साइकल उपहार पाउँदा छात्राले ‘सौभाग्य’ ठाने

0
534

विनोद सापकोटा,
झापा ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ५ भेलामुनिकी सविता कार्की आइतबार अरु दिनको भन्दा निक्कै खुसी थिइन् । घरको आर्थिक अवस्थाकै कारण आफूले चढ्ने पुरानो साइकल विग्रेर हैरान भएकी उनले नगर प्रमुखको हातबाट नयाँ साइकल पाएपछि मुखमण्डल अन्य दिनको भन्दा भिन्न बनाइन् ।

घरबाट सवितालाई विद्यालय जान मात्रै झन्डै पौने घन्टा साइकलको यात्रा पथ्र्यो । त्यो पनि बाबाले रिण गरेर किनिदिएको सेकेन्ढहेण्ड साइकल दिनहुँ विग्रिन्थ्यो । थोत्रो साइकलका कारण आफुले कैयौ पटक पढाई छुटाउनु परेको उनले बताइन् ।

साथीहरू सरर साईकलमा चढेर घन्टी बजाउँदै विद्यालय जाने आउने गर्दा सविताको पुरानो साइकलले मन गह्रौ बनाथ्यो । उनले सोच्थिन ‘गरिवका पनि त दिन आउलान् ।’ शिवसताक्षी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष सत्यनारायण राजबंशीले दिएको साइकल थाम्दै भनिन् ‘नयाँ साईकल उपहार पाएँ । अब सोमवारदेखि म पनि सरर नयाँ साइकल चढेर विद्यालय जान्छु ।’

वडाले शिवगञ्जको जनआदर्श माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने विपन्न छात्राको पहिचान गरि २८ जनालाई साइकल उपहार दिएको हो । वडाको सिलिङ बजेटबाट वडा अध्यक्ष राजवशीले आफ्नो सेवा क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विपन्न छात्रालाई उपहार स्वरुप साइकल दिएको बताए ।

सविता जस्तै प्रेयङका ताजपुरिया पनि साइकल पाउने लाभग्राही छात्रा हुन् । उनको घर कनकाई नदिको किनारमा छ । विद्यालय जान आउन उनका बुबाले दिदिलाई किनिदिएको साइकल अहिले उनले प्रयोग गर्दे थिइन् ।

‘साइकल पुरानो र थोत्रो भएकाले घन्टी पनि बजाउनु पर्देन थियो । साइकल चलाउँदा आएको आवजनै काफि हुन्थ्यो,’ उनले भनिन् । साथिहरुले पनि कति पुरानो साइकल भन्दै विद्यालयमा उनलाई गिज्याउँदा रहेछन् । ‘अब नयाँ साइकल टलल टल्काउदै भोलि विद्यालय पुगेपछि अघि गिज्याउने साथीलाई पहिला देखाउछु । र, भन्छु देख्यौ ? गरिवका पनि दिन आउँछ भन्थे नि । हो, मैले पनि नयाँ साइकल स्थानीय सरकार बाट पाएँ । देख्यौ ?’

घरको सारा काम सकेर भाई बहिनीका लागि खाना पकाएर समयमै स्कूल पुग्न थोत्रा साइकल बाधक हुने शिक्षा संकाय अन्तर्गत कक्षा १२ की छात्रा रेनुका राजबंशीले बताइन् । ‘नयाँ साईकल पाएपछि अब समयमै स्कुल पुग्न मलाई सजिलो हुन्छ,’ उनले भनिन् ।

झापाका केहि पालिकाले छात्रालाई साइकल उपहार दिएको समाचार नौला होइनन् । तर, शिवसताक्षी नगरपालिकाको ५ नम्बर वडा पालिकाले आफ्ना वडाका छात्रालाई साइकल उपहार दिएको समाचार भने नौलो हो । लाभग्राहीले साइकल पाँउदा सौभाग्य ठानेका छन् ।

साइकलले आफ्नो योग्यता र क्षमतामा पनि बिकास गर्ने दीपा राजबंशीले बताइन् । उनले भनिन् कति साथीहरुले विद्यालय जान आउन गरिवीकै कारण साइकल किन्न नसक्दा विचैमा पढाई छोडेका छन् । यस्ता कार्यक्रमले निरन्तरता पाए छात्राहरुले चाहे जति पढ्न सक्थे । उनका अनुसार कलिलै उमेरमा हुने विवाह पनि रोकिन सक्थ्यो ।

पाँच वर्ष अघि वडाका हरेक सडक हिलाम्ये थिए । अहिले सरर साइकल गुड्न सक्ने भएका छन् । सडक बनिएपछि साइकल उपहार दिएको वडा अध्यक्ष राजबंशीले बताए । गरिव र विपन्न परिवारका छात्रालाई लक्षित गरि प्रदान गरिएको साइकल पाउन कोही छुटे आगामी कार्यक्रममा सम्बोधन हुने पनि वडा अध्यक्षले जानकारी दिए । विद्यालयले उपलब्ध गराएको नाम र वडा कार्यपालिकाले गरेको अनुगमन पछि छात्राले साइकल पाएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here