झापामा अधिकांश उम्मेदवारको जमानत जफत

0
156

झापा ।

गतआइतवार प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भयो । आमनिर्वाचनमा धेरैको चासो पहिलो हुने निर्वाचित प्रणाली अर्थात् प्रत्यक्ष निर्वाचनमा हुने गर्दछ । त्यसको मत पारिणाम समेत सार्वजनिक भयो । अहिले झापाका केही निर्वाचन क्षेत्रमा बाहेक अधिकांश क्षेत्रको समानुपातिक तर्फको मत गणना भइरहेको छ ।

झापामा ‘हेभिवेट’का उम्मेदवारहरुबीच प्रतिष्पर्धा भएका कारण पनि निर्वाचनलाई निक्कै महत्वका साथ हेरिएको थियो । तर, केही ‘हेभिवेट’ उम्मेदवारहरु नै पराजित भएसँगै अहिले सबैको ध्यान समानुपातिकतर्फको मत गणना र अन्य सानादलको उपस्थितिका विषयमा गएको छ । समानुपातिकमा देशैभरमा एउटै निर्वाचन क्षेत्र मानेर मत संकलन हुने भएकोले दल र उम्मेदवारहरूले समानुपातिक निर्वाचन प्रणालीलाई कम प्राथमितामा राख्छन् । तर, राष्ट्रिय मान्यता प्राप्त दल बन्नका लागि समानुपातिकको भूमिका प्रत्यक्ष जस्तै हुन्छ ।

राष्ट्रिय मान्यता प्राप्त दल बन्नका लागि ‘कूल सदर मतको तीन प्रतिशत मत ल्याउनै पर्छ । त्यस्ता दलको निर्वाचन आयोगले सूची तयार गर्ने र सोही आधारमा दलहरूले पाएको मत र सोही मतको आधारमा दलहरूले निर्वाचित हुने उम्मेदवार संख्या तय हुने व्यवस्था छ ।

प्रतिनिधिसभामा कम्तीमा कूल सदर मतको तीन प्रतिशत र प्रदेशसभामा सदर मतको कम्तीमा १.५ प्रतिशत मत ल्याउनेको मात्र समानुपातिकको निर्वाचन प्रणालीतर्फ निर्वाचित हुनको लागि योग्यता पुग्ने गर्दछ । अर्थात् तीन र १.५ प्रतिशतको ‘थ्रेसहोल्ड’ पार नगर्ने दलहरूले क्रमशः प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकबाट संसदमा प्रतिनिधित्व गर्न पाउने छैनन् । थ्रेसहोल्ड पार नगरेमा दलहरूले पाएको मत खेर जानेछ । उनीहरूले पाउने प्रतिनिधिसभा सदस्य संख्या ठूला दलहरू वा थ्रेसहोल्ड पार गर्ने दलहरूमा जानेछ । यसपटक निर्वाचनमा सहभागी भएका दलमध्ये धेरै दलले ‘थ्रेसहोल्ड’ नै पार गर्न सकेनन् ।
झापाबाट प्रतिनिधिसभा सदस्यको निर्बाचनका लागि २४ दल सहभागी बनेका थिए । प्रदेशसभा सदस्यका लागि १९ दलले भाग लिएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए ।
प्रतिनिधिसभा सदस्यका लागि झापाबाट ९८ जनाले प्रतिष्पर्धा गरेका थिए । प्रदेशसभाका लागि ९४ जनाको प्रतिष्पर्धा थियो । प्रतिष्पर्धामा स्वतन्त्र सहितका व्यक्ति र पार्टीले सहभागिता जनाएका थिए । झापामा निर्वाचनमा सहभागी साना दलका उम्मेदवारसहित धेरैजसो स्वतन्त्र उम्मेदवारको जमानत समेत जफत भयो । अर्थात् कूल सदर मतको १० प्रतिशत मत पनि उनीहरुले नपाउँदा उम्मेदवारको जमानत जफत भएको हो ।

झापाा क्षेत्र नम्वर १मा प्रतिनिधिसभाका लािग १५ जनाको उम्मेदवारी रहेको थियो । जसमा राष्ट्रिय मान्यता प्राप्त दल नेपाली कांग्रेस, नेकपा एमालेका उम्मेदवारबीच मुख्य प्रतिष्पर्धा रह्यो । केही महिनाअघि मात्रै दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टी र मंगोल नेशनल अर्गनाइजेशन बाहेकका अन्य उम्मेदवारले ५०० मत समेत प्राप्त गर्न नसक्दा उनीहरुको जमानत जफत भएको हो । यता प्रदेशसभा सदस्यमा पनि अवस्था उस्तै छ ।

झापा १मा प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमनाथ भण्डारीले तेस्रो स्थानमा मत प्राप्त गर्दा सबैभन्दा कम मत स्वतन्त्र उम्मेदवार केन्द्रकुमारी दाहालले १४ मत मात्रै पाएकी थिइन् । कम मत पाउने उनी मात्र होइन नेपाल जनता पार्टीका रामकुमार काफ्लेले २७, जनसमाजवादी पार्टीका उम्मेदवार रमेश बास्तोलाले ४६ मत पाएका छन् भने राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार चित्रहाङ्ग जवेगूले ४८ मत मात्रै पाए । जबकि उनीहरुले प्रतिनिधिसभा सदस्यको जितको दावी गर्दै उम्मेदवारी दिएका थिए । तर, मतदाताले नपत्याउँदा उनीहरुले ५० मत भन्दा तल मत प्राप्त गरेका हुन् ।

प्रतिनिधिसभातर्फ ५० मत नकटाउने झापा क्षेत्र नम्वर २मा दुई जना छन् । नेपाल मजदुर किसान पार्टीका महेन्द्र खायमलीले १४ र स्वतन्त्र उम्मेदवार खेमराज दाहालले २० मत प्राप्त गरे । त्यस्तै जनसमाजवादी पार्टीका उम्मेदवार कृष्णकुमार गौतम अर्का स्वतन्त्र उम्मेदवार चेतकुमार खनालले ८० मात्र मत प्राप्त गरे । अर्थात् उनीहरुले एक सय मत समेत कटाउन सकेनन् ।

यो निर्वाचन क्षेत्रका लागि १८ जनाको प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी परेको थियो । उम्मेदवारी दिएकामध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्रप्रसाद गिरीले चौथो धेरै मत प्राप्त गरेका छन् । उनले ८ हजार ७ सय ८१ मत प्राप्त गरे भने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी उम्मेद्वार रेश्मा चेम्जोङले जमानत समेत जोगाउन सकिनन् । किनकि उनले ७६२ मत मात्रै प्राप्त गरिन् ।

त्यस्तै मंगोल नेशनल अर्गनाइजेशनका अक्कल बहादुर तामाङले ६४८, नेपाली कांग्रेस वीपीका नारायणबहादुर भारतीले ४४६, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका त्रिनारायण राजवंशीले ४२८, राष्ट्रिय जनमुक्तिका पर्शुराम मगरले २२८, स्वतन्त्र उम्मेदवार राजकुमार तामाङ लामाले २८३, नेपाल विवेकशील पार्टीका उम्मेदवारले २५२ र स्वतन्त्र उम्मेदवार कुमार भट्टराईले २४४ मत प्राप्त गरे ।

त्यस्तै जनता समाजवादी पार्टी नेपालका राम सुफल कामतीले १३३ मत प्राप्त गरे भने नेपालका लागि नेपाली पार्टी नेपालका ज्ञानेन्द्र राज कार्कीले १०६ मत प्राप्त गरे । यस हिसावले उनीहरुले समेत जमानत जफत जोगाउन सकेनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here