हात्ती नियन्त्रण गर्न प्रदेश सरकार समक्ष गुहार

0
219

पार्थ मण्डल,
झापा।

झापाको दक्षिणी पालिकाहरूमा बढ्दो जंगली हात्ती आतङ्क रोकथामका लागि स्थानीय जनप्रतिनिधिहरूले प्रदेश सरकारसमक्ष गुहार मागेका छन् ।

जंगली हात्ती नियन्त्रणको माग राख्दै कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्रसिंह राजवंशीको नेतृत्वको टोली शुक्रबार बिराटनगरस्थित प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेको थियो । सो टोलीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई दिनहुँ हात्तीबाट भइरहेको जनधनको क्षतिको बारेमा ध्यानाकर्षण गराउँदै गाउँपालिकाको तर्फबाट १० बुँदे मागसहितको ज्ञापन–पत्र बुझाएको छ । गाउँपालिका अध्यक्ष राजवंशी, उपाध्यक्ष नवराज भट्टराई, पूर्वप्रदेश सांसद बसन्तकुमार बानियाँ लगायतले मुख्यमन्त्री कार्कीलाई सो ज्ञापनपत्र बुझाएका हुन् ।

कचनकवल, बाह्रदशी, भद्रपुर र हल्दिबारी पालिकासँग जोडिएको जैविक विविधता बोकेको चारकोशे जलथल जंगल वरिपरि मानव बस्ती रहेको छ । २२ वटा सामुदायिक वन रहेको सो जंगलभित्र एक दर्जनभन्दा बढी रैथाने जंगली हात्तीले दिनहुँजसो मानव बस्तीमा प्रवेश गरी अन्नबालीसँगै जनधनको क्षति पु¥याउँदै आएको छ । जलथल जंगलमा लगाइएको सौर्य विद्युतीय तारबार लामो समयदेखि मर्मत सम्भार हुन नसक्दा हात्ती नियन्त्रणमा चुनौति थपिएकोमा गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको ज्ञापन–पत्रमा उल्लेख गरिएको छ ।

आहारको खोजीमा हुल बाँधेर निस्किएको हात्ती दिनहुँजसो स्थानीयको घर आँगनमा पुग्ने गरेकोले स्थानीयवासी आतङ्कित बनेका छन् । स्थानीयले आफ्नो ज्यान जोगाउन यस्तो जाडोको बेला पनि रातभर जाग्राम बस्नु परेको पीडा पनि त्यस्तै छ । त्यसैले हात्ती नियन्त्रण, संरक्षण र दीगो व्यवस्थापनका लागि प्रदेश सरकारबाट दीर्घकालीन योजना निर्माण गरी समस्या समाधानका लागि बुँदागत रूपमै मागहरू पेश गरिएको गाउँपालिकाका अध्यक्ष राजवंशीले बताए ।

जलथल चारकोशे जंगलको चौरतिर उच्च बाँधयुक्त सडक निर्माण, हाल जडित विद्युतीय तारबारको दीगो व्यवस्थापन, मर्मत सम्भारका लागि जिम्मेवारी, स्रोत व्यवस्थापन, तालिम प्राप्त जनशक्ति उत्पादनमा जोड, हात्ती प्रभावित क्षेत्रका सुरक्षा निकायमा साइरन जडित सवारीसाधन उपलब्ध गराइनुपर्ने ज्ञापनमा उल्लेख छ । त्यस्तै हात्ती प्रभावित क्षेत्रमा निःशुल्क सडकबत्तीको व्यवस्थापन, जंगली जनावरले गरेको क्षतिको तत्काल मूल्याकंन गरी क्षतिपूर्ति दिलाउने व्यवस्थाको लागि संयन्त्र गठन गर्नुपर्ने माग ज्ञापन–पत्र उल्लेख छ ।

त्यस्तै हात्तीको लागि जंगलभित्रै आवश्यक आहारजन्य वनस्पतिको उचित व्यवस्थापन, जंगलमा रहेका मिचाहा प्रजातिका लहराहरू नियन्त्रणको योजना, लोपोन्मुख वन्यजन्तु एवम् वनस्पतिको संरक्षण–सम्बद्र्धनमा विशेष कार्यक्रम सञ्चालन, वन्यजन्तु पीडित क्षेत्रका लागि अन्य आय–आर्जन कार्यक्रम र प्रकृति, वन्यजन्तु, वनस्पति एवम् मानवको सहअस्तित्व कायम राख्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने माग ज्ञापन–पत्रमा उल्लेख गरिएको अध्यक्ष राजवंशीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here