नयाँ वर्ष २०७९ हर्षोल्लासका साथ शुभकामना आदानप्रदान गरी मनाइँदै

0
393

झापा ।

नयाँ वर्ष २०७९ आज बिहीबार बाट शुरु भएको छ । विक्रम संवत् अनुसार आजैदेखि वर्ष २०७८ लाई बिदा गरी वर्ष २०७९ को शुभारम्भ भएको हो । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीमाझ हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।

आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, बैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । आजका दिन योजना बनाउने र कुनै काममा सफलता पाउनका लागि सङ्कल्प गर्ने चलन समेत रहेको छ । आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ । आज धेरैले गएको वर्ष गरेका कामको सफलता–असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्ने गर्दछन्।

आज बिहानै स्नान गर्ने, घर, कोठा–आँगन सफा गर्ने, तथा आफन्त, परिवार र साथीभाइसँग भेटघाट गर्दै मिसठान्न भोजन बनाएर खाने चलन छ । नयाँ वर्षका अवसरमा आज सार्वजनिक बिदा दिइएको छ ।

यो वर्ष मुलुकमा तीन वटा निर्वाचन सम्पन्न गर्नुपर्ने कार्यभार रहेको छ । स्थानीय, प्रदेश र केन्द्रीय प्रतिनिधिसभाको निर्वाचन गरी मुलुकलाई समृद्ध बनाउने दायित्व सरकार र दलहरुको काँधमा रहेको छ । यसका लागि सरकार, निर्वाचन आयोग, राजनीतिक दल, नागरिक समाज, विभिन्न संघसंस्था र आम नागरिकबीचको एकता र समन्वयले महत्वपूर्ण भूमिका खेल्ने छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरु उम्मेद्वार टुङ्गो लगाउने तयारीमा रहेका छन् । नयाँ वर्षसंगै दलहरुमा एकता र सद्भावको वर्ष बनोस् शुभकामना ।

कोरोना कहरका कारण अघिल्ला दुई वर्षहरु घरमै बसेर नयाँ वर्षलाई स्वागत गरिएपनि यस पटक कोरोना कहर कम भएसंगै हर्सोल्लासका साथ नयाँ वर्ष मनाईदैछ । पूर्वाञ्चल दैनिक परिवार समस्त नेपालीमा नयाँ वर्ष २०७९ को शुभकामना ब्यक्त गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here