कोरोना सङ्क्रमणको प्रतिकार्यमा जुट्यो प्रदेश सरकार

0
324

कर्णाली,

कोभिड–१९ सङ्क्रमण पुनः बढ्न थालेपछि कर्णाली प्रदेश सरकार प्रतिकार्यमा जुटेको छ । कोभिड–१९ रोकथाम, निदान र उपचारसम्बन्धी कामलाई प्रभावकारी बनाउन गठित प्रदेशस्तरीय निर्देशक समितिको आज बसेको बैठकले परीक्षणको दायरा बढाउन, एम्बुलेन्सलाई तयारी अवस्थामा राख्न र खोप अभियान समुदायस्तरसम्म पु¥याउन मातहतका निकायलाई निर्देशन दिएको छ ।

मुख्यमन्त्री जीवनबहादुर शाहीका अध्यक्षतामा बसेको बैठकले कोभिड–१९ को पछिल्लो अवस्था, रोकथामका लागि अपनाइएका प्रयास र चुनौतीका बारेमा समीक्षा ग¥यो । मुख्यमन्त्री शाहीले प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय, स्थानीय तहको संयुक्त प्रयासबाट सङ्क्रमण रोकथाममा सफलता मिल्ने हुँदा आपसी समन्वय र सहकार्यका माध्यमबाट प्रतिकार्यमा जुट्नुपर्ने बताउनुभयो । चाडपर्व नजिकिँदै गरेकाले लापरबाही नगरी सबैले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने÷गराउनेतर्फ ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । बैठकमा प्रदेश सरकारका मन्त्री, सचिव, सुर्खेतका प्रमुख जिल्ला अधिकारी, प्रदेश प्रहरी कार्यालयसहित सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो ।

बैठकले सामाजिक विकास मन्त्रालय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई जनस्वास्थ्यका मापदण्ड पालनामा कडाइका साथै बिरामीलाई उपचारका लागि पायक पर्ने स्वास्थ्य संस्था पठाउने सहज व्यवस्था मिलाउन निर्देशन दिएको छ । त्यस्तै स्थानीय तथा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिलाई सक्रिय बनाउन, सबै तहका अस्पतालमा औषधि, उपकरण र सुरक्षा सामग्री तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।

हाल प्रदेशका विभिन्न प्रयोगशालाबाट सङ्कलन हुँदै आएका नमूना प्रदेश प्रयोगशाला वा आवश्यक परेमा केन्द्रीय जनस्वास्थ्य प्रयोगशालासम्म ढुवानी गर्नका लागि प्रदेशस्तरीय संयन्त्र जरुरी भएकाले यससम्बन्धी मानक सञ्चालन प्रक्रियाको प्रारुप तयार पार्न सामाजिक विकास मन्त्रालयलाई जिम्मेवारी दिएको छ ।

कोभिड–१९ को सङ्क्रमणबाट सुरक्षित रहने एकमात्र उपाय खोप भएको तर हालसम्म खोपको ‘कभरेज’ अपेक्षित नभएको निर्देशक समितिको निष्कर्ष रहेको छ । बैठकले पूर्णखोप नलगाएका, पूर्णखोप नपाएका र थप मात्रा (बुस्टर डोज) नलगाएकालाई तत्काल खोप सेवा दिने व्यवस्था मिलाउने निर्णय गरेको छ । कर्णाली प्रदेशमा हालसम्म १० लाख ७७ हजार पाँच सय ८२ जनाले कोभिडविरूद्धको पहिलो मात्रा तथा १० लाख ४६ हजार सात सय ४९ जनाले दोस्रो मात्राको खोप लगाएका छन् ।

बुस्टर डोज लगाउनेको सङ्ख्या भने कम छ । प्रदेशका चार लाख १३ हजार चार सय ६६ जनाले मात्र बुस्टर डोज लगाएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशक डा रविन खड्काले स्थानीयस्तरसम्म खोप उपलब्ध रहे पनि मानिसहरू सम्पर्कमै आउन नचाहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here