तितो सत्य…

0
661

पहिला भिडमा देख्दा पनि ठेलमठेल गर्दै नजिकै आई टासिएर बस्ने भुवनको बानी सुध्रिएछ । अहिले त आफै सामाजिक दुरी कायम गर्दोरहेछ । उसको त नजिक आई बस्ने, टासिएर गफ गर्ने बानी थियो । अहिले सामाजिक दुरी कायम गरी आफू एक जिम्मेवार नागरिकको उदाहरण दिन खोज्ने बानी विकसित भएछ । लामो लाइनमा मुखमा मास्क लगाइ धैर्यताका साथ आफ्नो पालो पर्खिने विवेक उसमा आएको छ । हामी साथीभाइ उसको चिया पसलमा जाँदा कुरा गथ्यांै उसमा किन कहिले केही चिन्ता देखिँदैन भनी ।
आज हाम्रो भेट धान पिसाउने मिलमा भयो । सधैँ जस्तो हाँसीखुशी भने ऊ छैन । उसको अनुहार मलिन छ । उसमा मानसिक तनाव प्रस्ट देखिन्छ । मैले चिनेबाट आज ऊ निकै फरक पाए । एक मनले सोच्यो उसको घरमा आमालाई दीर्घरोग छ । दुई जना सन्तानको बुवा भएर पनि अहिले उसलाई जीवन धान्न गाह्रो भएको छ । त्यसैले मलिन अनुहार भएको होला । आर्थिक अवस्था संघर्षपूर्ण छ ।

उसको सानो चिया पसल छ– बिर्तामोडमा । बिहान होस या साँझमा आफू नथाकी मन्द मुस्कानका साथ दैनिक गुजारा गर्दै अएको छ । उसकोमा त्यही मुस्कान र मीठो गफ साटासाट गर्न भनी सयौंको बसाई त्यही हुन्छ चिया पिउन । चियारङ्ग हल्का कडा हाली मरिच, सुकमेलको मिश्रणमा मीठो सुवास पाइन्छ उसको पसलको चियामा । अलि–अलि आम्दानी हुँदै गर्दा यही नजिकै प्लटिङ्गमा सानो जग्गा खरिद गर्ने योजना सुनाउँछ भेट्दा ।

चियाको व्यापारमा मनग्ये फाइदा हुन्छ भनी उसको देखासिको गर्नेहरुले पनि आसपासमा चियाका ठेली ठडाएका छन् । या भनौ ऊ बाट अन्य पनि प्रेरित भएर यो चिया व्यवसायमा लागेका छन् । ऊ आफ्नो जीवनको दुःख सुनाउन कसैसँग हिचकिचाउँदैन । बरु भन्छ– ‘दाजु मेरो संघर्षको कथाले आस गुमाएका व्यक्ति पनि अहिले नाङ्लोमा सुपारी–गुट्खा राखी आम्दानी गर्दै जीवन बाचेका छन् ।’ ऊ भन्ने गर्छ– ‘जीवन सप्तरङ्गी रंगले भरिएको हुन्छ । दुःखमा आत्तिनु हुँदैन सुखमा मात्तिनु हुँदैन ।’
मिलमा साहुजीले मेशिन चलाउँदै चामलको पिठो पिसाउँदैछन् (बेसमारी आवाज आउँदै छ मेशिन चलेको) । म उसको मलिन अनुहार नियाल्दैछु । उसलाई हेरी कतै अर्कै व्यक्ति त होइन भनी शंका पनि काट्न मन लाग्यो र बोलाएँ– ‘भुवन भाइ के छ खबर ?’

ऊ अनकनायो बोल्न म सँग ।
म फेरि दोहोरिए– ‘ए भुवन भाइ तिमी ठिक त छौ नि ?’
भुवन– ‘खै के ठिक भनम् के नभनम् दाइ ।’
मेरो सबै ध्यान ऊ तिर केन्द्रित भै भने– ‘किन के प¥यो के समस्या छ मेरो भाइ ?’
भुवन– ‘दाइ एउटा भए पो भनम् (शिरको पसिना कुईनोले पुच्छ्दै) न घरको न घाटको भैयो ।’

ऊ चलिरहेको मेशिन हेर्दै एकोहोरिएर भन्छ– ‘जसरी यो गतिशील मेशिनको पातामा केही समस्या आयो वा झ्याट्ट चुट्यो भने सबै काम बन्द गर्नुपर्छ पिसाउन त्यसरी नै वर्तमानमा समस्या बनाएको कोरोनाले मेरो पसल व्यवहार र गतिशील जीवन एक्कासी बन्द भएको छ ।’

उ, झन् गम्भीर भएर भन्दैछ– ‘धनीलाई मस्त जीवन छ होला, तर हामी सानालाई अब आम्दानीको न विकल्प छ न अन्य केही सरकारबाट राहत छ । घरमा केटाकेटीको स्कूलको फिस तिर्न पत्र काटेका छन् । आमाको औसधि खरिद गर्न समस्या छ, बाली लगाउने ठाउँ छैन, सागपात किन्न सक्दिनँ । पसल चलुञ्जेल ठिक थियो, तर अब सहन गर्न गाह्रो छ ।’
‘अलि–अलि जम्मा भएको पैसा सकियो । व्यापारको विकल्प छैन । बारीमा फलेको केराको घरी बेचेर आएँ दाइ आज (लकडाउनको ५४औं दिनमा) आमाको औषधी किन्नलाई जरुरी थियो । अब के खाने, कसरी जीवन धान्ने ?’ –उसले थप्यो ।

म पनि गम्भीर भए उसको कुरा सुनेर र मन–मनमा आफैसँग भने मानिसलाई अकस्मात कति असहज हुने राम्रो चलिरहेको गतिशील जीवनमा ।
‘न आत्तिनु भाइ सबै ठिक हुन्छ बिस्तारै अब विकल्प खोज्नुपर्छ के–कसरी हुन्छ’ –मैले भने यत्तिकैमा उसले गाउँमा खोजेर ल्याएको मोटो धान पिसाउन पालो आयो । ‘जीवन गुजारा गर्न असहज भए पनि तिम्रो ओठमा छाउने मुस्कानमा कमी आउन न देऊ भाइ’ –मैले थपे ।

ऊ धानको बोराको मुख खोली माथि मिलको शोलीमा हाल्दै भन्यो– ‘मैले जीवनमा धेरै संघर्ष गरेर यहाँसम्म आएँ । यस्तै धान जस्तै अनेकौं दुःख साहस र योजनाबाट पेलिएर चामल जस्तै पोलिश गरी बल्ल बाहिर बेचिन र बाच्न योग्य भएको थिएँ ।

फेरि त्यही भुँमरीमा पस्न लागे । जीवनमा संघर्ष अझ कति गर्नुपर्ने हो ?’ ऊ भन्दै थियो– ‘एकातिर मासिक पारिवारिक खर्च, कोठा भाडा, पसलको भाडा, नानीहरुको पढाइ र आमाको औषधि खर्च अर्कातिर असहज स्वास्थ्य स्थिती, सरकारी हेल्चेक्राई, त्रासदी कोरोना बिमारी, असहज परिस्थिति र बजार बन्दले सबैतिरको ढोका बन्द भएको भान हुन्छ मलाई ।’ फेरि लामो सास तान्दै छेउमा आई बस्यो– ‘दाइ आखिर यो कहिलेसम्म म त भविष्य पनि देख्दिनँ । अब सहज परिस्थिति भएर पसल खोलौं भने पनि यो डरले छ–सात महिना चिया पसल चल्दैन, मुग्लान जान नि बाटो बन्द हुन्छ, देशमा रोजगारीको समस्या जिवितै छ ।’

कुनै बेला सप्तरङ्गी जीवन व्याख्या गर्ने भुवनलाई म सम्झाउन थालेँ– ‘भाइ असहज स्थितीमा लड्न सक्नेले नै हो जीवनको सप्तरङ्ग बुझ्न सक्ने । यतिमै हरेस खान मिल्दैन । यो पनि एउटा पाठ हो जीवनको । मेरो पनि विभिन्न चुनौति र संघर्ष छ जीवनको । तर, देख्दा अरुको दुःख देखिँदैन । अरु सुखी भई बाचेको मात्र देखिन्छ । तर, उनीहरुको रोदन वा पीडा आफैसँग लुकेको हुन्छ । तिमी पनि यो भुँमरीबाट बाहिर आउन जरुरी छ । के–कसरी हो आगामी दिनमा विकल्प सोचौंला । तर, मनको आगो लाग्यो भने डँडेलो लाग्छ सुन्दर जीवनमा ।’
उसको धान पिसियो भनी मिल साहुले भने । उसले यतिकैमा बोराको मुख पोको पा¥यो र साइकलमा पछाडि हालेर बाध्यो । म तिर हेर्दै भन्यो– ‘एकदिन सुनौलो बिहानी आउने छ दाइ ।

तर, म त्यो दिन नजिक देख्दिनँ । सबै कुरामा हरेस खाइसके अब हेरौं भगवानले के चाहेका छन् । मेरो जीवन जस्तै भए पनि नानीहरुको जीवनमा सात रंगले सजाउनु छ । यो महामारीमा परिवारलाई बचाउनु छ, आमालाई औषधी उपचार गर्नुछ ।’ अनि दाइ मेरो भाग्य यस्तै रहेछ सपना उजाड भयो म घर लागे है’ –भन्दै साइकलमा पेडल मारी अघि बढ्यो । म पनि आफै निराश भई उसको कुरा गम्भीर भई लिएँ । यी भाइ जस्ता भुवनहरु कति गाउँ–गाउँ गल्ली–गल्ली अनेक शहरका कुना–काप्चामा यस्तै बिचल्लिमा पर्या होलान् । राज्य उदासिन छ व्यापार ठप्प छ र सरकार मौन छ । आफ्नो घर फर्किए सातु पिसाएर गहिरी भुवनको सोचमा डुब्दै ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here