दा हरेक वर्ष झापामा महिला हिंसाका घटनामा बढोत्तरी हुँदै गएको छ । आर्थिक वर्ष २०७४/०७५मा महिला हिंसाका ६९ वटा निवेदन परेका थिए । तीमध्ये ६० वटामा सहमति, ४ वटा अदालत पठाएको र ५ वटा फछ्र्यौट हुन बाँकी रहेको थियो ।

यसैगरी, आर्थिक वर्ष २०७५/०७६मा त्यो संख्या बढेर दोब्बर भयो । १ सय ५२ वटा घटना हुँदा १ सय २० वटामा मात्र सहमति भएको थियो । ८ वटालाई अदालत पठाइएको भए पनि २४ वटा मुद्दा फछ्र्यौट हुन सकेका थिएनन् । आर्थिक वर्ष २०७६/०७७ मा महिला हिंसाका १ सय ८१ वटा उजुरी परेका थिए । १ सय ४३ वटा सहमति भएको, १३ वटा अदालत पठाएको र २५ वटा फछ्र्यौट हुन बाँकी रहेको कार्यालयको भनाइ छ । सवैभन्दा बढी आर्थिक वर्ष २०७७/०७८मा २ सय २० वटा उजुरी परेकोमा १ सय ७२ वटामा मात्र सहमति भएको छ । १४ वटा अदालत पठाएको र ३४ वटा फछ्र्यौट हुन बाँकी रहेको बताइएको छ ।

चालू आर्थिक वर्ष २०७८/०७९ को कात्तिक महिनासम्म ८३ वटा उजुरी दर्ता हुँदा ६९ वटामा सहमति भएको छ । २ वटा अदालत पठाइए पनि १२ वटा फछ्र्यौट हुन बाँकी रहेको बताइएको छ ।
यौनजन्य अपराधका सबैभन्दा धेरै घटनाहरुमा पीडकले पीडितलाई बिभिन्न डर, धाक त्रास, धम्की दिई घटना घटाउने गरेको पाइएको छ । यस्तै पीडितलाई बिभिन्न किसिमका प्रलोभनमा पारी यौनजन्य अपराधका घटनाहरु घटेको अनुसन्धानबाट खुलेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here