फेरि पनि हात्तीजनीत पीडाका कुरा

0
328

केही वर्षदेखि झापामा जंगली हात्तीको त्रासले सीमा क्षेत्रका बासिन्दाको भोकतिर्खा हराएको छ । भारततर्फबाट हुल बाँधेर आउने हात्तीले किसानका बालीनाली नष्ट मात्रै गरेका छैनन् घर भत्काउनेदेखि मान्छेको ज्यानै लिने गरेका छन् । पूर्वी नेपालको सीमावर्ती जिल्लाका बाहुनडाँगी, बुद्धशान्ति, भद्रपुर, कचनकबल, हल्दिबारी, अर्जुनधारा लगायतका क्षेत्रहरुमा प्रायः सधैँ देखिने जंगली हात्तीले अहिलेसम्म धेरैको ज्यान लिइसकेको छ भने अन्नबाली नष्ट गरेर करोडौंको क्षति गरिसकेको छ । भारत तर्फबाट हुल बाँधेर आउने हात्तीहरुले मेची किनारमा लगाइएका विद्युतीय घेराबेरा भत्काएर गाउँ प्रवेश गरेर घर नै भत्काउने गरेका छन् । हुँदा–हुँदा अब ती क्षेत्रहरुमा दिउँसै पसेर अन्नबाली, घर नष्ट गर्न थालेपछि स्थानीयबासीलाई ज्यान जोगाउनै मुस्किल पर्न थालेको छ ।

हात्ती र मानवका बीच द्वन्द्व शुरु भएको तीन दशकभन्दा बढी भइसक्यो । यसबीचमा सीमावर्ती क्षेत्रका पैंतीस जनाभन्दा बढीले हात्तीको आक्रमणमा परी ज्यान गुमाइसकेका छन् । त्यस्तै मानिस र हात्तीका बीचको द्वन्द्वमा नौ वटा हात्ती समेत मारिएका छन् । जंगली हात्तीका कारण उत्पन्न संकटपछि सरकारले द्वन्द्व न्यूनीकरण गर्न विभिन्न अवधारणा ल्यायो । त्यसमध्ये केही वर्ष अघिसम्म विद्युतीय घेराबारा प्रभावकारी नै थियो । आठ वर्षअघि डेढ करोडको लागतमा शुरु गरिएको घेराबाराले स्थानीयबासीलाई राहत पनि दिएको थियो । तर, अहिले सम्बद्ध पक्षको असावधानीका र स्थानीयबासीको लापरवाहीका कारण चुनौति थपिएको छ । समयमा मर्मतसम्भार नहुँदा पनि ती घेराबाराले हात्तीलाई रोक्न सकेको छैन र गाउँले रातभर जाग्राम बस्न बाध्य भएका छन् ।

त्यसो त जंगली जनावरलाई कुनै निश्चित क्षेत्रमा रोकेर राख्न सकिँदैन र रोक्नु पर्यावरणीय दृष्टिले उपयुक्त पनि हुँदैन । वन्यजन्तु क्षेत्रका जानकार तथा विज्ञहरु पनि त्यसो गर्नु मुर्खतापूर्ण हुने बताउँछन् । उनीहरुका विचारमा पर्यावरणको क्षेत्रमा काम गरेर मात्र हात्ती पीडाबाट जोगिन सकिन्छ । पर्यावरणभित्र मानिससँगै अन्य जीवजन्तु र त्यसभित्र हात्ती पनि पर्ने भएकाले समग्र विकासमा वातावरणीय क्षेत्रलाई समेटिनु पर्दछ । हात्ती र मान्छे सँगै अटाउन र बस्न सक्ने वातावरण तयार नगरुञ्जेल वर्षौंंदेखि भोग्दै आएको हात्ती आतंकको अन्त्य हुने छैन । त्यसैले आम मानिसमा सडक वा भौतिक संरचना निर्माण गर्नु नै विकास गर्नु हो भने धारणा हटाउन जरुरी छ । यसका लागि सरकारले किसानको अन्नबालीको बिमा गरेर हुन्छ कि पर्यावरणमैत्री वातावरण तयार गरेर हुन्छ हात्ती पीडालाई न्यूनीकरण गर्ने कार्यक्रम ल्याइनु पर्दछ । यसले मात्र सीमान्तबासीलाई हात्ती पीडाबाट जोगाउन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here