अनुगमन नियमित गर

0
291

चाडपर्वका समय बजार अनुगमन गर्ने परम्परा नै भइसकेको छ । त्यसमा पनि नेपालीको मुख्य चाड दशैंलाई लक्षित गरी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विशेष अनुगमन टोली मार्फत अनुगमनलाई तीव्रता दिएको छ । यसक्रममा झापाका विभिन्न बजारहरुमा पनि यतिबेला दिनहुँजसो अनुगमन भइरहेको छ । स्थानीय तहमा उपभोक्ता हित संरक्षण समिति र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि नेतृत्वको टोलीले अनुगमन गर्दा दोषी पाइएका व्यवसायीहरुलाई सचेत गर्ने, अखाद्य रहेको पाइए जफत गर्नेदेखि दण्डित गर्नेसम्मको कारवाही भइरहेको छ । बुधबार मात्रै झापा अर्जुनधारा नगरपालिकास्थित शनिश्चरे बजारमा नगर उपप्रमुख खड्गमाया पराजुली र सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेको संयुक्त नेतृत्वको अनुगमन टोलीले पन्ध्रवटाभन्दा बढी पसलमा अनुगमन गरेको थियो । त्यसक्रममा कुहिएका माछा, दर्ता नगरी सञ्चालन गरेका, म्याद गुज्रिएका, बिग्रिएका उपभोग्य तथा खाद्यवस्तुहरु बिक्री गर्न राखिएको अवस्थामा पाइएको थियो ।

विभागले खासगरी चाडपर्वका बेला उपभोक्ता ठगिन सक्ने र अखाद्य वस्तुका कारण मानव स्वास्थ्यमा पर्नसक्ने जोखिमप्रति सचेत रहँदै अनुगमन तीब्र बनाउने गरेको छ । त्यसका लागि विभागले खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग र जिल्ला प्रशासन कार्यालयद्वारा तोकिएका बजार अधिकृत मार्फत अनुगमनलाई तीब्र बनाउन निर्देशन नै दिने गरेको छ । त्यसकै आधारमा झापामा भइरहेका अनुगमनका क्रममा घरेलु तथा साना उद्योग, आन्तरिक राजश्व, स्थानीय वाणिज्य संघ, चेम्बर चफ कमर्स, राष्ट्रिय उपभोक्ता मञ्च, प्रहरी तथा सञ्चारकर्मी सम्मिलित टोलीले बजार अनुगमन गरिरहेको छ । कोही उपभोक्ता आर्थिकरुपले नठगिउन्, उपभोक्ता स्वास्थ्यमा प्रतिकूलता नआओस्, गुणस्तरहीन वस्तु उपभोग गर्न बाध्य नबनून् भन्ने उद्देश्यले गरिने अनुगमनबाट व्यवसायीले त्रसित हुनुपर्दैन पनि ।

जब–जब चाडपर्व लाग्छ तब–तब बजार अनुगमनको खबर आउँछ । कुनै चाडपर्वका बेलामा मात्रै गरिने अनुगमनले उपभोक्ता हितको संरक्षण नहुने एकथरीले टिप्पणी गर्ने गरेका छन् । त्यसैले उपभोक्ता अधिकारकर्मी तथा उद्यागी, व्यवसायीले बाह्रै महिना बजार अनुगमन गरिनुपर्ने बताउँदै आएका पनि छन् । तर, स्थानीय स्तरमा बजार अनुगमन गरिनुपर्ने बताउँदै आएका पनि छन् । तर, बजार अनुगमन नियमितरुपमा भइरहेको छैन । अनुगमनको उद्देश्य कारवाही मात्र होइन बजारलाई व्यवस्थित गर्नु पनि हो । अतः अनुगमनका क्रममा पाइएका त्रुटिको तह अनुसारको सजाय र सचेतना प्रवाह गर्ने काम गरिनुपर्दछ । यसो भयो भने न उपभोक्ता ठगिन्छन् न त व्यवसायी नै मारमा पर्छन् । त्यो भन्दा पनि बढी अनुगमनको खाँचो देखिएको छ, तरकारी बजारमा । किटनाशक औषधि, उन्नत मलखादका नाममा अत्यधिक प्रयोग गरिने रासायनिक वस्तुका कारण मानव स्वास्थ्यमा जोखिम बढ्दै गएको छ । त्यसैले परीक्षण, अनुगमन र नियन्त्रणमा उपभोक्ता हित संरक्षण क्षेत्रका सबैको नियमित उपस्थिति अहिलेको आवश्यकता हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here