वीपी र पुष्पलालको आदर्शलाई सम्झँदा

0
404

हामीले साउन ६ गते ४०औं स्मृति दिवस र साउन ७ गते ४४औं पुष्पलाल स्मृति दिवस मनायौं । नेपाली राजनीतिका शिखर पुरुषका रूपमा वीपी र पुष्पलाललाई नेपालीले लिने गरेका छन् । वीपी कोइराला नेपालको प्रजातान्त्रिक तथा समाजवादी आन्दोलनका एकजना विशिष्ट धरोहर हुन् । नेपालमा प्रजातान्त्रिक चेतनाको बिजारोपण, त्यसको विस्तार र प्रजातान्त्रिक समाजको आधारशीला निर्माणमा उनले ज्यादै महत्वपूर्ण भूमिका खेलेका छन् । साहित्यमा समेत गहिरो दख्खल राख्ने र नेपाली साहित्य भण्डारमा उत्कृष्ट साहित्यिक सिर्जनाहरू प्रदान गर्ने वीपीको व्यक्तित्व, चिन्तन र क्रियाकलापको गहिरो प्रभाव नेपाली समाज र प्रजातान्त्रिक विश्वमा आजपर्यन्त अनुभूत गर्न सकिन्छ । राणा शासक र पञ्चायती शासकहरूबाट जतिसुकै उत्पीडन र कठोर यातना पाउँदा पनि आफ्नो सिद्धान्तमा सगरमाथा झैं सदैव अडिग र अटल रहने क्रान्तिद्रष्टा, राष्ट्रवादी, राष्ट्रियता र प्रजातन्त्रप्रति सदैव आस्थावान रहेका वीपीले जीवनभर संघर्ष, आन्दोलन र द्वन्द्वबाट गुज्रिनु प¥यो । कोइराला राजनीतिमा समाजवादी र व्यवहारवादी थिए । जीवनभर देश र जनताकै लागि संघर्ष गर्दै अटुट रूपमा सत्ताको विपरीत धारमा उभिइरहने वीपी निर्भिक नेता थिए ।

पुष्पलाल नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव थिए । २००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना गर्दा समुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको मुक्तिको अभिभारा पूरा गर्ने लक्ष्य पुष्पलालले लिएका थिए । पुष्पलाल कै सोच अनुसार वामपन्थी एवम् लोकतान्त्रिक शक्तिहरू बीचको सहकार्यबाट सञ्चालन भएको शान्तिपूर्ण संयुक्त जनआन्दोलनका माध्यमबाट मुलुकमा राजतन्त्रको अन्त्य सम्भव भई गणतन्त्रात्मक शासन व्यवस्था थालनी भएको छ । उनी नेपालको समग्र वाम आन्दोलनको आदर्श बनेका छन् । पुष्पलाल युगान्तकारी परिवर्तनका विचारक, पथप्रदर्शक र भविष्यद्रष्टा थिए । पुष्पलाल देशभक्त क्रान्तिकारी थिए, उनी नेपाली स्वाभिमान र स्वतन्त्रताप्रति अति संवेदनशील थिए । अन्तर्राष्ट्रवादमा विश्वास गर्ने कम्युनिष्ट हुँदाहुँदै पनि उनी हरेक कम्यज्ञुनिष्ट क्रान्तिकारीमा राष्ट्रिय चरित्र हुनुपर्छ भन्ने मान्यता राख्थे । उनले भनेका थिए, ‘प्रत्येक देशका क्रान्तिकारीहरू प्रथमतः राष्ट्रमुखी हुनु पर्दछ । त्यसै भएको खण्डमा मात्र पार्टीले आफ्नो राष्ट्रिय कर्तव्य निभाउन सक्नेछ ।’ भारतको नेपालप्रतिको हेपाहा नीति र नेपालको स्वतन्त्र अस्तित्व नमान्ने प्रवृत्तिको उनी प्रखर आलोचक थिए ।

समाजको विश्लेषण गर्दा र राजनीतिक कार्यक्रम तय गर्दा साम्प्रदायिकताको गन्ध लेसमात्र पनि आउनु हुँदैन भन्ने उनको स्पष्ट विचार थियो । पुष्पलालले आफू नेवारबाट नेपालीमा परिणत भई माक्र्सवादतिर लागेको व्यक्ति भएकाले जातिवादी सोच राख्ने र साम्प्रदायिकता बिथोल्ने कुराप्रति घृणा जागेको लेखेका छन् । वर्गीय राजनीति गर्न नसक्नेले साम्प्रदायिक नारा उराल्छ भन्ने उनको विचार थियो । दुई युग पुरुषलाई श्रद्धाञ्जलि दिनु भनेको नेपाललाई अझ अग्रगामी र प्रगतिशील बनाउन कसम खानु हो । नेपालको लोकतन्त्रलाई अझ समुन्नत लोकतन्त्र बनाउन र आधुनिक युग सापेक्ष नीति तथा कार्यक्रमका बारेमा चिन्तन÷मनन गर्न आवश्यक छ । हार्दिक श्रद्धाञ्जलि दुबै लोकतान्त्रिक तथा वाम आन्दोलनका परिकल्पनाकारलाई ! हृदयतः श्रद्धासुमन लोकतन्त्रका दुबै नायकहरूलाई !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here